जेठ ७, २०८३ बिहिबार May 21, 2026

विश्वका ९० देशका पत्रकार बेइजिङमा

द्रुत रूपमा बदलिँदो विश्व सञ्चार वातावरणमा पत्रकारहरूको भूमिका अझै महत्त्वपूर्ण बन्दै गएको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बेइजिङ, जेठ ७ गते । चीनको परराष्ट्र मन्त्रालय, पब्लिक डिप्लोमेसी एसोसिएसन र रनमिन युनिभर्सिटी अफ चाइनाको संयुक्त आयोजनामा  ‘चाइना इन्टरनेशनल प्रेस कम्युनिकेसन सेन्टर (सीआइपीसीसी) २०२६’ कार्यक्रमको बिहीबार बेइजिङमा सुरुभएको छ ।

९० देशका ९८ पत्रकार सहभागी कार्यक्रमको मुख्य उद्देश्य विभिन्न देशका सञ्चारकर्मीबिच अनुभव आदान–प्रदान र ग्लोबल साउथ (विकासोन्मुख राष्ट्रहरू) सहकार्यलाई सघन बनाउनु रहेको आयोजकको भनाइ छ।

उद्घाटन समारोहमा चिनियाँ वरिष्ठ अधिकारी, कूटनीतिज्ञ, शिक्षाविद् तथा एसिया, अफ्रिका, ल्याटिन अमेरिका, मध्यपूर्व, युरेसिया र मध्य तथा पूर्वी युरोपका सहभागी पत्रकारले सम्बोधन गरेका छन् ।

प्रमुख वक्ताका रुपमा सहायक परराष्ट्रमन्त्री होङ लईले ९० देशका पत्रकारहरूको सहभागिताले ग्लोबल साउथको एकता र सहकार्यको उत्कृष्ट नमुनालाई प्रदर्शन गरेको बताउनुभयो । चिनियाँ आधुनिकीकरणप्रति अन्तर्राष्ट्रिय चासो बढिरहेका बेला सीआइपीसीसीले चीनको झ्याल र पुलको काम गरेको उहाँको भनाइ छ।

होङले चीनको अर्थतन्त्र १४० खर्ब युआनभन्दा बढी पुगेको र लगातार आठ वर्षदेखि विश्वको कूल आर्थिक वृद्धिमा करिब ३० प्रतिशत योगदान गरेको तथ्यांक सुनाउँदै कृत्रिम बौद्धिकता (एआई), नवीकरणीय ऊर्जा, औद्योगिक रोबोटिक्स, गरिबी निवारण र सामाजिक कल्याणमा हासिल गरेको प्रगति पनि प्रस्तुत गर्नुभयो । उहाँले चीनको विकास मोडललाई अन्य विकासोन्मुख राष्ट्रहरूका लागि सम्भावित सन्दर्भ बिन्दुका रूपमा प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा चीन पब्लिक डिप्लोमेसी एसोसिएसनकी उपाध्यक्ष थोङ स्याओलिङले पत्रकारलाई जनता–जनताबिचको सम्बन्धको सेतुको संज्ञा दिँदै वैश्विक उथलपुथल र भूराजनीतिक अनिश्चितताकाबिच अन्तरसांस्कृतिक सञ्चारको बढ्दो महत्त्व औंल्याउनुभयो ।

रनमिन युनिभर्सिटी अफ चाइनाका अध्यक्ष मा ह्वाइतले द्रुत रूपमा बदलिँदो विश्व सञ्चार वातावरणमा पत्रकारहरूको भूमिका अझै महत्त्वपूर्ण बन्दै गएको उल्लेख गर्नुभयो ।

सीआईपीसीसी सहभागी पत्रकारहरूले चीनको बेइजिङ–तियान्जिन–हेबेई क्षेत्र, याङ्त्जे नदी डेल्टा, ग्रेटर बे एरिया र पश्चिमी चीनका धेरै क्षेत्रहरू भ्रमण गर्ने कार्यक्रम रहेको छ । यस कार्यक्रमअन्तर्गत प्रविधि कम्पनी, ग्रामीण समुदाय, कारखाना, विद्यालय र सांस्कृतिक स्थलहरूको अवलोकनका साथै चीनको आर्थिक विकास, शासन प्रणाली, आधुनिकीकरण र सभ्यतासम्बन्धी सेमिनारहरू समावेश छन् । विभिन्न बहुपक्षीय मञ्चले आयोजना गर्ने उच्चस्तरीय कार्यक्रममा पनि यी पत्रकारहरु सहभागी हुनेछन् । नेपालबाट पत्रकार रामबहादुर रावल सहभागी हुनुहुन्छ ।

सहायक परराष्ट्रमन्त्री होङले सहभागी पत्रकारलाई वस्तुपरक र सत्यको अभिलेखकर्ता बन्न आग्रह गर्दै भने, “म आशा गर्दछु कि तपाईंहरू मित्रताका प्रवर्धक बन्नुहोस्, ताकि तपाईंहरूमार्फत ग्लोबल साउथका थप मित्रहरूले चीनलाई बुझून्, चीनको गहिरो ज्ञान राखून् र चीनका जनता तथा ग्लोबल साउथका साथीहरूबीचको सम्बन्ध अझै निकट बनोस्।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अफ्रिकी राष्ट्रमा इबोलाको प्रकोपपछि चौथो भारत अफ्रिका शिखर सम्मेलन स्थगित
२०८३ जेठ ७, बिहिबार
कोसी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
२०८३ जेठ ७, बिहिबार
विश्वका ९० देशका पत्रकार बेइजिङमा
२०८३ जेठ ७, बिहिबार
सन् २०२५ मा प्रत्येक १४ मिनेटमा एक जनाको मृत्यु : राष्ट्रसङ्घ
२०८३ जेठ ७, बिहिबार
जसपा नेपाल मधेस प्रदेश संसदीय दलको नेतामा यादव चयन
२०८३ जेठ ७, बिहिबार
संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलद्वारा राजनीतिक दलका नेताहरुसँग छलफल
२०८३ जेठ ७, बिहिबार
प्रतिनिधिसभाः तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत
२०८३ जेठ ७, बिहिबार