काठमाडौंः चलचित्रको पर्दामा सँगै काम गर्न नपाए पनि अभिनेता पल शाह र अभिनेत्री स्वस्तिमा खड्काले म्युजिक भिडियोमा सँगै काम गर्ने माैका पाएका छन् ।
यसपटक यी दुईले नयाँ गीत ‘ए है माया…’मा मंगलबार सँगै काम गरेका छन् । आफू लामो समयदेखि घरमै बसेको र ढाड दुख्ने समस्या भएको गुनासो गर्दै आएकी अभिनेत्री स्वस्तिमाले सो दुखाइलाई बेवास्ता गर्दै नयाँ म्युजिक भिडियोमा काम गरेकी हुन् ।
लामो समयसम्म काम नगरेको कारण स्वास्थ्यमा समस्या आए पनि काम गर्दाको उत्साह र ऊर्जाले सो दुखाइ कम भएको पनि उनले बताएकी छन् । यो गीतको अभ्यासकै क्रममा समस्या देखिएको काम गर्न नसकिएला कि जस्तो उनलाई लागेको थियो । तर, काम सम्पन्न गरेकी छन् ।
पल शाह र स्वस्तिमाले यस अघिसँगै फिल्म खेल्ने चाहना नराखेका हैनन् । तर, अहिलेसम्म जुरेको छैन । सँगै म्युजिक भिडियो खेल्ने अवसर पनि तीन वर्षपछि जुरेको स्वस्तिमाको कथन छ ।
अभिनेता पल शाहको लकडाउनपछिको यो दोस्रो भिडियो हो । यसअघि गत साता पनि पलले कलाकार सरोज ओलीकै गीतको भिडियोमा अभिनय गरेका थिए । यो गीत पनि सरोजकै हो ।
गायक सरोजले नै यो गीतको भिडियो निर्देशन गरेका हुन् । लामो समयदेखि पर्दामा सँगै नदेखिएको पल र स्वस्तिमालाई सानो पर्दामा तीन वर्षपछि उतार्न पाउँदा खुसी लागेको सरोजको कथन छ । सम्पादन सुरु गरिएको यो गीतलाई उनी केही दिनमै भिडियोको रूपमा रिलिज गर्दै छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया