बैसाख ७, २०८३ सोमबार April 20, 2026

धौलीगङ्गाकाे बाँध खोलिँदै : महाकाली नदी आसपासमा सतर्कता अपनाउन आग्रह

दार्चुलादेखि बैतडी, डडेलधुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्नसक्ने भन्दै प्रशासनको सतर्कता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतको उत्तराखण्डमा रहेकाे तपोवन धार्चुलाको धौलीगङ्गा जलविद्युत् परियोजनाकाे बाँध खोलिने भएको छ । बाँध खाेलेसँगै महाकाली  नदीको जलस्तर बढ्ने भएकाले जिल्ला प्रशासन कार्यालय बैतडीले  सतर्कता अपनाउन आग्रह गरेको छ । एक सूचना जारी गर्दै प्रशासन कार्यालयले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिने भएकाले सतर्क रहन आग्रह गरेको हो ।

वर्षातका कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रतिदिन वृद्धि हुँदै गएकाले बाँधको ढोका खोल्न लागेकाे धौलीगङ्गा पावर स्टेशन धार्चुलाबाट जानकारी प्राप्त भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘वर्षातका कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रतिदिन वृद्धि हुँदै गएकाले जुनसुकै बेला पनि बाँधकाे ढोका खोलिने जानकारी आएको छ । त्यसैले महाकाली नदी आसपासका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेका छौँ ।’ लगातारको वर्षा र बाँध खोलिएपश्चात् महाकाली नदीमा जलस्तर बढ्ने सम्भावना बढी भएकाले नदी आसपासका नागरिकलाई सचेत रहन र नदी वारपार नगर्न आग्रह गरिएको उहाँले बताउनुभयो ।

दार्चुलादेखि बैतडी, डडेलधुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्नसक्ने भएकाले नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न स्थानीय प्रशासनले पनि अनुरोध गरेको छ ।

धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध वर्षातका बेला हरेक वर्ष खोलिने गर्दछ । परियोजनाको बाँध खोल्नुपूर्व सतर्कताका लागि जानकारी गराउने गरिएको छ ।  विसं २०७० साल असार २ र ३ गते एक्कासी धौलीगङ्गाको बाँध खोलेपछि दार्चुला सदरमुकाममा एक सयभन्दा बढी घर बगाउनुका साथै अर्बौँ रुपैयाँको क्षति भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया