काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छाड्ने काठमाडौं जिल्ला अदालतको आदेश बदर गरी थुनामा राख्न मागसहित उच्च अदालत पाटनमा निवेदन दायर भएको छ ।
काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत रकम अपचलनको कसुरमा धरौटीमा छाड्ने आदेश त्रुटिपूर्ण रहेको भन्दै उच्च सरकारी वकिलले आइतबार उच्च अदालत पाटनमा निवेदन दायर गरेको हो ।
उच्च सरकारी वकिलले लामिछानेसहित गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वसञ्चालक छविलाल जोशी, स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीका निवर्तमान लेखा समिति सदस्य सुनिता नेवा र वर्तमान कर्जा उपसमिति सदस्य कमल लामाविरुद्ध निवेदन दायर गरेको हो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले २ माघमा लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश अधिकारीले लामिछानेका अलावा जोशीसँग ५० लाख, नेवासँग ४ लाख र लामासँग ३ लाख धरौटी माग गरेको थियो । जिल्ला अदालतको आदेशकै दिन चारै जना धरौटी रकम तिरेर छुटिसकेका छन् ।
यसअघि पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलनको कसुरमा धरौटीमा छाड्ने आदेश त्रुटिपूर्ण रहेको भन्दै उच्च सरकारी वकिल कार्यालय पोखराले पनि लामिछानेविरुद्ध उच्च अदालत पोखरामा निवेदन दायर गरेको थियो । लामिछानेलाई जिल्ला अदालत पोखराले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
स्रोतका अनुसार उच्च अदालत पाटनमा सोमबार दायर निवेदनमा विभिन्न प्रमाणबाट लामिछानेसहित चारै जना सहकारी ठगी र संगठित अपराधमा संलग्न रहेको पुष्टि हुने उल्लेख छ । जिल्ला अदालतको आदेशमा समेत अहिले नै निर्दोष रहेछन् भन्ने ठहर गर्न नसकिने भन्दै ती विषय समेटिएकामा आदेश मात्र थुनामा राख्ने नभएको निवेदनमा उल्लेख गरिएको छ ।
२९ पृष्ठको निवेदनमा भनिएको छ, ‘सो सहकारीमा गोरखा मिडियाका प्रबन्ध निर्देशक रविसमेतले विभिन्न ऋण खाता खोलेर रकम प्राप्त गरेको देखिएको समेतबाट प्रतिवादी जीबी राईसमेतको संगठित समूहले विभिन्न प्रलोभन देखाई आफूले सञ्चालन गरेको सहकारीमा बचतकर्ताहरूलाई आकर्षक ब्याज प्रदान गर्ने भनेर रकम बचत गर्न लगाएको, सो रकम बेइमानीपूर्वक आफ्नो समूहले सञ्चालन गरेको रवि र छविलालसमेत विभिन्न कम्पनीहरूमा सहकारीको मूल्य, मान्यता, नियमविपरीत ती कम्पनीमा बिनाधितो ऋण, पेश्कीलगायतका रकम प्रवाह गराई सो रकम आफ्नो व्यक्तिगत काममा आफ्नो अनुकूल खर्च गरी यी प्रतिवादीले गोरखा मिडियाको आवरणमा सहकारी संस्थामा बचतकर्ताहरूले निक्षेप गरेको रकम आफ्नो कम्पनीमा ल्याई ठगी गर्ने कार्यमा संलग्नता रहेको पुष्टि भएको देखिन्छ ।’
उच्चका वकिलले दिएको निवेदनमा लामिछानेले गोर्खा मिडिया नेटवर्क प्रालिको सञ्चालक समितिसमक्ष सेयर खरिद गरी पाऊँ भनेर निवेदन दिएको, गोर्खा मिडियाको २० चैत २०७७ मा बसेको बैठकमा जगेडामा रहेको सेयरमध्ये १ लाख ८० हजार सेयर लामिछानेलाई खरिद गर्ने अनुमति दिने निर्णय भएको उल्लेख छ ।
यस्तै, ग्लोबल आईएमई बैंकमा लामिछाने, छविलाल जोशी र जीबी राईमध्ये कुनै एक जनाको हस्ताक्षर र कार्यालय छापबाट सञ्चालन हुनेगरी खातासमेत खोलिएको, नबिल बैंकमा रहेको बैंक खाता लामिछाने र जीबी दुबै जनाको अनिवार्य हस्ताक्षर र कार्यालयको छापबाट सञ्चालन भएको निवेदनमा उल्लेख गरिएको छ ।
यस्तै, ग्लोबल आईएमई बैंकबाट जारी भएका चेकहरूमार्फत स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको नाममा चेक काटेर भुक्तानी गरेकाले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने माग उच्च सरकारी वकिलले गरेको छ ।
‘गोरखा मिडिया नेटवर्क प्रालिको ग्लोबल आईएमई बैंकमा रहेको खाताबाट जारी भएको प्रतिवादी रवि लामिछानेको हस्ताक्षर रहेको चेकमार्फत स्वर्णलक्ष्मीको नाममा काटिएको देहायका १६ थान चेकहरूबाट जम्मा नगद ९० लाख १६ हजार ६ सय ६० रुपैयाँ सहकारीलाई भुक्तानी गरेको देखिन्छ,’ निवेदनमा उल्लेख गरिएको छ ।
त्यस्तै, सोही बैंक खातामा स्वर्णलक्षमीको नामबाट सिधै निक्षेप हुनेगरी २ करोड ६५ लाख रुपैयाँ आएको थियो । जसमध्ये २ करोड ४० लाख लामिछाने सेयर सदस्य तथा प्रबन्ध निर्देशक हुँदा प्रत्यक्ष रूपमा निक्षेप हुन आएको पनि निवेदनमा उल्लेख गरिएको छ ।
यस्तै, ग्लोबल आईएमई बैंककै खाताबाट १९ नोभेम्बर २०२० देखि २४ जुलाई २०२२ बीच लामिछानेको हस्ताक्षरबाट ८ सय २० वटा चेक विभिन्न शीर्षकमा जम्मा ४९ करोड १८ लाख ४१ हजार २ सय ४६ रुपैयाँको वित्तीय कारोबार गरेको सरकारी वकिलले जिकिर गरेको छ ।
‘सहकारीमा जाहेरवालाहरूसमेतले बचत गरेको रकम ठगी गरी अवैध रूपमा गोरखा मिडियाको बैंक खातामा रकमान्तर गरी गराई यी प्रतिवादी लामिछानेले अवैध रूपमा प्राप्त भएको रकम हो भन्ने कुरा जानीजानी प्रयोग गरी÷धारण गरी वित्तीय कारोबार गरेको देखिन्छ,’ निवेदनमा उल्लेख छ ।
यस्तै, १३ सेप्टेम्बर २०२० देखि १४ फेब्रुअरी २०२४ बीच लामिछाने र अन्य सञ्चालकबाट जम्मा १ हजार २ सय ३७ वटा चेकबाट ५९ करोड ४९ लाख ४४ हजार ९ सय ५५ रुपैयाँको चेक जारी भएको, स्वर्णलक्ष्मीको जीसीएस बैंकिङ सफ्टवेयर सिस्टममा पनि लामिछाने र जीबीको नाममा ऋण खाता भेटिएको, जसबाट ४ भदौ २०७८ मा फोरह्वीलर लोनका लागि १४ दशमलव ७५ प्रतिशत ब्याजदरमा ३२ लाख २१ हजार ६ सय ३३ रुपैयाँ र १ मंसिर २०७८ मा इको सेभेन सिटर भ्यानका लागि १४ दशमलव ७५ प्रतिशत ब्याजदरमा ५६ लाख ४८ हजारको ऋण लिएको उल्लेख छ ।
‘लामिछानेले गोरखा मिडियाका नाममा ग्लोबल बैंकको खाताबाट जारी भएको चेकमार्फत स्वर्णलक्ष्मी सहकारीको कुमारी बैंकमा रहेको खातामा भुक्तानी गरेको र सो रकम भुक्तानी भएपछि लामिछाने र जीबीको स्वर्णलक्ष्मी सहकारीमा रहेको ऋण खातामा जनाई हिसाब मिलान गरिएको अनुसन्धानका क्रममा संकलन भएको मिसिल संलग्न कागजातहरूबाट स्पष्ट रूपमा देखिएको हुँदा लामिछानेले स्वर्णलक्ष्मी सहकारीको रकम अपचालन गरी ठगी गरेको कुरा स्पष्ट रूपमा देखिएको छ,’ सरकारी वकिलले निवेदनमा भनेको छ ।
जीबी र लामिछानेको नाममा खोलिएको ऋण खाताबाट विभिन्न शीर्षकमा ८२ लाख ९७ हजार ६ सय रुपैयाँ पेश्की एवं ऋण स्वरूपमा लिएको रकमको चेकमा लामिछाने आफैंले सही गरेर सहकारीलाई फिर्ता गरेको पनि निवेदनमा उल्लेख छ । राजधानी दैनिक बाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया