काठमाण्डौंः संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीयतालाई मजबुत बनाउन जनताको साथ अपरिहार्य रहेको बताएका छन् । मोरङको कटहरी-७ र धनपाल-५ जोड्ने लोहन्द्रा खोला झोलुङ्गे पुलको उद्घाटन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् ।
‘संघीयतालाई थप बलियो र मजबुत बनाउनका लागि जनताको साथ अपरिहार्य छ । संघीयताको समस्या केलाउँदै समाधान गरी यसलाई थप बलियो र सुदृढ बनाउनुको विकल्प छैन’ संघीयताका सन्दर्भका कतिपय राजनीतिक दल र व्यक्तिहरुले प्रश्न उठाइरहेको प्रसंग कोट्याउँदै उनले भने, ‘संघीयता कार्यान्वयनका सन्दर्भका केही कमजोरी देखियो होला, तर संघीयता र गणतन्त्रको विकल्प उन्नत र बलियो संघीयताबाहेक अरु हुन सक्दैन ।’
त्यस्तै, समानुपातिक समावेशीता जस्ता संवैधानिक प्रावधानकै कारण सबैको राज्य सत्तामा पहुँच भएको आफ्नो समेत उदाहरण दिँदै मन्त्री मोदीले भने, ‘एउटा गरिब थारुको छोरा यही संविधानमा व्यवस्था भएको समानुपातिक समावेशिता कारण मन्त्री बनेको छु, अहिले स्थानीय तहका प्रमुख वा उपप्रमुखमध्ये एक महिला हुनैपर्ने प्रावधान छ, स्थानीय तहमा दुई जना महिला त्यसमा पनि एक जना दलित अनिवार्य गरेको छ, योभन्दा उन्नत प्रावधान र व्यवस्था अरु हुन सक्दैन ।’
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया