असार २४, २०८२ मंगलबार July 8, 2025

निमित्तकै भरमा त्रिविका डिन र आंगिक क्याम्पस

मेरिटोक्रेसीकै आधारमा नियुक्ति गर्ने तयारी गरे पनि भागबन्डा नमिल्दा डिन नियुक्तिमा ढिलाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः त्रिभुवन विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्ने भन्दै आठ डिन र १८ क्याम्पस प्रमुखलगायतका पदमा आवेदन माग गरेको भए पनि नियुक्तिमा कठिनाइ भएको छ, जसका कारण तीन महिनादेखि त्रिविका डिन कार्यालय तथा क्याम्पसहरू निमित्तकै भरमा चलिरहेका छन्।

उच्च शिक्षाको ७० प्रतिशत भार बोकेको त्रिविका डिनमा अन्तरवार्ता सकिएको दुई महिना बितिसक्यो। तीन÷तीनजनाको नाम सिफारिस भइसक्दा पनि त्रिवि कार्यकारी परिषद्ले अझै डिन नियुक्ति गर्न सकेको छैन।

यसले गर्दा चार महिनादेखि त्रिविका ६ वटा डिन र १८ वटा आंगिक कलेजहरू निमित्तकै भरमा चलेका छन्। यसले विश्विद्यालयका आंगिक कलेज र डिन कार्यालयले लिनुपर्ने नीतिगत निर्णय गर्न निकै कठिनाइ बन्दै गएको त्रिविका प्राध्यापक वसन्त ढकालले बताए।

त्रिवि प्राध्यापक संघका अध्यक्षसमेत रहेका ढकालले छनोट समितिले पाँच संकाय र संस्थानका लागि तीनतीनजनाको नाम छनोट गरी कार्यकारी परिषद्लाई बुझाइसकिएको भए पनि दलहरूको दबाबका कारण नियुक्तिमा ढिलाइ हुन गएको जिकिर गरे।

छनोट समितिले चिकित्साशास्त्र अध्ययन संस्थानको डिनका लागि प्राडा मोहनराज शर्मा, सुधा बस्नेत र दिव्य सिंह शाहको नाम सिफारिस गरेको छ भने मानविकी तथा सामाजिक शास्त्र संकायको डिनका लागि प्राडा दुविनन्द ढकाल, सञ्जय आचार्य र ताराप्रसाद भुसालको नाम सिफारिस गरेको छ।

यसैगरी वन विज्ञान अध्ययन संस्थानका लागि राजेश राई, ठाकुर सिलवाल र राजकुमार कोइरालाको नाम सिफारिस गरिएको छ भने व्यवस्थापनका लागि डिनका लागि महानन्द चालिसे, भोजराज अर्याल र अच्युत कोइरालाको नाम सिफारिस गरिएको छ।

यसैगरी त्रिवि स्रोतका अनुसार इन्जिनियरिङ अध्ययन संस्थानको डिनमा सुवर्ण शाक्य, भोलानाथ शर्मा र सुशील बज्राचार्यको नाम सिफारिस गरिएको छ। कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका लागि प्रा.डा. किशोर दाहाल, हरिकृष्ण पन्त र यमबहादुर गुरुङको नाम सिफारिस गरिएको छ।

यसैगरी विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डिनका लागि प्रा.डा. शंकर खनाल, प्रा.डा. चेतराज भट्ट र नारायण अधिकारीको नाम सिफारिस गरिएको छ भने शिक्षाशास्त्र संकायको डिनका लागि प्रा.डा. चित्रबहादुर बुढाथोकी, वेदराज  आचार्य र नारायण बेलवासेको नाम सिफारिस गरिएको छ।

हाल कृषिको निमित्त डिनमा किशोर दाहाल, इन्जिनियरिङ अध्ययन संस्थानका निमित्त डिन विनोद भट्टराई, मानविकी संकायको निमित्त डिनमा दुविनन्द ढकाल, चिकित्साशास्त्र अध्ययन संस्थानका अर्को व्यवस्था नभएसम्मका लागि निमित्त डिन दिव्यसिंह साह र शिक्षाशास्त्र संकायमा अर्को व्यवस्था नभएसम्मका लागि निमित्त डिन चित्रबहादुर बुढाथोकी छन् भने व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डिन पुस अन्त्यमा रिक्त हुँदै छ।

त्रिवि प्राध्यापक संघका अध्यक्ष प्रा.डा. वसन्त ढकालका अनुसार त्रिवि पदाधिकारीहरूले यसपटक मेरिटोक्रेसीकै आधारमा नियुक्ति गर्ने तयारी गरे पनि भागबन्डा नमिल्दा डिन नियुक्तिमा ढिलाइ भएकाले क्याम्पस प्रमुखहरूको नामसमेत सिफारिस हुन सकेन।

‘त्रिवि प्राध्यापक संघको एउटै माग हो– छनोट समितिले नम्बर १ मा सिफारिस गरेको डिन नै नियुक्ति भए मात्र मेरिटोक्रेसी हुन्छ नत्र कम अंक ल्याएकालाई डिन नियुक्ति गर्ने कार्य संघलाई सह्य हुँदैन’, अध्यक्ष ढकालले नागरिकसँग भने, ‘बाहिर बोल्दा त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रार सबैले मेरिटोक्रेसीका आधारमा नियुक्ति गर्ने भन्छन्, तर उपकुलपतिकै अध्यक्षतामा बस्ने रेक्टर र रजिस्ट्रार पदाधिकारी सदस्य भएको कार्यकारी परिषद्ले किन नियुक्ति गर्न नसक्ने? यति मात्र होइन कलेज प्रमुखहरूमा भागबन्डा नमिलेर नामसमेत सिफारिस हुन सकेको छैन। त्रिविभित्रको बेथिति हटाउन कार्यकारीबाट सिफारिस भएकामध्ये पहिलो नम्बरकालाई नियुक्ति गरी अघि बढ्नुपर्छ।’

त्रिविका पूर्व रजिस्ट्रार एवं तथ्यांकशास्त्रका प्रा.डा. चन्द्रमणि पौडेलले त्रिविमा मेरिटोक्रेसी नाम मात्रका लागि बनेको बताए। ‘कार्यकारी परिषद्का सदस्यहरू पुरानै खालबाट आएका रहेछन्’, पौडेलले भने, ‘अनि मेरिटोक्रेसी कराए पनि नियुक्ति समयमा भने दल नै हेर्ने रहेछन्।’

उनले थपे, ‘यसकारण डिनको नाम सिफारिस भए पनि नियुक्ति गर्न कठिनाइ भएको देखियो।’

कार्यकारी परिषद्का अन्य पदाधिकारीबीच सम्बन्धित राजनीतिक दलको भागबन्डा मिल्न नसक्दा नाम सिफारिस भइसक्दा पनि डिन नियुक्तिमा ढिलाइ देखिएको उनको भनाइ छ।

इन्जिनियरिङ अध्ययन संस्थानका प्रा.डा. दिनेश शर्माले कार्यकारीले मेरिटोक्रेसीकै आधारमा उच्च अंक प्राप्त गरेकोलाई नियुक्ति गर्नुपर्ने भनाइ राखे। ‘निमित्तका भरमा डिन चलाउँदा प्राज्ञिक र शैक्षिक गुणस्तरमै असर पर्छ’, उनले भने, ‘नीतिगत निर्णय लिन सकिन्न। यसले समग्र विश्वविद्यालयको प्राज्ञिक उन्नयन प्रभावित हुन्छ।’ नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार