असार २८, २०८३ आइतबार July 12, 2026

“एमसीसी जस्ताको तस्तै पारित हुने खतरा देखिएपछि व्याख्यात्मक टिप्पणीसहित पारित गर्न बाध्य भयौं”- प्रचण्ड

व्याख्यात्मक टिप्पणीसहित अनुमोदन नभएको भए एमसीसी जस्ताको तस्तै पारित हुने थियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी सम्झौता जस्ताको तस्तै पारित हुने गम्भीर खतरा देखिएपछि व्याख्यात्मक टिप्पणीसहित पारित गर्न बाध्य भएको बताएका छन्।

लीलामणि पोखरेलद्वारा लिखित ‘नेपालमा एमसीसी’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले सुरु देखिनै एमसीसीबारे गहिरो अध्ययन र बहस गरेको स्मरण गरे। “नेकपा कालमा मैले नै कार्यदल गठन गरेर एमसीसीबारे के गर्ने भन्ने विषयमा अध्ययन गराएको थिएँ,” उनले भने, “कार्यदलले अनुमोदन गर्न हुँदैन भन्ने निष्कर्षसहित प्रतिवेदन दिएको थियो।”

उनका अनुसार तत्कालीन परराष्ट्रमन्त्रीले नेपाल आइपीएसमा सहभागी नभएको दाबी गरे पनि अमेरिकाले नेपाललाई सहभागी राष्ट्र घोषणा गरेपछि मन्त्रीले पार्टी र जनतालाई ढाटेको स्पष्ट भयो। सो समयमा नेपाली काँग्रेस एमसीसीलाई जस्ताको तस्तै पारित गर्न जोडदार लागिपरेको थियो भने एमाले नेतृत्व पनि काँग्रेसभन्दा बढी अडानका साथ कुनै परिवर्तन नगरी पारित गर्नुपर्ने पक्षमा रहेको प्रचण्डको भनाइ थियो।

“यदि एमाले संशोधनका लागि तयार हुने हो भने नेतृत्व दिन पनि हामी तयार थियौँ,” प्रचण्डले भने, “तर दुवै पार्टीको अडान देखेपछि संशोधन सम्भव नहुने ठानेर व्याख्यात्मक टिप्पणीसहित संसदबाट पारित गर्न बाध्य भयौं। अनुमोदन नभएको अवस्थामा यो जस्ताको तस्तै पारित हुने खतरा थियो।”

उनले माओवादी केन्द्रले एमसीसी र आइपीएसप्रति सबैभन्दा स्पष्ट र दृढ अडान राखेको दाबी गर्दै भविष्यमा कुनै ‘बदमासी’ भए त्यसविरुद्ध आन्दोलन गर्न सकिने आधारका रूपमा व्याख्यात्मक टिप्पणी रहेको बताए।

पुस्तक विमोचन कार्यक्रममा माओवादी केन्द्रका शीर्ष नेताहरू, लेखक लीलामणि पोखरेल तथा विभिन्न बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया