काठमाडौं । चालू आर्थिक वर्ष २०८१–८२ को साउनदेखि कात्तिकसम्ममा ५ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । चार महिनामा सेवा खाताअन्तर्गत भ्रमण व्यय अर्थात् नेपालीले विदेश जाँदा ६८ अर्ब ३१ करोड लिएर गएका छन् ।
जबकि नेपालमा भ्रमणमा आउने पर्यटकले २६ अर्ब मात्र खर्चेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चार महिनामा खुद सेवा आय २२ अर्ब ९५ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको यही अवधिमा खुद सेवा आय २७ अर्ब ८९ करोड रुपैयाँले घाटामा रहेको थियो ।
राष्ट्र बैंकले विदेशीले नेपालमा गर्ने खर्च ३ दशमलव ८ प्रतिशतले बढेर २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको जनाएको छ । यसमध्ये शिक्षातर्फको खर्च ३७ अर्ब ७२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको चार महिनामा भ्रमण खर्च ६१ अर्ब ९२ करोड रहेकामा शिक्षातर्फ ३८ अर्ब ४४ करोड रुपैयाँ रहेको थियो ।
चार महिनामा ५ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिँदा कात्तिक एक महिनामा मात्रै १ खर्ब १४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत वर्षको चार महिनामा ४ खर्ब ७७ अर्ब रुपैयाँ मात्र भित्रिएको थियो ।
यो चार महिनामा २ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्सका रूपमा बाहिरिएको छ । चार महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा गत आवको यही अवधिको तुलनामा १७ प्रतिशतले बढेको छ ।
गत आवमा भने २ लाख ६ हजार जनाले नयाँ र पुनः श्रम स्वीकृति लिएकामा यस वर्ष सो स्वीकृति लिने २ लाख ४१ हजार बढी छन् ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार नेपाल भ्रमणमा आउने पर्यटक, विद्यार्थीलगायतले भिœयाउने रकमभन्दा विदेशमा जाने नेपालीले ४१ अर्ब रुपैयाँ बढी लगेको देखिएको छ ।
नेपाल भ्रमणमा आउने पर्यटक, पढ्न र उपचारका लागि आउनेले २६ अर्ब रुपैयाँ ल्याएका छन् । तर, यही अवधिमा यस्तै कामका लागि नेपालबाट ६८ अर्ब ३१ करोड रुपैयाँ बाहिरिएको छ ।
यस अवधिमा नेपाल पढ्न आउनेले १ अर्ब ७९ करोड रुपैयाँ भिœयाएका छन् भने अध्ययनका लागि ३७ अर्ब रुपैयाँ बाहिरिएको छ ।
शिक्षा र औषधोपचारबाहेक भ्रमणमा आउनेले २४ अर्ब ल्याउँदा यहाँबाट २९ अर्ब रुपैयाँ लगिएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार कात्तिकमा ५ दशमलव ६० प्रतिशत मूल्यवृद्धि भएको छ । अघिल्लो आव कात्तिकमा मुद्रास्फीति ५ दशमलव ३८ प्रतिशत रहेकामा यस वर्ष बढेर ५ दशमलव ६० प्रतिशत पुगेको हो ।
राष्ट्र बैंकका अनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९ दशमलव १० प्रतिशत गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव ६५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहको मुद्रास्फीति खाद्य समूहमा ५ दशमलव ९८ प्रतिशत र गैरखाद्यमा ४ दशमलव ९९ प्रतिशत थियो ।
राष्ट्र बैंकको तथ्यांकले साउनदेखि कात्तिकसम्मको औसत मूल्यवृद्धि ४ दशमलव ५९ प्रतिशत देखाएको छ । गत आवको यस अवधिमा यस्तो मूल्यवृद्धि औसत ७ दशमलव १५ प्रतिशत थियो ।
ग्रामीण क्षेत्रमा मूल्य वृद्धिदर ६ दशमलव १९ प्रतिशत र सहरी क्षेत्रमा ५ दशमलव ३९ प्रतिशतले बढेको छ ।
कोशी प्रदेशमा ७ दशमलव १९ प्रतिशत, मधेस प्रदेशमा ५ दशमलव २७ प्रतिशत, बाग्मती प्रदेशमा ५ दशमलव ३५ प्रतिशत, गण्डकीमा ४ दशमलव ६९ प्रतिशत, लुम्बिनीमा ५ दशमलव १० प्रतिशत, कर्णालीमा ३ दशमलव २१ प्रतिशत र सुदूरपश्चिममा ६ दशमलव ५७ प्रतिशत महँगी बढेको छ ।
अघिल्लो वर्षको यही अवधिमा भने नेपालले ७३ अर्ब ३१ करोड रुपैयाँको सेवा निर्यात गर्दा १ खर्ब १ अर्ब रुपैयाँको आयात गरेको थियो ।
यस अवधिमा ४ अर्ब ९६ करोड रुपैयाँबराबरको सूचना प्रविधिमा आधारित सेवा (आईटी सेवा) निर्यात भएको छ ।
त्यस्तै, ६८ करोड रुपैयाँबराबरको यस्तो सेवा आयात गरेको हो । चालू आवको कात्तिक मसान्तसम्म नेपालमा विदेशी मुद्राको सञ्चिति साढे २२ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवको असार मसान्तमा २०४१ अर्ब १० करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १० दशमलव ५ प्रतिशतले वृद्धि भई २०८१ कात्तिक मसान्तमा २२५५ अर्ब ३५ करोड पुगेको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकामा २०८१ कात्तिक मसान्तमा ९ दशमलव ४ प्रतिशतले वृद्धि भई १६ अर्ब ७० करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकामा २०८१ कात्तिक मसान्तमा ८ दशमलव ६ प्रतिशतले वृद्धि भई २० खर्ब ८ अर्ब १५ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकामा २०८१ कात्तिक मसान्तमा २८ दशमलव ४ प्रतिशतले वृद्धि भई २४७ अर्ब २० करोड कायम भएको छ ।
२०८१ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । चार महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८ महिनाको वस्तु आयात र १५ दशमलव १ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
२०८१ कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगको अनुपात क्रमशः ३९ दशमलव ५ प्रतिशत, १२६ प्रतिशत र ३१ दशमलव ४ प्रतिशत छ । २०८१ असार मसान्तमा सो अनुपात क्रमशः ३५ दशमलव ८ प्रतिशत, १०८ दशमलव ६ प्रतिशत र २९ दशमलव ३ प्रतिशत थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार आयात शून्य दशमलव २ प्रतिशतले र निर्यात ४ दशमलव २ प्रतिशतले बढेको छ । रेमिट्यान्स आप्रवाह नेपाली रुपैयाँमा ९ दशमलव १ प्रतिशतले बढेको छ ।
शोधनान्तर स्थिति २ खर्ब ५ अर्ब ८३ करोडले बचतमा रहेको छ । कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १६ अर्ब ७० करोड रहेको छ । -राजधानी दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया