श्रावण ४, २०८२ आइतबार July 20, 2025

गोल्डकप छाडेर टोलकप खेल्न दुई दर्जन नेपाली राष्ट्रिय फुटबलर अस्ट्रेलियामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कुनै समय राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्नु गौरवको विषय मानिन्थो।

मुलुकको झन्डा बोक्ने खेलाडी सद्‍भावना दूतका रूपमा चिनिन्थे। मान र सम्मान थियो, राष्ट्रका गहना भनिन्थ्यो र वाहावाही हुन्थ्यो। तर पछिल्लो समय राष्ट्रिय खेलाडी  नेपालका चर्चित गोल्डकप छोडेर विदेशमा हुने टोलकपमा पनि सहभागी हुने होडबाजी चलेको छ।

पछिल्लो दुई वर्षमा मात्र करिब दुई दर्जन राष्ट्रिय टोली र उमेर समूहमा मुलुकको प्रतिनिधित्व गरिसकेका खेलाडी अस्ट्रेलिया आइपुगेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा)ले फागुन १९ देखि ए डिभिजन फुटबल लिग आयोजना गर्ने तालिका सार्वजनिक गर्दैगर्दा राष्ट्रिय खेलाडीको डरलाग्दो पलायन देखिएको छ।

अधिकांश राष्ट्रिय फुटबलहरू राष्ट्रको नेतृत्व गर्न छोडेर अस्ट्रेलियामा हुने टोलकपमा सपना बुन्दै पलायन हुन थालेका छन्। राष्ट्रिय टिमका नियमित डिफेण्डर दिनेश राजवंशी र मिडफिल्डर तेज तामाङ यसै साता ए डिभिजन लिग छोडेर अष्ट्रेलिया आएका छन्। एकाध खेलाडी भने विद्यार्थी भिसा र डिपेन्डेन्ड भिसामा अस्ट्रेलिया आएका छन्।

अर्का  खेलाडी गौतम श्रेष्ठ पनि बिहिबार अष्ट्रेलिया आइपुगे। गोलकिपर नितिन थापा र स्ट्राइकर रञ्जन विष्टले पनि आगानी गन्तब्य अस्ट्रेलियानै रोजेका छन्। यी सबै खेलाडी नेपालका चर्चित क्लबहरूमा आवद्ध थिए। खेलकुद संरचना बलियो नहुनु र खेलेर नै जीविकोपार्जन गर्न नसकिने अवस्थाका कारण प्रतिभाशाली तथा उदीयमान खेलाडी सुन्दर भविष्य खोज्दै अस्ट्रेलिया भासिने क्रम जारी छ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको प्रतिनिधित्व गरेका यू–२३ टिमका २० मध्ये ८ जना खेलाडी अष्ट्रेलियामा छन्। सागमा स्वर्ण विजेता टिमका दिनेश राजवंशी, सुमन अर्याल, मिक्छेन तामाङ, हेमन्त थापामगर, नितिन थापा, तेज तामाङ र अभिषेक रिजाल यसअघिनै यहाँका सप्ताहन्त फुटबल खेल्न अस्ट्रेलिया आएका हुन्।

यति मात्र होइन यतिबेला राष्ट्रिय टोलीका प्रमुख ११ खेलाडी नै अस्ट्रेलियाको सप्ताहन्त फुटबलका लागि यता आएका छन् भन्दा फरक हुन्न। अष्ट्रेलिया आइपुग्ने अधिकांश खेलाडीलाई यहाँका सप्ताहन्त फुटबल खेल्ने नेपाली क्लबले बोलाएका हुन्। खेलाडीहरू यहाँ आउँदै गर्दा सबक्लास ४०० भिसा अन्तर्गत आउँछन्।

उनीहरूलाई सिमित घेरामा मात्र आफ्नो क्षमता प्रर्दशन गर्ने अघिकार रहन्छ। यस्तो अवस्थामा पनि किन नेपाली राष्ट्रिय टोलीका खेलाडीहरू धमाधम अस्ट्रेलिया आइरहेका छन् यो नौलो विषय बनेको छ। नेपालमा नियमित फुटबल प्रतियोगिता नहुँदा राष्ट्रिय फुटबल खेलाडीले समेत आफ्नो भविश्य सुरक्षित पार्न विभिन्न बहानामा बिदेसिएको अस्ट्रेलियन नेप्लीज फुटबल संघका पूर्व अध्यक्ष डा राजु मानन्धरले बताए।

‘यता आएर स्तरीय फुटबल खेल्नु नराम्रो त होइन तर राष्ट्रिय खेलाडी यता आएर सप्ताहन्त फुटबलमा दिन बिताउनु भने राम्रो होइन। यसले नेपाली फुटबललाई नराम्रो असर पर्न जान्छ’, एन्फाका कोषाध्यक्षसमेत रहिसकेका मानन्धरले भने।

हिजो एक नेपाली क्रिकेटरले यहाँको बिसबास लिग खेल्दैगर्दा नेपालीको पहिचानसमेत उजेलिएको तर्क गर्दै मानन्धरले जथाभावी नेपाली राष्ट्रिय खेलाडी अष्ट्रेलिया भित्रिएकोमा चिन्ता व्यक्त गरे। ‘व्यवसायिक फुटबल खेल्न आएको भए हाम्रो शान र मान बढ्थ्यो। तर पछिल्ला दिनहरुमा जसरी ह्वात्तै नेपाली राष्ट्रिय खेलाडीहरू अस्ट्रेलिया आएका छन् यो नेपाली फुटबलको लागि राम्रो संकेत भने पक्कै होइन’, उनले भने।

नेपाली फुटबलरलाई यहाँको स्थानीय नेपाली क्लबले आफ्नो निम्तामा अस्ट्रेलिया बोलाएको हुन्छन् र केहि महिनापछि उनीहरू विद्यार्थी भिसामा स्थानान्तरण हुन्छन्। अस्ट्रेलियाको अध्यागमन नीति अनुसार यसरी आउनेहरुले भिसा परिवर्तन गरी विद्यार्थी भिसा लिन पाउने भएकाले खेलाडीहरुको आकर्षण बढी देखिएको छ।

‘हामीलाई यहाँकै एक क्लबले एक महिनाको लागि खेल्न बोलाएको हो। नेपालमा यतिबेला फुटबल पनि भएको छैन त्यहीँ भएर हामी आयौं’, भर्खरै अष्ट्रेलिया आएका एक नेपाली राष्ट्रिय खेलाडीले सेतोपाटीसँग भने,‘नेपालमा नियमित लिग र अन्य प्रतियोगिताहरू हुने हो भने हामी यता आउने कुरै हुँदैनथ्यो।’

यसअघि नेपालबाट आएका राष्ट्रिय फुटबलरहरू जगजित श्रेष्ठ, शुलभ मास्के लगायतले यहाँको घरेलु लिगमा पनि प्रयास गरेका थिए। तर उनीहरू स्टेट लेभलभन्दा माथि पुग्न सकेनन्।

मास्केले त लामो समय डार्बिनमा व्यवसायीक फुटबल खेले र उतै घरजम गरे। हाल एडिलेडमा रहेका जगजित भने नेपाल र अस्ट्रेलिया गरिरहन्छन्।

स्थानीय सिड्नीको क्लब ग्रानभिल राइनोजका अध्यक्ष भीम बस्नेत नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघको कार्यअसक्षमताका कारण खेलाडी विदेशिनु परेको बताउँछन्।

यता सप्ताहन्त लिगमा समेत राष्ट्रिय टोलीका खेलाडी छपक्कै देखिन थालेपछि क्लब टिकाउन निकै मुश्किल भएको बस्नेतले बताए।

‘यहाँ पनि अनावश्यक प्रतिस्पर्धा चलेको छ। त्यसैका कारण राष्टिय खेलाडीहरू धमाधम भित्रिरहेका छन्’, उनले भने, ‘अस्ट्रेलियन नेप्लीज फुटबल संघ छ त्यसले यस्ता विषयमा सरोकार राख्नु जरूरी छ किनकि, यो नेपाली फुटबलसँग जोडिएको विषय हो।’

नेपाली जनसम्पर्क समितिका उपाध्यक्ष तथा खेलकुदप्रेमी इथान शाक्य राष्ट्र, राष्ट्रियता झल्काउने गरी एउटा राष्ट्रिय खेलाडी अस्ट्रेलिया आउनु गौरवको विषय भए पनि पछिल्लो घटना शुभ संकेत नभएको जिकिर गर्छन्।

वर्षौंको लगानीबाट तयार भएको एउटा पुस्ता बाहिरिँदा अन्तर्राष्ट्रिय टिम निर्माणमा संकट आउने देखिन्छ।

‘फुटबलका नाममा टोलकप खेल्ने, विद्यार्थी बन्ने र फार्मतिर कमाइ गर्ने, प्रोटेक्सन भिसा हाल्ने हो भने त्यो मुलुकको बेइज्जत हो यो रोकिनुपर्छ’, पछिल्ला घटनाक्रमलाई नजिकबाट नियालिरहेका इथानले भने, ‘यता आएका राष्ट्रिय फुटबलरको उपस्थिति हेर्दा व्यवसायीक होइन, विदेश अनि धनको मोह देखिएको छ। यो नेपाली फुटबल जगतको लागि शुभ संकेत होइन।’

अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज नेम्वाङ खेलाडीहरू उज्वल भबिष्यका लागि व्यवसायीक फुटबल खेल्न भनेर बिदेसिदै गर्दा आफूहरूले रोक्ने कुनै उपाय नभएको बताउँछन्।

‘कतिपय क्लबमा आवद्ध खेलाडीसमेत लिगको मुखमा छाडेर गएको सुनेको छु। हामीलाई त्यहाँ कुन फुटबल र कस्तो फुटबल खेल्न जादैछन् भन्ने थाहा हुँदैन’, उनले भने, ‘प्रगती र उन्नती गरेका छन् भने त्यो राम्रै कुरा हो। तर स्थानीय नेपाली सप्ताहन्त फुटबल खेल्न गएका हुन् भने त्यो उनीहरूको लागि सुहाउँदो होइन।’

उनले खेलाडीलाई अब पलायन हुनबाट रोक्ने जिकिर गरे।

‘हामी नेपालमै खेल्ने वातावरण बनाउँदैछौ, हिजो के भयो होइन अब राम्रो हुन्छ भन्ने सोचेर प्रतिभाशाली खेलाडीहरू मुलुक फर्कनुपर्छ’, पंकजले सेतोपाटीसँग भने।

अस्ट्रेलिया पलायन भएका नेपाली राष्ट्रिय खेलाडीहरू
हेमन गुरुङ, एनल न्यौपाने, सुमन लामा, आशिष लामा, दर्शन गुरुङ, बिमल राना, सन्तोष तामाङ, शिव गुरूङ, राजन गुरुङ, नवीन गुरुङ, आकाश बुढामगर, रूमेश बर्तौला, अभिशेक रिजाल, हेमन्त थापामगर, रेजिन सुब्बा, सुमन अर्याल, गौतम श्रेष्ठ, तेज तामाङ, दिनेश राजवंशी, राजेन्द्र रावल, विश्व अधिकारी,  नितिन थापा, अजित, राई, रोहित कार्की, सूर्य अधिकारी, रुपक लामा, त्रिदेव गुरुङ, मिक्छेन तामाङ, रवि थिङ, रन्जन विष्ट आदि।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार