कार्तिक २, २०८३ सोमबार October 19, 2026

नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्छ : सभामुख अर्याल

नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्न सकिने भनाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घले अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने मान्यता दिएसँगै आज सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा उहाँले आरोग्यको अवधारणालाई समग्र मानव जीवनसँग जोड्दै यसलाई विश्वव्यापी प्राथमिकताका रूपमा स्थापित गर्नु आवश्यक रहेको बताउनुभयो ।

“आरोग्य केवल रोग नहुनु मात्र होइन, यो शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक, आध्यात्मिक र वातावरणीय सन्तुलनको समग्र अवस्था हो”, उहाँले भन्नुभयो ।

सभामुख अर्यालले विश्वमा बढ्दो द्वन्द्व, जलवायु सङ्कट र मानसिक तनावका बीच आरोग्यलाई मानवताको आशाको किरणका रूपमा लिनुपर्ने बताउनुभयो । नेपाललाई आरोग्य पर्यटनको प्रमुख गन्तव्यका रूपमा विकास गर्न सकिने उहाँको भनाइ थियो ।

“हामीसँग हिमाल, संस्कृति, आध्यात्मिक परम्परा र प्राकृतिक सम्पदा छ, अब सङ्ख्याभन्दा गुणस्तरीय पर्यटनमा केन्द्रित हुँदै नेपाललाई उच्च मूल्य र गहिरो अनुभव दिने गन्तव्यका रूपमा स्थापित गर्नुपर्छ”, सभामुख अर्यालले भन्नुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले आरोग्यलाई जीवनशैलीसँग जोड्नुपर्ने बताउनुभयो । “आरोग्य भनेको भागदौडबाट भाग्नु होइन, आफ्नैभित्र फर्किने साहस हो, यो आत्माको मौनता बुझ्ने कला हो”, उहाँले भन्नुभयो ।

विश्वमा एक अर्बभन्दा बढी मानिस मानसिक तनावबाट प्रभावित रहेकाले अहिलेको विश्वमा आरोग्य अति आवश्यक भएको उहाँको भनाइ थियो । विश्वले खोजेको शान्ति नेपालले दिन सक्ने मन्त्री पौडेलले बताउनुभयो । सोही अवसरमा उहाँले आगामी वर्षका लागि ‘नेपाल आरोग्य वर्ष २०२७’ समेत घोषणा गर्नुभयो ।

कार्यक्रममा जीवन विज्ञान विशेषज्ञ एलपी भानु शर्माले आरोग्य प्रवर्द्धनका लागि दीर्घकालीन संरचना आवश्यक रहेको बताउनुभयो । उहाँले आरोग्य पर्यटनलाई व्यवस्थित बनाउँदै आर्थिक समृद्धिसँग जोड्न उच्चस्तरीय आयोग गठन गरिनुपर्ने, ‘वेलनेस सर्किट’ निर्माण, वेलनेस भिसा र दीर्घकालीन बसाइ नीतिको खाँचो रहेको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया