जेठ ६, २०८३ बुधबार May 20, 2026

इरानको कडा चेतावनी : फेरि आक्रमण भए युद्ध मध्यपूर्वभन्दा बाहिर फैलिने

मध्यपूर्व फेरि युद्धको संघारमा : इरानको प्रतिशोधात्मक कारबाहीको चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तेहरान, ६ जेठ (रासस/एएफपी) :इरानको रिभोलुसनरी गार्ड्सले अमेरिका र इजरायलले पुनः आक्रमण सुरु गरेमा मध्यपूर्वमा जारी तनाव क्षेत्रीय सीमाभन्दा बाहिर फैलिने चेतावनी दिँदै कडा प्रतिक्रिया दिने वाचा गरेको छ । सम्भावित पुनः सङ्घर्षबारे बढ्दो आशङ्काबीच तेहरानले यस्तो कठोर सन्देश सार्वजनिक गरेको हो ।

रिभोलुसनरी गार्ड्सले आफ्नो वेबसाइट ‘सेपाह न्युज’ मार्फत जारी गरेको विज्ञप्तिमा यदि इरानविरुद्ध आक्रमण दोहोरियो भने ‘यस पटकको क्षेत्रीय युद्ध अझ टाढासम्म फैलिनेछ’ र प्रतिशोधात्मक कारबाही अत्यन्त विनाशकारी हुनेछ भनिएको छ । विज्ञप्तिमा अमेरिकालाई लक्षित गर्दै कठोर शब्दमा चेतावनी दिइएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दिनमा दीर्घकालीन सम्झौता नभए वासिङ्टनले इरानमाथि पुनः सैन्य कारबाही गर्न सक्ने सङ्केत गर्नुभएको छ । पछिल्लो समय दुवै पक्षबीच वार्ता प्रयाससँगै धम्कीपूर्ण अभिव्यक्तिहरू पनि तीव्र बनेका छन् ।

फेब्रुअरी २८ बाट सुरु भएको भनिएको युद्धपछि दुवै पक्षले आ–आफ्ना प्रस्ताव आदानप्रदान गर्दै आएका छन् । अप्रिल ८ देखि अस्थायी युद्धविराम लागू भए पनि स्थायी समाधान अझै टुङ्गोमा पुगेको छैन ।

रिभोलुसनरी गाड्र्सले जारी विज्ञप्तिमा ‘अमेरिकी–जायोनिस्ट शत्रु’ लाई सम्बोधन गर्दै उनीहरूले सम्पूर्ण सैन्य क्षमताको पूर्ण प्रयोग गरेर आक्रमण गरे पनि इरानले अझै आफ्नो पूर्ण शक्ति प्रदर्शन नगरेको दाबी गरिएको छ ।

करिब ४० दिन लामो सङ्घर्षमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी लगायत शीर्ष नेताहरू मारिएको दाबी गरिएको छ, जसपछि तेहरानले विभिन्न क्षेत्रमा प्रतिकारस्वरूप क्षेप्यास्त्र र ड्रोन आक्रमणहरू गरेको उल्लेख गरिएको छ ।

अमेरिकी पक्षबाट मङ्गलबार सार्वजनिक भनाइअनुसार यदि सम्झौता नभए केही दिनभित्र पुनः आक्रमण सुरु हुन सक्ने चेतावनी दिइएको छ । राष्ट्रपति ट्रम्पले एक दिनअघि खाडी मुलुकका नेताहरूले उहाँलाई निश्चित समयमा आक्रमण रोक्न आग्रह गरेको दाबी पनि गर्नुभएको थियो । उहाँले ‘दुई–तीन दिन, सम्भवतः शुक्रबार वा आइतबार, वा अर्को हप्ताको सुरुआत’ भित्र निर्णय हुन सक्ने बताउनुभएको थियो ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जाल एक्समा लेख्दै युद्धमा पुनः फर्कनु परेमा अझै ठूलो र अप्रत्याशित परिणाम देखा पर्ने चेतावनी दिनुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया