काठमाण्डौंः मधेस प्रदेशका प्रदेश प्रमुख हरिशङ्कर मिश्रले मुलुकमा सुशासनको सुनिश्चितताका लागि विधि र कानुन अपरिहार्य रहेको बताउनुभएको छ ।
मधेस प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालय जनकपुरधामले आज महोत्तरीको बर्दिबासमा आयोजना गरेको ‘बार एशोसिएसनसँग मधेस प्रदेश सरकारले बनाएका कानुनसम्बन्धी अन्तक्र्रिया’को उद्घाटन गर्दै प्रमुख मिश्रले कानुनी राज्यले नै सभ्य समाजको दिशाबोध दिने उल्लेख गर्नुभयो ।
“निश्चित विधि, कानुन र त्यसको कार्यान्वयनको सुनिश्चितताबिना कुनै पनि समाज सुरक्षित र मर्यादित हुन सक्दैन”, उहाँले भन्नुभयो, “लोकतान्त्रिक पद्धतिका लागि यो अपरिहार्य छ ।” विधिको शासनले नै सभ्य समाज बन्ने पक्ष सबैले हृदयाङ्म गर्न आवश्यक रहेको मिश्रको भनाइ छ ।
कार्यक्रममा मधेस प्रदेश सरकार बनेयता हालसम्म ५५ ऐन जारी भएको जानकारी दिइएको छ । कानुनी व्यवस्था र यसको कार्यान्वयनको पाटोबारे निरन्तर अध्ययन, छलफल र समीक्षा आवश्यक रहेको प्रदेश प्रमुख मिश्रले औँल्याउनुभयो ।
कार्यक्रममा प्रदेशका मुख्य न्यायाधिवक्ता वीरेन्द्रकुमार ठाकुरले राज्यका सबै अङ्गले आफ्नो कर्तव्य र दायित्व निर्वाह गरे जनताले सुशासनको अनुभूति गर्नसक्ने उल्लेख गर्नुभयो । त्यसैगरी मधेस प्रदेश सरकारका निमित्त मुख्य सचिव किशोरकुमार चौधरीले कानुन निर्माणको कुरा अभ्याससँग मेल खानुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेशभित्रका उच्च सरकारी वकिल कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता, सहन्यायाधिवक्ता एवं प्रदेश र यसभित्रका सबै जिल्लाका बार एशोसिएसनका पदाधिकारी तथा सुरक्षा अधिकारीको सहभागिता छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया