वैशाख १६, २०८१ आइतबार April 28, 2024

टिकटक प्रतिबन्ध लगाउने विधेयक अमेरिकी संसदबाट पारित

टिकटकमाथि प्रतिबन्ध लगाउने वा अमेरिकी नियन्त्रणमा राख्ने सम्बन्धी प्रस्तावको पक्षमा ३५२ र विपक्षमा ६५ भोट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकी नागरिकको निजी जानकारी संग्रह गरेको आरोप खेप्दै आएको टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने गरी अमेरिकी तल्लो सदनले एउटा विधेयक पारित गरेको छ ।

बुधबार प्रतिनिधि सभामा भएको मतदानमा टिकटकमाथि प्रतिबन्ध लगाउन वा टिकटक कम्पनी अमेरिकीको स्वामित्वमा बिक्री गर्न सक्ने व्यवस्थालाई अनुमोदन गरिएको छ ।

टिकटकमाथि प्रतिबन्ध लगाउने वा अमेरिकी नियन्त्रणमा राख्ने सम्बन्धी प्रस्तावको पक्षमा ३५२ र विपक्षमा ६५ भोट खसेको थियो ।

चिनियाँ कम्पनी बाइटडान्सले टिकटक सञ्चालन गरिरहेको छ । टिकटकले अमेरिकी सरकारले लगाउँदै आएको आरोप खण्डन गरिआएको छ । कम्पनीले अमेरिकी प्रयोगकर्ताको डेटा वा विवरण अमेरिकी कम्पनीकै मातहतमा सुरक्षित रुपमा भण्डारण गर्ने गरेको बताउँदै आएको छ । यी विवरण चिनियाँ अधिकारीहरुलाई सेयर नगरिएको जनाएको छ ।

तर टिकटकको यस भनाईलाई अमेरिकी सुरक्षा निकायहरुले विश्वास गर्न सकेका छैनन् । अमेरिकामा हाल टिकटकका प्रयोगकर्ता करिब १७ करोड रहेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले संसदले विधेयक अनुमोदन गरेमा आफूले हस्ताक्षर गर्ने बताइसकेका छन् । बाइडेन प्रशासनले गतवर्ष नै सबै सरकारी मोबाइल डिभाइसबाट टिकटक डिलिट गर्न आदेश दिइसकेको छ । अमेरिकी कंग्रेस, ह्वाइट हाउस र अमेरिकी सशस्त्र फौजले आफ्ना मोबाइल डिभाइसबाट टिकटक एप्सलाई हटाइसकेका छन् ।

तल्लो सदनबाट पारित भएको विधेयक अब माथिल्लो सदन सिनेटमा जानेछ । तर सिनेटमा यस विधेयकको पक्ष र विपक्षमा मत बाझिएको छ ।

अमेरिकी तल्लो सदनबाट विधेयक पारित हुनुअघि टिकटक विरुद्ध मतदान नगरीदिन अनुरोध गर्दै सांसदहरुलाई आश्वस्त बनाउन भरपूर प्रयास गरेको थियो । टिकटकका प्रमुख कार्यकारी साउ चिउ अमेरिकी संसदमै उपस्थित भएर सांसदसँग लबी गरेका थिए । तर उनको प्रयास सफल हुन सकेन ।

टिकटकमाथि प्रतिबन्ध लगाउने प्रस्तावको अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले विरोध गरेका थिए, तर उनकै पार्टी रिपब्लीकनका सांसदले विधेयकको पक्षमा मतदान गरेका थिए ।

तर सिनेटमा टिकटकमाथि प्रतिबन्ध लगाउने वा नलगाउने भन्नेमा तिब्र मतान्तर रहेको छ । युएसए टुडे अखबारका अनुसार टिकटकमाथि प्रतिबन्ध लगाउँदा एउटा कम्पनीमाथि अन्याय हुने वा नहुने बारेमा पनि विचार विमर्श गर्नुपर्ने धारणा धेरै सिनेटरको छ । उनीहरुको विचारमा टिकटकमाथि प्रतिबन्ध लगाउँदा कानुनी पक्षलाई पनि गम्भीर ढंगबाट हेर्नुपर्ने छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया