सिन्धुपाल्चोक, १९ माघः मेलम्ची नगरपालिका–६ स्थित श्री तेर्से माध्यमिक विद्यालयको ३४औँ वार्षिकोत्सवको अवसरमा मेलम्ची नगरपालिका, हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिकास्तरीय अन्तर विद्यालय शिक्षक भलिबल प्रतियोगिताको शुक्रबार मेलम्ची नगरपालिका प्रमुख श्री आइतमान तामाङले एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको छ । प्रतियोगितामा विभिन्न १६ विद्यालयको सहभागिता रहेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख तामाङले खेल क्षेत्रको विकासका लागि नगरपालिकाले योजनावद्धरुपमा काम गरिरहेको उल्लेख गर्दै विद्यालयका अतिरिक्त क्रियाकलापलाई प्रभावकारी बनाउन विद्यालयमा नृत्य प्रशिक्षक तथा खेल शिक्षकको व्यवस्थापन गर्ने कामको सुरुवात गरिएकोमा आगामी दिनमा त्यसलाई सबै विद्यालयसम्म प्रभावकारी रुपमा पु¥याउने गरी काम भइरहेको बताउनुभयो ।
विद्यालय प्राङ्गणमा सञ्चालित प्रतियोगितामा पहिलो दिन लिग चरणमा खेल सञ्चालन भएका छन् । पहिलो चरणको सुरुको खेलमा आयोजक तेर्से माविले थाङ्पाल भ्यालीलाई पराजित गर्दै विजेता बन्न सफल भएको छ भने हेलम्बु मोडेल स्कूलले इन्द्रेश्वरी माविलाई, ज्योतिभञ्ज्याङ् आविले बतासे माविलाई, जाल्पादेवी मावि जैसिगाउँले सिन्धुपुरानागाउँ माविलाई, बालसुधार माविले धौलेश्वरी आविलाई र चण्डिका माविले सर्वोदय माविलाई पराजित गर्दै बिजेता बन्न सफल भएका छन् । लिग चरणका बाँकी खेलसहित शनिबार क्वाटरफाइनलका खेल हुने आयोजकले जानकारी दिएको छ । रासस
प्रतिक्रिया