काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले प्रधानमन्त्री सुशीला कार्कीसँग विदाइ भेट गर्नुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बुधबार बिहान भएको भेटमा आईजीपी खापुङले आफ्नो कार्यकालमा सरकारबाट पाएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभएको थियो। उहाँले प्रहरी संगठनलाई व्यावसायिक, सक्षम र जनमुखी बनाउने क्रममा सरकारको सहयोगले ठूलो योगदान पुर्याएको उल्लेख गर्नुभयो।
प्रधानमन्त्री कार्कीले खापुङको कार्यकाल सफल र प्रभावकारी रहेको बताउँदै उहाँको नेतृत्वमा प्रहरी संगठनले देशभर शान्ति–सुरक्षा, अपराध नियन्त्रण र कानून कार्यान्वयनमा उल्लेखनीय काम गरेको मूल्याङ्कन गर्नुभयो। उहाँले आगामी दिनमा पनि खापुङको अनुभव र सल्लाहले मुलुकलाई उपयोगी योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
भेटका क्रममा नव–नियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्की पनि उपस्थित रहनुभएको थियो। प्रधानमन्त्री कार्कीले नव–नियुक्त आईजीपीलाई बधाई दिँदै संगठनमा पारदर्शिता, जवाफदेहिता र जनसेवामुखी प्रहरी प्रणालीलाई अझ सुदृढ बनाउन निर्देशन दिनुभएको थियो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया