काठमाडौंः भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले आम नागरिकले प्रयोग गर्ने सार्वजनिक यातायातका साधन सफा र व्यवस्थित हुनुपर्ने बताउनुभएको छ ।
यातायात व्यवस्था विभागमा मन्त्रालय र सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले आयोजना गरेको सार्वजनिक यातायातका कर्मचारीलाई पोशाक तथा परिचयपत्र वितरण र सरसफाइ अभियानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले सरसफाइका साथै सार्वजनिक सवारीसाधनमा काम गर्ने चालक तथा सहचालकको बोली र व्यवहारमा पनि परिवर्तन हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “सार्वजनिक सवारी साधन आम नागरिकका साधन हुन्, आम नागरिकले प्रयोग गर्ने सवारीसाधन सफा र सुग्घर हुनुपर्छ । त्यसैगरी ती सवारीमा सेवा दिने कर्मचारीको बोली र व्यवहारमा पनि परिवर्तन आउनुपर्छ ।”
मन्त्री ज्वालाले सार्वजनिक सवारीसाधनमा काम गर्ने चालक, सहचालक तथा कर्मचारीहरू अनुशासित हुनुपर्ने र उनीहरूको पहिचान खुल्ने गरी अनिवार्यरुपमा पोशाक तथा परिचयपत्र लगाउनुपर्ने सुझाव पनि दिनुभयो ।
“आम नागरिकसँग घुलमिल हुने व्यक्ति जहिले पनि अनुशासित हुनुपर्छ”, उहाँले भन्नुभयो, “कार्यालयभित्र काम गर्नेभन्दा पनि दिनहुँ सयौँ हजारौँ सर्वसाधारणसँग सम्पर्कमा रहने मान्छे सबैभन्दा बढी अनुशासित हुनुपर्छ ।”
यसैगरी मन्त्री ज्वालाले सरसफाइ आम मानिसका लागि अति आवश्यक भएकाले सबैले सरसफाइमा ध्यान दिनुपर्ने बताउनुभयो । आजदेखि मन्त्रालय र सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले आयोजना गरेको सरसफाइ कार्यक्रमलाई सधैँका लागि निरन्तरता दिनुपर्ने मन्त्री ज्वालाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “आजदेखि हामी र सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपाल मिलेर सरसफाइका क्षेत्रमा राम्रो कामको शुभारम्भ गरेका छौँ, देख्दा सानो तर यो अति महत्वपूर्ण काम हो, यसलाई निरन्तरता दिऊँ, समय समयमा अनुगमन गरौँ ।”
उहाँले लामो दूरीका बसमा यातायात व्यवस्था विभाग र सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपाल मिलेर ‘अनलाइन टिकटिङ’ को सुरुआत गर्नेतर्फ सोच्नसमेत आग्रह गर्नुभयो । सवारी चालक परिचयपत्र (स्मार्ट कार्ड) का विषयमा धेरै गुनासा आइरहेकाले स्मार्ट कार्ड नआएसम्म अस्थायी सवारी चालक परिचयपत्र वितरण गर्ने तयारी थालेकोसमेत मन्त्री ज्वालाले जानकारी दिनुभयो ।
इम्बोस्ड नम्बरको जडान सरकारको एउटा महत्वपूर्ण आयोजना भएकाले यसलाई अनिवार्य गर्नेतर्फ सबैले सहयोग गर्नुपर्ने मन्त्री ज्वालाको भनाइ थियो ।
उहाँले सरसफाइका क्षेत्रमा पछिल्लो समय सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सरसफाइ तथा जनस्वास्थ्य विज्ञ खेम शर्माले उल्लेख्य भूमिका निर्वाह गरी सबै क्षेत्रमा सरसफाइलाई विशेष महत्त्व दिएर काम गर्दै आएकामा धन्यवाद व्यक्त गर्नुभयो ।
मन्त्रालयका सचिव केशवकुमार शर्माले धेरैजसो नागरिकले सार्वजनिक सवारीसाधन नै प्रयोग गर्ने भएकाले यसका व्यवसायी तथा कर्मचारीले सार्वजनिक सवारी चढौँ चढौँ लाग्ने बनाउनुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सरसफाइ तथा जनस्वास्थ्य विज्ञ खेम शर्माले मुलुकमा पर्यटकीय क्षेत्रको विकास गर्न र पर्यटकलाई आकर्षित गर्न सार्वजनिक सवारीसाधन सफा हुनुपर्ने धारणा राख्नुभयो ।
सवारीसाधन समयमै चल्ने मात्र नभएर सफा र सुविधा सम्पन्न बनाएर राख्नुपर्ने उहाँको सुझाव थियो । मानिसले आफ्ना निजी सवारीसाधन घरमै थन्काएर सार्वजनिक सवारीसाधन चढ्ने खालको बनाउन यस क्षेत्रका सबै सरोकारवाला लाग्नुपर्ने उहाँको भनाइ थियो ।
उक्त कार्यक्रममा सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालका तर्फबाट शर्मालाई सार्वजनिक यातायात प्रयोगका लागि निःशुल्क पासको व्यवस्था प्रदान गरिएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया