असोज २४, २०८३ शनिबार October 10, 2026

विशेष महाधिवेशन पक्का

विशेष महाधिवेशन माग गरेको तीन महिनाभित्र बोलाउनुपर्ने व्यवस्था विधानमा भए पनि केन्द्रीय समितिले नबोलाएको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : नेपाली कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागबमोजिम महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा हुन लागेको विशेष महाधिवेशनको माहोल बलियो बन्दै गएको छ । पार्टीको आधिकारिक निर्णयले विशेष महाधिवेशनको औचित्य समाप्त भएको निष्कर्षसहित प्रतिनिधिलाई सहभागी नहुन ह्वीप जारी गरे पनि त्यसको उल्लेख्य प्रभाव देखिएन ।

केही दिनअघिसम्म विशेष महाधिवेशनभन्दा समयमै नियमित महाधिवेशनको पक्षमा उभिएका धेरै नेताहरू नियमित महाधिवेशन सारिएसँगै विशेषकै भेलामा मिसिएका छन् । शुक्रबार संस्थापनइतर समूहका नेताहरू डा. चन्द्र भण्डारी र डा. सुनिल शर्माले विशेष महाधिवेशनस्थलको अवलोकन गरेर विशेषकै पक्षमा उभिएको सन्देश दिएका छन् । सोही क्रममा महामन्त्री विश्वप्रकाश शर्माले आफूहरूले पार्टीको विधानअनुसार नै विशेष महाधिवेशन आह्वान गरेको बताउँदै थप ५ सय प्रतिनिधि बढ्ने दाबी गरे । ‘विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका ५४ प्रतिशतमध्ये २४ जनाले नाम फिर्ता लिएको र करिब ५ सय जना महाधिवेशन प्रतिनिधि थप हुँदै छन् ।’

विशेष महाधिवेशनको पक्षमा कोशी प्रदेशबाट ४ सय ६९, मधेश प्रदेशबाट ४ सय १९, बागमती ४ सय १९, गण्डकी २ सय ५९, लुम्बीनी ३ सय ८५, सुदूरपश्चिम १ सय ४०, कर्णाली १ सय ३७ र शुभेच्छुक, भ्रातृ तथा विदेश सम्पर्क समितिबाट १ सय ८७ गरी २ हजार ४ सय ८८ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन् । विशेष महाधिवेशनको तयारी भएपछि कोशी, मधेश, बागमती प्रदेशबाट प्रतिनिधि बढ्ने क्रममा रहेका छन् । यही बीचमा देशभरका ३८ जिल्ला सभापतिले समेत विशेष महाधिवेशनको पक्षमा लिखित आह्वान गरेका छन् । बाँकी कतिपय जिल्लामा उपसभापति र सचिवहरूले हस्ताक्षर गरेर विशेष महाधिवेशनको आह्वान गरेका छन् । संस्थापन पक्षका २५ जना केन्द्रीय सदस्यहरूले समेत विशेष महाधिवेशन विधिसम्मत भएकाले पार्टीले यसलाई ग्रहण गर्नुपर्ने नेतृत्वमाथि दबाब बढाएका छन् । नेताहरूले विशेष महाधिवेशनविरुद्ध लाग्नेभन्दा पनि यसलाई स्वीकार गरेर समस्या समाधानका नयाँ कोणबाट छलफल गर्नुपर्ने डा. डिला संग्रौलाले बताइन् ।

संस्थापनइतर समूहका नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर विवाद समाधान गर्न सुझाएका छन् । उनले विशेष महाधिवेशनको भेला स्विकार्दै पार्टीको आधिकारिक सहभागितामा संकल्प महाधिवेशनका रूपमा लैजान सकिने मध्यमार्गी बाटो खोज्न देउवालाई दबाब दिँदै आएको उनको सचिवालयले जनाएको छ । सभापति देउवाले समेत पार्टीलाई विभाजन हुन नदिन प्रयत्न गर्ने जनाएका छन् ।

विशेष पक्ष र विशेष रोक्ने पक्षका नेताबीच आवश्यक संवादलाई निरन्तर जारी राखेको नेता प्रदीप पौडेलको भनाइ छ । तर केही नेताहरू अझै मिलाउने पक्ष नदेखिएको केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए । ‘विधानले दिएको विशेष महाधिवेशन रोक्नका लागि आवधिक महाधिवेशन गर्नुपथ्र्यो,’ उनले मध्यान्हसँग भने, ‘समयमा नियमित महाधिवेशन नभएपछि ५४ प्रतिशत प्रतिनिधिहरूले बोलाएको विशेष महाधिवेशनलाई पार्टीले ग्रहण गर्नुपर्नेमा त्यसो हुन सकेन । अब विशेष महाधिवेशनको विकल्प रहेन ।’ अझै पार्टी समस्या समाधानका उपाय हुन सक्ने भए पनि केही नेताहरूका कारण विवाद निरुपण हुन नदिइएको उनले बताए । ‘केही नेताहरू अझै जिम्मेवार रूपमा प्रस्तुत हुनुभएको छैन,’ उनले भने ।

संस्थापन पक्षका शीर्ष नेताहरूले विशेष महाधिवेशनलाई अस्वीकार गर्दै तल्लो तहका नेता कार्यकर्तालाई तारन्तार फोन गरेर विशेष महाधिवेशमा सहभागी नहुन आह्वान गरिरहेका छन् । विशेष महाधिवेशन गर्ने र रोक्नेबीचको दूरी बढ्दै गए पनि शीर्ष तहमा समन्वयत्मक छलफल जारी छ । तर पूर्वपदाधिकारीहरूले विशेष महाधिवेशनमा जति सक्दो प्रतिनिधि रोकेर बहुमत पु¥याउन नदिने पक्षमा छन् । यद्यपि उनीहरूको केही नचल्ने अवस्था सिर्जना हुँदै गएको विशेष पक्षका नेताहरूले दाबी गरेका छन् । विशेष महाधिवेशन पक्षमा देशभरबाट महाधिवेशन प्रतिनिधि संख्या बढ्ने क्रममा रहेको विशेष महाधिवेशन पक्षका नेता सुवास पोखरेलले बताए । ‘शीर्ष नेताहरूले विशेष महाधिवेशनबाट पार्टी फुट्छ भन्ने हल्ला चलाएर प्रतिनिधिलाई रोक्ने अनेकन प्रयास गर्दा पनि उहाँहरू असफल हुनुभएको छ । विशेषका पक्षमा माहोल व्यापक बन्दै गएको छ ।’

पार्टी सभापति शेरबहादुर देउवा र उनको पक्षका नेताहरूले विशेष महाधिवेशनको मागलाई कुनै एजेन्डा नै नबनाएपछि महामन्त्रीहरूले विशेषका पक्षमा बलियोसँग उभिएका छन् ।  १५औं आवधिक महाधिवेशन गर्न पार्टीले वैशाख २७–३० सम्मको कार्यतालिका सार्वजनिक गरेको छ । तर असोज २९ गते विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका नेताहरूले सो निर्णयलाई अस्वीकार गरेका छन् । नेपाली कांग्रेसभित्र २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित माग गरेका प्रतिनिधिलाई पुस २७ र २८ गते काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने तयारी छ ।

विशेष महाधिवेशन माग गरेको तीन महिनाभित्र बोलाउनुपर्ने व्यवस्था विधानमा भए पनि केन्द्रीय समितिले नबोलाएको भन्दै उनीहरूले पुस २३ गते आफैं विशेष महाधिवेशन आह्वान गरेका हुन् । उनीहरूको आह्वानमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले ऐक्यबद्धता जनाएका छन् । पुस १८ र २४ गते बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले नियमित १५औं महाधिवेशन प्रक्रिया सुरु भइसकेकाले सोही अवधिमा गर्न भनी माग गरिएको विशेष महाधिवेशनको औचित्य सकिएको निर्णय गरेको थियो ।

विशेष महाधिवेशनको सबै तयारी अन्तिम चरणमा पुगेको बताइएको छ ।  मञ्च व्यवस्थापनको काम धमाधम भइरहेको छ । आयोजकले देशभरका महाधिवेशन प्रतिनिधिको तथ्यांक संकलन र व्यवस्थापन, स्वयंसेवक व्यवस्थापन, मिडिया सेन्टर व्यवस्थापन, सांस्कृतिक कार्यक्रमदेखि प्रतिनिधि सहभागीको रुटसमेत तय गरिसकेको छ ।

कार्यसम्पादन समितिको अपिल नसुनेर महामन्त्री थापा–शर्मासहित विशेष महाधिवेशन पक्षधरले महाधिवेशनको तयारी तीव्र बनाएपछि संस्थापनका तर्फबाट शुक्रबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्ने तयारी थियो । तर उक्त पत्रकार सम्मेलनमा नेता शेखर कोइराला नजाने भएपछि पत्रकार सम्मेलन स्थगित गरेर कार्यवाहक सभापति खड्का सहमति खोज्ने प्रयासमा रहेको उनीनिकट नेताहरूले बताएका छन् ।  मध्यान्ह दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
२०८३ असोज २४, शनिबार
पूर्व न्यायाधीशलाई नोबेल पुरस्कार दिएको केही घण्टापछि आइसीसीमाथि अमेरिकी प्रतिबन्ध
२०८३ असोज २४, शनिबार
संघीय निजामति विधेयक २०८३ : ३०-५५ को अवकाश प्रावधानले कर्मचारी वृत्तमा त्रास
२०८३ असोज २४, शनिबार
भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता
२०८३ असोज २४, शनिबार
सुर्खेतका तीन स्थानका जंगलबाट १८ नाल भरुवा बन्दुक बरामद
२०८३ असोज २४, शनिबार
चौध लाखभन्दा बढीका सामान र ई-लोडर बरामद
२०८३ असोज २४, शनिबार
सुन तस्करीमा चिनियाँ नयाँ समूह : २१ किलो ७५० ग्राम सुनसहित तीन जना बुढानीलकण्ठबाट पक्राउ
२०८३ असोज २४, शनिबार