वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

फिलिपिन्समा पानीजहाजमा आगलागी हुँदा ३१ जनाको मृत्यु

२३ जना घाइते सात जना वेपत्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः दक्षिणी फिलिपिन्समा पानीजहाजमा आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ । उद्धारकर्मीहरूका अनुसार घटनामा २३ जना घाइते भएका छन् भने सात जना अझै हराइरहेका छन् ।

गएराति जहाजमा आगो लागेपछि चालक दलका ३५ जना सदस्य र एक सय ९० जना यात्रीलाई तटरक्षक र माझीहरूको सहयोगमा सकुशल उद्धार गरिएको सरकारी अधिकारीहरूले आज जनाएका छन् । पानीजहाजमा दुई सय ५० भन्दा बढी यात्री रहेका बताइएको छ ।

लेडी मेरी जोय–३ नामको पानीजहाज मिन्डानाओ टापुको जाम्बोआङ्गा शहरबाट सुलु प्रान्तको जोलो टापुतर्फ गइरहेका बेला आगो लागेको थियो ।

तश्वीरः एजेन्सी

सात हजारभन्दा बढी टापुको द्वीपसमूह फिलिपिन्समा अव्यवस्थित समुद्री यातायात, नियमित अनुगमनको अभाव र भीडभाडका कारण बेलाबेलामा यस्ता दुर्घटना हुनेगरेका छन् ।

सन् १९८७ को डिसेम्बरमा डोना पाज नामको पानीजहाज इन्धन बोकेको अर्को जहाजसँग ठोक्किएर डुब्दा चार हजार तीन सयभन्दा बढीको मृत्यु भएको थियो । शान्तिकालमा समुद्री भवितव्यमा परेर विश्वमा त्यति धेरै मानिसको एकैपटक ज्यान गएको इतिहास छैन । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया