असार २४, २०८२ मंगलबार July 8, 2025

कोरा कर्मचारीबाट नतिजा कमजोर

अनुभवी इन्जिनियर आवश्यक पर्नेमा उल्टो कोरा जनशक्ति पठाएर बेकम्मा बनाइए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, मङ्सिर २३ गते । सामान्यतः नयाँ भर्ना भएका कर्मचारीलाई सक्दो बढी काममा लगाउने नीति सबैतिर अपनाइन्छ तर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भने अहिले उक्त मान्यताविपरीत नयाँ कर्मचारीलाई कामै नगर्ने निकायमा खटाइरहेको छ । यसको उदाहरण हो, लोक सेवा आयोगबाट नयाँ सिफारिस भएका जनरल समूहका इन्जिनियरलाई जिल्ला समन्वय समिति (जिसस) मा पठाइएको छ ।

जिससले आफैँ केही काम गर्दैन, अरू निकायले गरेका कामहरूको अनुगमन गर्छ । अनुगमन गर्नका लागि लामो समय काम गरेका अनुभवी इन्जिनियर आवश्यक पर्नेमा उल्टो कोरा जनशक्ति पठाएर बेकम्मा बनाइएको छ ।

यस्तै अवस्था स्थानीय तहका प्रमुख प्रशासनिक अधिकृतको हकमा पनि देखिएको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबाट तालिम सकेका नयाँ अधिकृतलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाउँदा स्थानीय तहको नतिजा कमजोर बन्दै गएको छ ।

सरकारले स्थानीय तहमा भर्खर नयाँ नियुक्ति लिएका प्रशासन सेवाका अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियरिङ सेवाका नयाँ कर्मचारीलाई जिल्ला समन्वय समितिको कामकाज गर्न खटाउँदा यस्तो अवस्था बनेको हो ।

स्थानीय तहभित्रको नीति निर्माणमा सहयोग गर्ने, बजेट निर्माण, कार्यान्वयन र नियमित सेवा प्रवाह गर्ने प्रमुख प्रशासकीय अधिकृत र जिल्लाभित्रका विकास निर्माण, सेवा प्रवाह र सरकारी कार्यालयको संस्थागत क्षमताको अनुगमन गर्ने प्राविधिक इन्जिनियर दुवै पदमा अनुभवविहीन नयाँ कर्मचारी हुँदा समग्र स्थानीय तहको नतिजा कमजोर बन्दै गएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महालेखा परीक्षकको कार्यालयले वार्षिक रूपमा सार्वजनिक गर्ने प्रतिवेदनले पनि स्थानीय तहमा नयाँ कोरा प्रमुख प्रशासकीय अधिकृत पठाउँदा विकास निर्माण र सेवा प्रवाह कमजोर भएको औँल्याउँदै आएको छ ।

गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भर्खरका नयाँ सिकारु अधिकृतलाई स्थानीय तहमा पठाउँदा समग्र विकास निर्माण, सेवा प्रवाह र सुशासनका क्षेत्र नै कमजोर भएको बताउनुभयो । अहिले मात्र नभएर गत सात वर्षदेखि मन्त्रालयले स्थानीय तहमा नयाँ सिकारु शाखा अधिकृतलाई कामकाजका लागि खटाउँदै आएको छ ।

स्थानीय सरकार सञ्चालन ऐनमा महानगरपालिका र उपमहानगरपालिकामा सहसचिव, नगरपालिकामा उपसचिव र गाउँपालिकाका शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदान गर्नुपर्ने उल्लेख छ तर मन्त्रालयले स्थानीय तहमा कर्मचारीको अभाव हुँदा कतिपय नगरपालिकामा पनि शाखा अधिकृतलाई नै प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदान गर्दै आएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले जिससमा प्राविधिक जनशक्ति इन्जिनियर नहुँदा अनुगमन कार्य फितलो भएको भन्दै गत भदौमा ५५ जना नयाँ इन्जिनियरलाई जिल्ला समन्वय समितिमा कामकाजका लागि खटाएको थियो । नयाँ इन्जिनियरले अनुगमनभन्दा नयाँ काम गर्न बढी रुचि राख्ने र उनीहरूको ऊर्जा पनि त्यसैमा बढी खर्चनुपर्ने उहाँले बताउनुभयो । अध्यक्ष पाण्डेले भन्नुभयो, “नयाँ भर्खरका प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहमा पठाउँदा विकास खर्च समयमा नै हुन नसकेको र भएका खर्च पनि प्रभावकारी भएका छैनन् ।”

स्थानीय तहमा कोरा प्रमुख प्रशासकीय अधिकृत र जिससमा कोरा इन्जिनियरलाई खटाउँदा कतिपय स्थानीय तहको समयमा नै बजेट खर्च हुन नसकेको, आर्थिक वर्षको अन्तिमसम्ममा पनि कतिपय स्थानीय तहको विकास खर्च ६० प्रतिशत पनि पुगेको छैन । त्यस्तै असार महिनामा मात्र चारदेखि छ महिना बराबरको बजेट खर्च हुने गरेको र समग्रमा स्थानीय तहको सुशासन र सेवा प्रवाह कमजोर हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्थानीय तहका उजुरी धेरै पर्ने गरेको स्थानीय तहका जनप्रतिनिधि नै स्वीकार गर्दै आएका छन् ।

जिल्ला समन्वय समिति महासङ्घ नेपालका कार्यकारी निर्देशक भरतकुमार भट्टराईले जिल्लाभित्र भएका समग्र विकास निर्माणका योजना र कार्यालयको संस्थागत क्षमताको अनुगमन गर्ने जिम्मेवारी जिससलाई भएकाले जिससमा नयाँ इन्जिनियर पठाउँदा अनुगमन कार्य फितलो भएको बताउनुभयो । उहाँले भन्नुभयो, “जिससले जिल्लाभित्रका सङ्घ, प्रदेश र स्थानीय तहका भौतिक पूर्वाधार र संस्थागत क्षमता मूल्याङ्कनसहितको अनुगमन गर्ने जिम्मेवारी भएकाले यतिका गहन जिम्मेवारी भएको संस्थामा नयाँ कोरा इन्जिनियर पठाउँदा जिल्लाको अनुगमको पाटो कमजोर बनेको छ ।”

उहाँका अनुसार जिल्लामा रहेका तिनै तहका कार्यालयले सार्वजनिक सूचना समयमा सार्वजनिक गरे नगरेको, स्थानीय तहको क्षमता स्वमूल्याङ्कन प्रगतिको अवस्था, जिल्लाभित्र सङ्घ, प्रदेश र स्थानीय तहले सञ्चालन गरेका विकास निर्माणका योजना, सुशासन र सेवा प्रवाहको अनुगमन गर्नुपर्ने तर जिससमा नयाँ कोरा इन्जिनियर र जिल्ला समन्वय अधिकारी हुँदा काम गर्न कठिन भएको छ ।

जिससका इन्जिनियरलाई जिल्लाभित्रकै नेपाल इन्जिनियर एसोसिएसन, यान्त्रिक कार्यालय, स्थानीय तहका प्राधिक कार्यालय र निर्माण व्यावसायिक महासङ्घ, सडक डिभिजन कार्यालय र प्रदेश सरकारको समन्वयमा समय समयमा तालिम दिन भट्टराईले सरकारलाई आग्रह गर्नुभयो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृत पठाउने कार्य अन्त्य गर्न र जिससमा प्राविधिक जनशक्ति पूर्ति गर्ने उद्देश्यले नयाँ नै भए पनि स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत र जिससमा इन्जिनियरलाई पूर्णरूपमा अधिकार दिएर पठाइएको बताउनुभयो । उहाँहरूलाई कानुनमा उल्लेख भएका काम गर्ने कुनै बाधा नभएको समेत पराजुलीले स्पष्ट पार्नुभयो ।

अधिकांश फर्कने तयारीमा

स्थानीय तहमा नयाँ खटाइएका प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय समितिमा पठाइएका इन्जिनियरहरू सङ्घीय कार्यालयमा नै फर्कनका लागि मन्त्रालयमा निवेदनको चाङ लागेको छ । नयाँ ऊर्जाशील इन्जिनियरलाई जिल्ला समन्वय समितिमा पठाउँदा कामविहीन भएको र स्थानीय तहको काममा जनप्रतिनिधिको पेलाइले काम गर्न व्यावहारिक कठिनाइ भएको भन्दै सङ्घीय कार्यालयमा नै फर्कने तयारीमा उहाँहरू हुनुहुन्छ ।

महासङ्घका कार्यकारी निर्देशक भट्टराईले जिससको काम, कर्तव्य र अधिकारका बारेमा स्पष्ट रूपमा कुनै पनि निकायले प्राविधिकलाई जानकारी नगराएको र काम गर्ने ऊर्जाका साथ सेवा प्रवेश गरेका इन्जिनियरहरूलाई काम कसरी गर्ने भन्ने अन्योल भएकाले उहाँहरू पुनः सङ्घीय कार्यालयमा नै फर्कने मनस्थिति बनाएको बताउनुभयो । यस सम्बन्धमा मन्त्रालयको उच्च तहमा कुनै छलफल नहुने अवस्थाले सरकारको सेवा प्रवाह नै प्रभावित हुने गरेको छ । गोरखापत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार