वैशाख १३, २०८१ बिहिबार April 25, 2024

शरणार्थी प्रकरणमा नाम जोडिएकाहरूमाथि अनुसन्धान जारी छः गृहमन्त्री

नेपाली  नागरिकलाई अनागरिक बनाएर बेच्ने कार्य राज्यका लागी सह्यको विषय नभएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम आएकाहरूको विषयमा अनुसन्धान भइरहेको बताएका छन् ।

बिहीबार नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले नक्कली भुटानी शरणार्थी प्रकरणबारे निष्पक्ष छानबिनको माग गर्दै बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले सरकारले आवश्यक अनुसन्धान गरिरहेको बताएका हुन् ।

मन्त्री श्रेष्ठले कोही व्यक्तिले दिएको बयानकै आधारमा मात्रै पक्राउ गर्न नमिल्ने भन्दै थप अनुसन्धान भइरहेको बताएका हुन्। श्रेष्ठले देशमा रहेको भ्रष्टाचारीहरूको जालो तिरेर देशलाई सम्वृद्धीको बाटोमा डोर्‍याउनु आजको आवश्यकता रहेको बताएका छन् ।

श्रेष्ठले भने, ‘जनतालाई हामीले जीवन फेरिएको अनुभूति दिलाउन सकेका छैनौँ। त्यसको निम्ति हामीले केही गर्नुपर्छ। हाम्रो देशमा भ्रष्टाचारको जालो धरै व्याप्त छ। कमिसनले पनि देशलाई जर्जर बनाएको छ। यो कमिसनको जालो र भ्रष्टाचारको जालोलाई नतोड्दासम्म समृद्धिको यात्रा पूरा हुन सक्दैन। अहिले हाम्रो मिसन, सुशासन, अर्थात् भ्रष्टाचारको प्रभावकारी नियन्त्रण गर्नुपर्नेछ। तब मात्रै समृद्धि हासिल हुनेछ।

आफ्नै देशको नागरिकलाई अनागरिक बनाइ, अर्काको देशको शरणार्थी बनाइ विदेश पठाइ सम्पत्ति कमाउने काम सह्य हुँदैन। यस्तो प्रकारको काम भयो भन्ने कुरा अनुसन्धानमा देखिएकाले अनुसन्धानको प्रक्रियालाई अघि बढाएर अदालतमा पेस गरेका छौँ।

अन्तिम फैसला अदालतले गर्छ, त्यो फैसला हामीले पर्खनु नै छ। अनुसन्धानको आधारमा हामीले अघि बढाएका छौँ। मैले नेपाल प्रहरीलाई निष्पक्ष रूपमा काम गर्न भनिसकेको छु। राजनीतिक प्रभाव र अवाञ्छित दबाबबाट मुक्त भएर स्वतन्त्र रूपमा छानबिन गर्न भनेको छु। एउटाले बयान दिएकै आधारमा मुद्दा चलाउन मिल्दैन की भनेर अरू प्रमाणहरू पनि खोज्ने प्रयासमा प्रहरी छ। एउटा कसैले भनिदियो भन्दैमा पक्राउ गर्न मिल्दैन ।’

उनले नेपाली  नागरिकलाई अनागरिक बनाएर बेच्ने कार्य राज्यका लागी सह्यको विषय नभएको बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया