काठमाडौंः काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले लक्षित वर्गलाई उपलब्ध गराएको सेवाको सूचना प्रत्येक महिनाको १० गतेभित्र टाँस्न अस्पतालहरूलाई निर्देशन दिएका छन्।
आइतवार उनले सामाजिक सञ्जालमा स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ ले विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शैय्याको दस प्रतिशत छुट्याइ निःशुल्क उपचार गर्नुपर्ने व्यवस्था गरेपनि त्यो नपाइएकाेले अबदेखि प्रत्येक महिना महानगरलाई त्यस्ता विरामीकाे उपचार गरेको विवरण पेस गर्न निर्देशन दिएका हुन् ।
उनले उक्त कार्य नगरेको पाइएमा काठमाडौँ महानगर पालिकाबाट नियमानुसार कारबाही हुने चेतावनी समेत दिएका छन्।
मेयर शाहले अस्पतालहरूले प्रचलित कानुन–मापदण्ड अनुसार लक्षित वर्गहरूलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन, सेवाग्राहीमैत्री सेवा प्रवाह गर्न, स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूको प्रचलित कानुनले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन पनि निर्देशन दिए ।
स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन गर्ने, अस्पतालभित्र रहेका क्यान्टिनमा खाद्य गुणस्तर कायम गर्ने, अनावश्यक प्रयोगशाला परीक्षणको लागि सिफारिस नगर्ने जस्ता कार्यहरू सुधार गरी स्वास्थ्य सेवालाई सबै वर्ग, समूहको पहुँचयोग्य बनाउन उनको निर्देशन छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया