कार्तिक २९, २०८३ आइतबार November 15, 2026

पूर्वराष्ट्रपति भण्डारी ‘बगान’ हेर्न हलमा, राजनीतिकदेखि कलाकारसम्मले गरे ’बगान’को प्रशंसा

चलचित्र नेपाल रिलिजपछि अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा फिल्म प्रदर्शन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः गत शुक्रवारदेखि देशभर प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘बगान’ हेर्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी हलमा पुगेकी छन् । सुन्धारास्थित सिभिल मलमा रहेको क्युएफएक्स सिनेमा हलमा मंगलबार राति पूर्वराष्ट्रपति भण्डारीसहित राजनीतिक दलका नेताहरु, वरिष्ठ कलाकार, साहित्यकार, विश्लेषकलगायतले बगान हेरेका हुन् ।

अभिनयमा सदावहार लोकप्रिय सरोज खनालको निर्देशनमा एकल आमा र उनले हुर्काएकी छोरीको कथामा बनेको यो चलचित्र हेरेपश्चात पूर्वराष्ट्रपति भण्डारीले चलचित्रको कथावस्तु राम्रो रहेको र समाजमा नयाँ सन्देश दिने प्रतिक्रिया दिइन् ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले जुन विषयवस्तुलाई प्रोत्साहित गर्नुपर्छ सोही विषय ‘बगान’ले उठाएको बताए । पुरुष महिला दुवैले मुखले अधिकारको कुरा गरे पनि भित्रि मनले आफुसँग सम्बन्धित् एकल महिलाले विवाह नगरेहुन्थ्यो भन्ने सोच समाजमा अहिले पनि विद्यमान रहेको भन्दै उनले सोही विषयलाई सशक्त रूपमा चलचित्रमा प्रस्तुत गरिएको बताए ।

पूर्वमन्त्री हिसिला यमीले अभिनेत्री करिश्मा मानन्धर आफैँ पनि तमाम् महिलाहरूको लागि प्रेरणा रहेको बताउँदै उस्तै प्रकृतिको चलचित्र हेर्न पाएको बताइन् ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले बगान आमाछोरी नै आएर हेर्नुपर्ने बताए । ‘नारीमाथि भइरहेको अन्यायको विषय उठेको छ । समाजको लागि राम्रो सन्देश दिएको छ । जे जति देखाईएको छ, सबैको मनले स्वीकारेको छ,’ श्रेष्ठले भने, ‘महिलाहरूले सतिप्रथा जस्तो सुन्दै डरलाग्ने अन्याय पनि भोगेका थिए । अहिले पनि श्रीमान बितेपछि समाजमा जिउँदै जलेर बस्नुपर्ने बाध्यता छँदैछ । यो कथा उठाएकोमा सरोज खनाललाई धन्यवाद छ ।’

वरिष्ठ कलाकार हरिवंश आचार्यल बगानको विषय नै मुटु छुने रहेको बताए । ‘जो मानिसले एक्लो जीवन बिताउनुपर्छ उसले मुटुमा भएको कुरा छैन है भनेर बाहिर राखेर हिँड्नुपर्छ । यो विषय नै त्यस्तै छ,’ आचार्यले भने । उनले निर्देशनमा हात हालेका खनालले राम्रो काम गरेको बताउँदै नवअभिनेत्री प्रमिला कार्की र अभिनेत्री मानन्धरको तारिफ गरे । वरिष्ठ कलाकार किरण केसीले चलचित्रमा धेरैपटक रुवाएको भन्दै अभिनेत्री कार्कीको प्रशंसा गरे । प्रमिलालाई साथमा राख्दै उनले भने, ‘तपाईंलाई भगवानले अभिनय गर्न नै भनेर पठाएको हुन् । भविष्य उज्जव छ ।’ यो चलचित्र सबै नेपालीले हेर्नैपर्ने उनको भनाइ छ ।

निर्देशक तुलसी घिमिरेले बगानको विषय एकदम सुनौलो र समाजको लागि बलियो सन्देश रहेको बताए । यो चलचित्रले मानिसको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने उनले बताए ।

संविधानविद् डा भिमार्जुन आचार्यले नेपाली समाजमा संवेदना हराउँदै गएको अवस्थामा समाजको संवेदनशील विषय उठान भएको बताए । नेपाल प्रहरीका पूर्व डिआईजी रमेश खरेलले आम नेपालीले यो चलचित्र हेर्न अनुरोध गरे ।

विशिष्ट व्यक्तिहरूबाट प्रशंसा पाएकी अभिनेत्री प्रमिला कार्कीले नयाँ आएको कलाकारको लागि उत्कृष्ट रहेको प्रतिक्रियाहरू आउँदा केही भन्नै नसक्ने अवस्था आएको बताइन् ।

‘मैले सधैँ कोही पनि व्यक्ति पुरुष वा महिला भएरभन्दा पनि मान्छे भएर बाँच्न पाउनुपर्छ भन्ने आवाज उठाउने गरेको छु । यो चलचित्रमा मेरो पात्र पनि त्यस्तै मैले आगामी दिनमा पनि मैले निभाएका भूमिकाले समाज परिवर्तनको बाटो देखाउने हुनुपर्छ र त्यस्तै चाहन्छु,’ उनले भनिन् ।

अभिनयका पारङ्गत अभिनेता सरोज खनालले प्रथम पटक निर्देशन गरेको चलचित्र ‘बगान’मा करिश्मा मानन्धर, आकाश श्रेष्ठ, प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुसाल र मिथिला शर्मा लगायतको अभिनय रहेको छ । निर्देशक खनालको पनि यसमा प्रमुख भूमिका छ । अभिनेत्री कार्कीले यहि चलचित्रबाट अभिनयमा डेब्यु गरेकी हुन् ।

स्वप्निल नीरवको कथामा आधारित रहि बनेको यो चलचित्र नेपाली वेबसाइट डटकमको प्रस्तुतिमा बनेको हो । ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ । हरि लम्साल र सुवास भुषालको संगीत रहेको चलचित्रका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ ।

यो चलचित्र नेपाल रिलिजपछि अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा फिल्म प्रदर्शन हुनेछ । ‘बगान’को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बहराइनमा इरानको ड्रोन आक्रमण, अमेरिकी सैन्य अखडानजिक विस्फोट र साइरन
२०८३ कार्तिक २९, आइतबार
इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव
२०८३ कार्तिक २९, आइतबार
सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल
२०८३ कार्तिक २९, आइतबार
क्यान्सर अस्पतालको स्तरोन्नतिमा चिनियाँ सहयोग आवश्यक: राष्ट्रियसभा अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
खुलामञ्चको क्षति सुधार्दै कांग्रेस, दुबो रोपेर संरक्षणको जिम्मेवारी लिने प्रतिबद्धता
२०८३ कार्तिक २९, आइतबार
एनपीएल : कर्णाली याक्सद्वारा चितवन राइनोजलाई १५४ रनको लक्ष्य
२०८३ कार्तिक २९, आइतबार
जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड
२०८३ कार्तिक २९, आइतबार