असार २४, २०८२ मंगलबार July 8, 2025

मानव तस्करीमा मुछिएका पूर्वमन्त्री अधिकारीलाई उन्मुक्ति दिइएकोविरुद्ध सर्वोच्चमा रिट

अनुसन्धानबाट स्पष्ट प्रमाण देखिएको अवस्थामा अनिवार्य रूपमा अभियोजन गर्न माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मानव तस्करीमा मुछिएका एमाले प्रदेश सांसद तथा कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीमाथि मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पेस भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रबार रिट पेस गरेका छन्, यद्यपि दर्ता भने नभइसकेको सर्वोच्च प्रशासनले जनाएको छ ।

रिटमा पूर्वमन्त्री अधिकारीलाई तत्काल पक्राउ गरी प्रभावकारी अभियोजन गर्नुपर्ने माग निवेदकको छ । उनलाई मुद्दा नचलाउने गरी जिल्ला सरकारी वकिलबाट भएको निर्णय प्रथम दृष्टिमै गैरकानुनी र विधिको शासनविपरीत रहेको दाबी निवेदकको छ । त्रिपाठीले अन्तरिम आदेश माग गरेका छन् ।

रिटमा महान्यायाधिवक्ताको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलगायतलाई विपक्षी बनाइएको छ । ‘निज कानुनमन्त्रीको मानव तस्करीमा प्रत्यक्ष संलग्नता स्पष्ट छ । निजहरूको कागजातमा गम्भीर कैफियत देखिएपछि निजहरूलाई जापानबाट डिपोर्ट गरिएको तथ्य स्वतः स्पष्ट छ । प्रदेशमन्त्रीजस्तो पदमा रहेको व्यक्ति मानव तस्करी एवं किर्ते कार्यमा संलग्न हुनु मुलुकका लागि अन्तर्राष्ट्रिय लज्जाको विषय हो । यस्तो गम्भीर आपराधिक कृत्यमा कसैले पनि उन्मुक्ति प्राप्त गर्न पाउनुहुँदैन,’ रिटमा भनिएको छ ।

आपराधिक गिरोहसँग मिलेर ठुलो रकम लिई मानव तस्करीमा संलग्न अधिकारीलाई उच्च राजनीतिक दबाबका कारण मुद्दा नचलाउने निर्णय भएकाले मुद्दा नचलाउने निर्णय कार्यान्वयन नगर्न माग गरिएको छ । ‘प्रहरी अनुसन्धानबाट स्पष्ट प्रमाण देखिएको अवस्थामा अनिवार्य रूपमा अभियोजन गरिनुपर्दछ । कानुनले कुनै पद वा ओहोदा चिन्दैन । अभियोजन गर्ने अधिकारको स्वेच्छाचारी एवं बदनियतपूर्ण ढंगले प्रयोग गर्न मिल्दैन । कानुनको असमान प्रयोग गर्न मिल्दैन,’ रिटमा थप छ ।

सरकारी वकिलले इमानदारी नदेखाएको र अभियोजनको अधिकारको स्वेच्छाचारी प्रयोग गरेको दाबी गरेका छन् । आफ्नो व्यावसायिक धर्मको निर्वाह नगरी दबाबमा परी उक्त निर्णय भएको दाबी उनको छ । ‘यदि अनुसन्धानले पर्याप्त प्रमाण देखिन्छ भने अनिवार्य रूपमा अभियोजन हुनुपर्दछ । यस्तो स्थितिमा सरकारी वकिललाई मुद्दा नचलाउने सुविधा प्राप्त छैन । जस्तोसुकै परिस्थितिमा पनि सरकारी वकिलले व्यावसायिक धर्मको निर्वाह गर्नुपर्दछ,’ रिटमा भनिएको छ, ‘…सार्वजनिक पद धारण गरेको व्यक्तिले अपराध कर्ममा प्रत्यक्ष सहभागिताको स्थितिमा राजनीतिक दबाबका आधारमा निजलाई उन्मुक्ति प्रदान गर्नु कदापि पनि स्वीकारयोग्य हुन सक्दैन । यसबाट न्याय पराजित भएको अवस्था छ ।’

प्रहरीले तत्कालीन मन्त्री अधिकारीलाई समेत मुद्दा चलाउन सिफारिस गरेकोमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले प्रमाण नपुगेको भन्दै उनलाई उन्मुक्ति दिएको थियो । जुन निर्णयको चौतर्फी आलोचना भइरहेको छ । यसमा तानिएका ११ विरुद्ध भने प्रहरीले मुद्दा दर्ता गरेको छ ।

तीन बिचौलिया जेल चलान 

कोशी प्रदेशका तत्कालीन मन्त्री लीलाबल्लभ अधिकारी मुछिएको जापान मानव तस्करी मुद्दामा मुख्य तीन बिचौलिया जेल चलान भएका छन् । मानव तस्करी र लिखतसम्बन्धी कसुर गरेको भन्दै सोमबार दायर मुद्दामा न्यायाधीश बलराम लम्सालको इजलासले शुक्रबार थुनछेक आदेश सुनाउँदै प्रतिवादीहरूमध्ये तीनजनालाई थुनामा पठाएको छ । र, तीनजनासँग धरौटी मागको आदेश भएको छ । यसैगरी दुईजनालाई भने साधारण तारेखमा रिहा गरिएको जिल्ला अदालत काठमाडौंले जनाएको छ । यो मुद्दामा चार दिनदेखि हेर्दाहेर्दैमा राखेर थुनछेक बहस जारी थियो ।

अदालतका सूचना अधिकारी मेलिस बाँस्कोटाले जुगल रिजाल, महेश पाण्डे र वीरबहादुर सुनुवारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको बताए । उनीहरू तीनैजनालाई कारागार लगिएको छ भने कञ्चन देवकोटा, दावा शेर्पा र जनक राईसँग जनही ५०–५० हजार रुपैयाँ धरौटी माग भएको बाँस्कोटाले जानकारी दिए । उनीहरू तत्कालीन मन्त्री अधिकारीसँगै नक्कली सरकारी परिचयपत्र बनाएर जापान गएकोमा त्यहाँको अध्यागमनले शंकास्पद भ्रमण भन्दै फर्काइदिएको थियो । त्यस्तै, पक्राउ परेका गुडी राई र नवीन राईलाई भने अदालतले साधारण तारेखमा रिहा गरेको छ । उनीहरूले नक्कली सरकारी परिचयपत्र बनाएका थिए ।

यो मुद्दाका मुख्य तीन बिचौलिया रहेका गोपाल भन्ने योगराज गौतम, दिवाकरबाबु भट्टराई र विष्णु भट्टराई फरार छन् । उनीहरूको नाममा शुक्रबार अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार