मनाङ, १७ वैशाखः गायक एवम् सङ्गीतकार विनोद गुरुङ १५ वर्षपछि पुनः सङ्गीत क्षेत्रमा फर्किनुभएको छ । गायक, पर्यटन व्यवसायी, समाजसेवी एवम् फिल्म निर्माणमा सक्रिय गुरुङ लामो समयपछि नयाँ गीत ‘हिम घोडा’ सार्वजनिक गर्दै सङ्गीत क्षेत्रमा फर्किनुभएको हो ।
लामो समयपछि पुनः सङ्गीतमा फर्किनुभएका उहाँले भन्नुभयो,“पुनः सङ्गीत क्षेत्रमा आउने सपना पूरा भएको छ । मेरो लागि गीतसङ्गीत भनेको एक साधना हो, जसले मलाई सधैँ ऊर्जा र प्रेरणा दिन्छ ।”
विगतमा देशमा भएका विभिन्न महामारीजन्य घटना र मनाङमा बाढीपहिरोजस्ता विपद्ले गर्दा गीतसङ्गीतभन्दा समाजसेवालाई समय दिनुपरेको गुरुङले सुनाउनुभयो । अब भने यसै क्षेत्रमा निरन्तर लागिरहेने उहाँको प्रतिबद्धता छ ।
‘हिम घोडा’ गीतमा शब्द तथा सङ्गीत अशुसेन लामाले गर्नुभएको छ भने सङ्गीत संयोजन राजु खड्काले गर्नुभएको छ । यस गीतको छायाङ्कन मनाङका विभिन्न रमणीयस्थलमा गरिएको छ । गीतले मनाङको प्राकृतिक सुन्दरता झल्काउँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा समेत योगदान पु¥याउने विश्वास गरिएको छ ।
गायक गुरुङले ‘हिम घोडा’ मार्फत आफ्नो पुनरागमन मात्र नभई नेपाली सङ्गीत क्षेत्रमा नयाँ ऊर्जा र उत्साह थप्ने अपेक्षा गरिएको छ । उहाँको गीत, सङ्गीतमा मनाङको संस्कृति, संस्कार र प्राकृतिक सौन्दर्यता समावेश भएको पाइन्छ । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया