असार २४, २०८२ मंगलबार July 8, 2025

प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेन्डा स्वीकृत

प्रधानमन्त्रीको भ्रमणलाई चुस्त बनाउन शिष्टाचार महापाल महाशाखाका अधिकृत प्रवीन भट्टराईसहितका केही कूटनीतिज्ञ बेइजिङमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीको सोमबारदेखि हुने चारदिने चीन भ्रमणका क्रममा ‘बीआरआई फ्रेमवर्क’ भित्र सञ्चालन हुने गरी नेपालले प्रस्ताव गर्ने नयाँ परियोजनासहितका एजेन्डालाई मन्त्रिपरिषद् बैठकले आइतबार अनुमोदन गरेको छ ।

सत्तारूढ कांग्रेस र एमालेले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) अघि बढाउन बनाएको साझा अवधारणासहितको विकास परियोजनाको सूचीलाई नै मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओली र चीनका समकक्षी ली छ्याङबीच मंगलबार बेइजिङमा द्विपक्षीय वार्ता हुनेछ । सोही क्रममा दुई देशबीचका एजेन्डामाथि छलफल हुने र सहमति तथा सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ । चिनियाँ पक्षसमक्ष प्रस्ताव गरिने अनुदानमा सञ्चालन गर्ने गरी सडक पूर्वाधार, सहरी विकास र उद्योग–व्यापारसँग सम्बन्धित दर्जन परियोजनाको सूची पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।

बालुवाटार स्रोतका अनुसार ‘बीआरआई फ्रेमवर्क’भित्र सञ्चालन हुने गरी नयाँ परियोजनाको सूची प्रस्ताव गरिनेछ । जसमा टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमकोट सडक, किमाथांका–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग, काठमाडौं–हेटौंडा पोडवे, अमरगढी सिटी हल, जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन, काठमाडौं उपत्यका प्रसारण लाइन स्तरोन्नति, मदन भण्डारी विश्वविद्यालय, काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम, दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क र झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स छन् ।

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठकमा चीन भ्रमण उपलब्धिमूलक हुने भए पनि कुन–कुन परियोजनामा चिनियाँ अनुदान प्राप्त हुँदै छ भन्नेबारे खुलाएका छैनन् ।

प्रस्तावित परियोजनामध्ये केरुङ–काठमाडौं सीमापार रेलमार्गको समय अवधि नै प्रस्ट पारेर चिनियाँ पक्षसँग प्रस्ताव गर्ने तयारी भइरहेको जानकारी दिएका थिए ।

‘कांग्रेस र एमालेको शीर्ष बैठकले धेरै मिहिनेत गरेर साझा अवधारणा बनाएको छ, यसले नेपालको छिमेकी सम्बन्ध र विदेश नीतिमा साझा धारणा निर्माण गर्ने जस्तो महत्त्वपूर्ण काम गरेको छ,’ मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले राखेको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘यसैका आधारमा चीनसँग सम्झौता गर्ने काम गर्छौं ।’

दुई दलले बनाएको साझा धारणामा आधारित एजेन्डाप्रति चिनियाँ पक्षले सकारात्मक प्रतिक्रिया जनाएकाले ‘बीआरआई’ अघि बढाउनेलगायत पुराना अनुदानका प्रतिबद्धतामा हुने सहमतिसमेत प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा अघि बढ्ने परराष्ट्रका अधिकारीहरूको भनाइ छ ।

‘चिनियाँ पक्षको नेपालभित्र र बाहिरको मुख्य सरोकार भनेकै नेपाल–चीन सम्बन्ध बीआरआईको सन्दर्भमा अघि बढ्यो भनेर सन्देश दिनु नै हो । के बढ्यो, कति बढ्यो त्यसमा त्यति रुचि देखिँदैन । हाम्रा लागि पनि चीनसँग थप सम्बन्ध चिसो नहोस् भन्नेमा चासो थियो । त्यसैले सत्तामा रहेका कांग्रेस र एमालेले बनाएको धारणाप्रति चिनियाँ पक्ष पनि सकारात्मक देखिएको छ,’ कांग्रेसका एक मन्त्रीले भने, ‘अब दुई पक्षबीच हुने वार्तामा चीनले हामीले प्रस्ताव गरेका कति योजनामा कसरी सहयोग गर्छ, त्यो हेर्न बाँकी छ ।’

चीनले विगतमा प्रतिबद्धता जनाएर पनि कार्यान्वयन नभएका अनुदान र अन्य सहयोगका विषय पनि नेपालले उठाउनेछ । चीनका राष्ट्रपति सी चिनफिङले सन् २०१९ मा नेपाल भ्रमण गर्दा घोषणा गरेको ५५ अर्ब रुपैयाँ अनुदान अहिलेसम्म कार्यान्वयनमा आउन सकेको छैन ।

चिनियाँ पक्षले राष्ट्रपति चिनफिङले घोषणा गरेकै अनुदानलाई ‘बीआरआई फ्रेमवर्क’भित्र राखेर प्रस्तावित परियोजनाका लागि छुट्याउन सक्ने अनुमानसमेत नेपाली पक्षले गरेको छ । तर, साझा धारणा बनाउने क्रममा दुई दलले यसअघि प्रतिबद्धता जनाइएका अनुदान र योजनालाई ‘बीआरआई फ्रेमवर्क’ भित्र राखेका छैनन् ।

‘विभिन्न समयमा चीनले घोषणा गरेको र हालसम्म आउन बाँकी रहेका रकम पनि नेपालका पूर्वाधार परियोजनामा खर्च गर्नका लागि नेपालले आग्रह गर्ने भनेर साझा धारणामा उल्लेख गरिएको छ,’ साझा धारणा बनाउन गठित कार्यदलका एक सदस्यले भने, ‘बीआरआईको बाहिर संयुक्त वक्तव्यमा यसअघि गरिएका समझदारी, त्यसमा कबोल गरिएका अनुदानका रकम तुरुन्त प्राप्त गर्ने भनेर नेपालले धारणा राख्ने प्रस्ताव छ । त्यसलाई चिनियाँ पक्षले कसरी लिन्छन् भन्न सकिन्न ।’

कांग्रेस महामन्त्री गगन थापाले संसद्का दुई ठूला दल कांग्रेस र एमालेबीच साझा धारणा बनाएर ‘बीआरआई’ अघि बढाउने निर्णय दुवै देशको साझा हितमा अन्तरनिहित रहेको बताए । ‘यो काम सकारात्मक रूपमा अघि बढेको छ, यसले दुई देशको सम्बन्ध र साझा परराष्ट्र नीति बनाउने दिशामा महत्त्वपूर्ण काम भएको छ,’ उनले भने ।

प्रधानमन्त्री ओली सरकारी टोलीबाट ३९ र निजी क्षेत्रबाट ४८ गरी ८७ जनाको नेतृत्व गर्दै चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा बेइजिङ जान लागेका हुन् । ओली चौथो पटक प्रधानमन्त्री भएपछि यो नै पहिलो द्विपक्षीय विदेश भ्रमण हो । उनी यसअघि बहुपक्षीय सभा संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिन न्युयोर्क गएका थिए ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणको सम्पूर्ण तयारी पूरा भएको परराष्ट्र मन्त्रालय र बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्ण ढकालले आवश्यक तयारी पूरा भएको बताए । बेइजिङस्थित चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीले पनि प्रधानमन्त्रीको भ्रमणको गृहकार्य पूरा भएको जानकारी दिए । ‘आवश्यक गृहकार्य भएको छ, पूर्वनिर्धारित समयअनुसारै कार्यक्रम हुनेछ,’ उनले भने ।

प्रधानमन्त्रीको भ्रमणलाई चुस्त बनाउन शिष्टाचार महापाल महाशाखाका अधिकृत प्रवीन भट्टराईसहितका केही कूटनीतिज्ञ बेइजिङ पुगिसकेका हुन् । ओली सोमबार बिहान ११ बजे हिमालयन एयरलाइन्सको चार्टर विमानबाट जानेछन् । प्रधानमन्त्री ओली बेइजिङको स्थानीय समयअनुसार सोमबार बेलुकी साढे ५ बजे पुग्नेछन् ।

ओलीले मंगलबार चीनका प्रधानमन्त्री ली छ्याङसँग वार्ता गर्नेछन् । सोही वार्तामा दुई मुलुकबीचका एजेन्डामा छलफल हुने तथा सहमति र सम्झौतामा हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसपछि प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्नेछन् । सोही दिन चिनियाँ जनकंग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग भेट्ने कार्यक्रम छ ।

ओलीले बुधबार पेइकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम छ । नेपाल–चीन बिजनेस फोरमले आयोजना गरेको कार्यक्रममा पनि सोही दिन सम्बोधन गर्नेछन् । बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुनेछन् । भ्रमणको चौथो दिन बिहीबार ओली बिहानै बेइजिङबाट काठमाडौंका लागि उड्नेछन् । उनी करिब साढे २ बजे काठमाडौंमा आइपुग्ने कार्यक्रम छ ।

चीनले अघि सारेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) लाई अघि बढाउन नेपाल र चीन दुवै सहमत भइसकेकाले ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा हस्ताक्षर हुने प्रधानमन्त्री निकट स्रोतले बतायो ।

हस्ताक्षर भएमा ‘बीआरआई’ कार्यान्वयन योजना अघि बढ्नेछ । चीन र नेपालीबीच सन् २०१७ मा ‘बीआरआई एमओयू’मा हस्ताक्षर भएको थियो ।

‘बीआरआई’ कार्यान्वयनप्रति भूराजनीतिक चासो समेत रहेकाले लामो समय अन्योलता बढेको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा पनि कार्यान्वयन योजनामा हस्ताक्षर हुन सकेको थिएन । यस पटक दुई दलले सबै खालका अन्योलता हटाएर ‘बीआरआई’ कार्यान्वयनलाई नयाँ ‘फ्रेमवर्क’को नाममा हस्ताक्षर गर्ने तयारी गरेका हुन् ।

प्रधानमन्त्री ओलीको भ्रमणको पूर्वतयारीका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवा छेन्दु पुगेर चिनियाँ समकक्षी वाङ यीलाई भेटेर नेपाल फर्किइसकेकी छन् । उनी प्रधानमन्त्रीसँगै सोमबार पुनः जानेछिन् । चीनबाट फर्केलगत्तै राणाले ‘बीआरआई’ परियोजना दुवै देशको सहमतिमै अघि बढ्ने बताएकी थिइन् । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार