माघ ६, २०८२ मंगलबार January 20, 2026

बाबुराम भट्टराई गोरखा–२ बाटै प्रत्यक्ष चुनाव लड्ने

एमालेका चक्र मिलन र रास्वपाका कविन्द्र बुर्लाकोटीलाई धुलो चटाउने रणनितीमा बाबुराम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आगामी आमनिर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने तयारी गरेका छन् । उनी आफ्नो गृहजिल्ला गोरखाको क्षेत्र नम्बर दुईबाट प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) को उम्मेदवार बन्न लागेका हुन् ।

स्थानीय मतदाताबाट निकै माग भएकाले भट्टराईलाई सो क्षेत्रमा उम्मेदवारीका लागि आग्रह गरिएको पार्टीका प्रवक्ता सन्तोष परियारले बताए । डा. भट्टराईबाट पनि सकारात्मक जवाफ आएको उनको भनाइ छ ।

‘अहिलेसम्म उहाँ उठ्नुहुन्छ भन्ने नै हो, औपचारिक निर्णय भोलि हुन्छ,’ परियारले भने ।

गोरखा २ मा एमालेले गुण्डागर्दी पृष्ठभूमिका चक्र मिलन (मिलन गुरुङ) उम्मेदवार बनाएको छ । यस निर्वाचन क्षेत्रबाट अघिल्लो चुनावमा माओवादी अध्यक्ष प्रचण्ड विजयी बनेका थिए । यसपटक उनी निर्वाचन क्षेत्र फेरेर रुकुम पुगेका छन् । नेपाली कम्युनिष्ट पार्टीले लेखनाथ न्यौपानेलाई टिकट दिएको छ । रास्वपाबाट कविन्द्र बुर्लाकोटी उम्मेदवार बन्दैछन् ।

भट्टराईले २०७० र २०७४ सालको चुनावमा गोरखा २ बाट जितेका थिए । २०७९ को चुनावमा उनले प्रचण्डलाई समर्थन गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया