भाद्र ३०, २०८३ मंगलबार September 15, 2026

मुख्य दलहरूलाई अस्तित्वरक्षाको हाँक : लाेकराज बराल

सांगठनिक कमजोरी, नेतृत्वको असफलता, गतिशीलताको कमी र आकर्षणको अभावले पुराना दल अस्तित्वरक्षाको चुनौतीमा देखिन्छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लाग्छ, अब विस्तारै ठूला भनिएका दलको भविष्य ओझेल पर्नेछ र नयाँ–नयाँ आयाम राजनीतिक दलहरूमा थपिँदै जानेछन् । यसको संकेत गत निर्वाचनमा राट्रिय स्वतन्त्र पार्टी, तराईमा जनमत र पश्चिम क्षेत्रमा उदाएको रेशम चौधरीको राष्ट्रिय उन्मुक्ति पार्टीको चुनावी परिणामले देखाइसकेका छन् । काठमाडौंलगायत अन्य कतिपय नगरपालिकामा पनि नयाँं अनुहारको उदयले अब यथास्थितिमा रहेका नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, मधेशका अन्य पुराना दललगायतलाई झड्का त लाग्ने नै छ । यसका साथसाथै, उनीहरूसामु अस्तित्वरक्षाको हाँक पनि झन्झन् बढ्नेछ । यसका धेरै कारणमध्ये सांगठनिक कमजोरी, नेतृत्वको असफलता, गतिशीलताको कमी, आकर्षणको अभाव र समयअनुसार रूपान्तरण गर्न नसक्ने लक्षण ।

दोस्रो महत्वपूर्ण कारण जनताको खस्किँदो विश्वास र वैकल्पिक शक्तिको खोज पनि दलहरूको अतित्वरक्षाका लागि हाँक हो । जसको लक्षण चुनाव परिणामले पनि दिएका छन् । सरकारमा बसे पनि नबसे पनि जनआकांंक्षाअनुरूप न्यूनतम काम गर्न नसक्दा अब नेताका भाषणमा जनविश्वास हराउन थालेको छ । यसमा अब कोही पनि अपवाद छैनन् । हालका प्रधानमन्त्रीले केही गर्लान् कि भन्ने आस पनि मर्दै गएको आभास जनतामा पाइन थालेको छ । माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डमा आफ्ना अप्ठ्यारा ख्यालै नगरी धेरै घोषणा पहिल्यै गर्ने बानी परेकाले उनका बोली पनि ओसिएको बारुदजस्तो भइरहेको छ । भर्खरै मात्र साधारण विश्वविद्यालयको एक उपकुलपति भर्ना गर्नसमेत हम्मेहम्मे परेको जगजाहेर छ ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष तथा अर्थविद् डा. स्वर्णिम वाग्लेको एक विचार सार्वजनिक भएको छ । उनका विचारमा उनको पार्टीको एकाएक (मेटेरियोक) उदय तीन कारणले भएको हो र भविष्यमा यिनै आधारमा उनको दल एक नम्बरमा आउने उनले भविष्यवाणी नै गरेका छन् । ती तीन आधार हुन्– जनसंख्या (डेमोग्राफी, डिजिटलाइजेसन (यान्त्रिक उपकरण) र बाहिर रहेका जनसंख्या (डायसफोरा) । एक दलका नेताका भनाइका रूपमा यी आधारलाई तिरस्कार गर्न सकिँदैन, किनभने यी आधारमा उनको र अन्य नयाँ दल वा व्यक्तिले जित्ने बताइएको छ ।

नेपालको जनसंख्याको अधिकांश हिस्सा युवा भएकाले अब परम्परामा आधारित जनाधारले मात्र दलहरूको भविष्य तय गर्न नसकिने भएको छ । यस्ता युवालाई नयाँ अनुहार चाहिएको छ, चाहे सिद्धान्त गौण नै किन नहोस् । सिद्धान्तका दृष्टिले पनि यी नयाँ दल प्रस्ट हुन थालेका छन् । स्वतन्त्र पार्टीले देशमा स्थापित गणतन्त्र र संविधानले तय गरेका अन्य सिद्धान्तप्रति प्रतिबद्ध भएको घोषणा गरेको छ । तर, यस दलको संघीयतामाथि प्रश्न छ ।

अहिलेकै जस्तो नाम मात्रको संघीयता कि यसमा सुधार गरी सच्याई अघि बढ्ने ? यदि यस दलले आफ्नो सिद्धान्तनिष्ठ राजनीति गर्‍यो वा अन्य पुराना दलका कमी–कमजोरीबाट पाठ सिकी स्वच्छ छवि राख्यो भने उसले जनतामा विश्वास जगाउन सक्छ । आर्थिक, सामाजिक रूपान्तरणतिर आक्रामक रूपमा अघि बढे उसले आफ्नो लक्ष्य हासिल गर्ने सम्भावना धेरै छ । उसको प्रगतिको सोझो असर कांग्रेसलाई पर्नेछ किनभने रास्वपा मध्यममार्गी धार र लोकतन्त्रप्रतिको प्रतिबद्धता तथा नयाँपनको अनुभूतिले जनताले उसलाई एक वैकल्पिक दलका रूपमा पाउनेछन् ।

यसको मतलब एमाले र अन्य पुराना भनिएका दलले एकनाश त्यही वर्चस्व कायम गर्न सक्छन् भन्ने होइन । एमाले पनि अब धेरै ओलीमुखी भई यथास्थितिको राजनीतिमा रमाई नेता र दलको आकर्षणको नवीकरण हुन नसकेकाले यसको पनि एकैनासको जनाधार नरहने कुरा प्राकृतिक नियमसँग मेल खाने विषय हो । नेकांजति पनि यसका दोस्रो तहका नेतामा सोच र गतिशीलताको अभावले एमालेको कार्य क्षमता, नेतृत्वको आकर्षण घट्तै गई नयाँ युवापिँढीको खोजमा जनता लाग्नेछन् । युक्रेनका राष्ट्रपति जेलेन्स्की, फ्रान्सका वर्तमान राष्ट्रपति इम्यानुयल म्याक्रोँ, भारतका केजरीवाल, अर्जेन्टिनाका नयाँ राष्ट्रपति, इटलीकी प्रधानमन्त्री र अन्य कतिपय सरकार प्रमुख यस्तै छालबाट आएका हुन् ।

उनीहरूको सफलता असफलता पछि देखिने हो । टिक्न सके लामो समय राज गर्लान्, नसके फालिन्छन् । लोकतन्त्र र राजतन्त्रको भेद नै यही हो । राजतन्त्र वंशवादमा आधारित हुन्छ र योग्य, अयोग्य जे भए पनि राजाको छोरो अर्को राजा हुन्छ । त्यसमा राजाको सन्दर्भ अब हराएको छ, किनभने राजा सक्रिय हुनकै लागि यतिका गतिविधि गरेको भए पनि जनतालाई त्यो अमान्य छ । अब सक्रिय राजा भनेको तनाशाही स्वीकार गर्नु हो, जुन नेपाली जनताले फालिसकेका छन् । आलंकारिक राजा किन चाहियो ? त्यसको भूमिका निर्वाचित राष्ट्रपतिले निर्वाह गरेकै छन् ।

जनता क्षमता, शासनमा स्वच्छता र नेताका दृढ विश्वाससाथ कार्य सम्पादनको क्षमता हेर्न चाहन्छन् । युवा हुनुका साथसाथै चिन्तनशील नेता भए झनै राम्रो । उमेरले मात्रै पनि राजनीतिमा गतिशीलता र अग्रगामी सोचका साथ रुपान्तरणका एजेन्डा अघि बढ्न सक्दैनन् । यदि युवाशक्ति परम्परावादी बढी र रुपान्तरणकारी कम भए भने त्यस्ता नेतालाई जनताले तिरस्कार गर्छन् । तर, आज अमेरिकाजस्तो देशमा पनि जो बाइडेन र डोनाल्ड ट्रम्पजस्ताले राजनीति रंग्याइरहेकै छन् । तर, ब्राजिलका राष्ट्रपति लुला सत्तरीको दशकका भए पनि फुर्तिलै देखिन्छन् । शारीरिक र मानसिक रूपमा ठीक भए पनि सोच भने यथास्थितिवादी भए त्यसको कुनै काम छैन ।

आजको चुनावका तरिकामा ठूलो परिवर्तन आएको छ । जसको सबभन्दा पछिल्लो उदाहरण पाकिस्तानमा भएको चुनाव परिणामले देखाएको छ । इमरान खानले जेलबाटै वाग्लेले भनेझैँ डिजिटलाइजेसनकै माध्यम प्रयोग गरी उनका दलका स्वतन्त्र भएर लडेका उम्मेदवार जिताई पहिलो दल बनाए । उनले जनतासित जेलको कोठाबाटै सोझो सम्पर्क स्थापित गरे । जनताले उनीमाथि अन्याय भएको, सेना र अन्य विरोधी दल मिली हराउने हत्कण्डा प्रयोग गरेको भन्ने धारणाले उनको पक्षमा यतिका मत आएको हो । यसलाई कतिपयले सेनामाथिको अविश्वास पनि भनेका छन् ।

यस्ता साधनको प्रयोगमा अभ्यस्त आजका युवा धेरै पर्छन् र उनीहरूको झुकाव अब पुराना दलका नेता वा उनले टीका लगाएका उम्मेदवारका पक्षमा जाँदैन । उनीहरूको यस्ता नेताले हाँकेका दलबाट केही उपलब्धि हासिल गर्न सकिँदैन भन्ने धारणा बन्दै गइरहेछ । ती दलको अस्तित्वरक्षा नयाँ नेतृत्व र अग्रगामी सोचले मात्र गर्न सक्छ । नेकां, एमाले, माओवादी र अन्य मधेशी दलको एजेन्डा हराउन थालेको छ, किनभने उनीहरूसित दल नवीकरण गर्ने योजना छैन । नेकांका दोस्रो तहका नेतामा केही समय पहिले देखिएको उत्साह र जनआशा सेलाउन थालेको र उनीहरू यथास्थितिवादी नेतृत्वको अक्षमतामा बिटुलिन थालेका छन् भन्ने आमबुझाइ बढिरहेको छ ।

के पनि सत्य हो भने नयाँ पिँढीका युवालाई अब काम र क्षमतामा बढी विश्वास छ, न कि सिद्धान्तमा । यो पनि आजका ठूला भनिएका दलका लागि चुनौती बनेर खडा भएको छ । अब लोकतन्त्रको जनमुखी चरित्र, अग्रगामी सोच, सैद्धान्तिक र कार्यक्षमतामा सक्कली रूप चाहिएको छ । जनताको समर्थन पाउन त्यहीअनुसारको नेताको छवि प्रस्तुत हुन सक्दा मात्र चुनावमा सफलता हासिल हुने परिस्थिति बन्न सक्छ ।

के नयाँ आएका दलबाट राजनीतिक रूपान्तरणको सम्भावना अरूको भन्दा बढी छ ? यस प्रश्नको उत्तर अहिले नै दिन सक्ने अवस्था छैन, किनभने उनीहरू यी तीन–चार वर्षमा आफ्ना मान्यता र क्षमतामा कति खरो उत्रिन सक्छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका आजका सांसदको भूमिका हेरिँदा भने केही आस गर्ने ठाउँ रहन्छ । उनीहरूको सबैभन्दा बढी आर्जन भनेको हालसम्म कायम भएको चारित्रिक स्वच्छता, शैली र सिक्ने प्रवृत्ति हो । यस दलका नेता रवि लामिछाने वेलावेला विवादमा पर्ने गरेको र उनको चरित्रमा प्रश्न उठ्ने गरेको पाइए पनि यी सांसद हुनुपहिलेका घटनासित जोडिएका हुन्, जसको निदान भइसकेको छैन । अन्य भ्रष्टाचारका आरोप लागेको छैन ।

उनीबाहेक अरू सहकर्मी यथावत् छन् र तिनको संस्कार जनताले नियालिरहेका छन् । उनीहरूको गणतन्त्रप्रतिको समर्पण, कार्यदिशा, क्षमता, नम्रता आदिसँग उनीहरूको दलको उत्थान र पतन जोडिएको छ । अन्य साना दल, विशेषगरी केही नयाँं क्षेत्रीय पार्टीको अस्तित्व यकिन गर्न सकिँदैन । तर, मधेशका मुद्दा कुनै न कुनै रूपमा उठिरहने आधार धेरै भएकाले यस्ता मुद्दाले उनीहरूको भूमिका यकिन हुने भएको छ । उनीहरूले कसरी आफ्ना मुद्दा जीवित राखी नवीकरण गर्न सक्छन्, त्यो भविष्यले नै बताउला ।

नयाँं वा पुराना सबै दलको प्रमुख उद्देश्य र कार्यक्रम लोकतान्त्रिक गणतन्त्रलाई कसरी जनमुखी र प्रभावशाली बनाउने भन्नेतर्फ केन्द्रित हुनुपर्छ । यस उद्देश्य प्राप्तिका लागि चल्दै आएको औपचारिकता, अकर्मण्यता र भ्रष्टीकरण अन्त्य हुनुपर्छ । यसै परिवेशमा प्रतियोगितात्मक लोकतन्त्रको अभ्यास हुँदा सबैको हित हुन्छ । त्यसैले, नेताको शुद्धीकरण र क्षमता अति आवश्यक पक्ष भएका छन् । अब पुराना र स्थापित भनिएका दलहरूले पुरानो भोटब्यांकले मात्र प्रतिस्पर्धामा उत्रिन गाह्रो पर्छ । तीव्र गतिमा बदलिएको राजीतिक परिवेशमा त्यसैका बलमा मात्र टिक्न सजिलो छैन । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एआईको बढ्दो जोखिमले अमेरिकी सेयर बजारमा तरङ्ग
२०८३ भाद्र ३०, मंगलबार
भोटेकोशी बाढीमा परेर ३४ देशका ६०७ विदेशी पर्यटक अझै बेपत्ता
२०८३ भाद्र ३०, मंगलबार
कांग्रेसले जारी गर्यो १५ औं महाधिवेशन निर्वाचन निर्देशिका (पूर्णपाठ)
२०८३ भाद्र ३०, मंगलबार
महँगी र कालाबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण
२०८३ भाद्र ३०, मंगलबार
खर्क तथा चरन क्षेत्रलाई रोजगारी सिर्जनासँग जोड्नुपर्छ : अध्यक्ष दाहाल
२०८३ भाद्र ३०, मंगलबार
आईतवारको बिदा कटौती गर्न सांसद ताहिर अली भाटको माग
२०८३ भाद्र ३०, मंगलबार
प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर राख्न आग्रह
२०८३ भाद्र ३०, मंगलबार