मंग्सिर २, २०८३ बुधबार November 18, 2026

पोल्यान्डमा पाँच हजार अमेरिकी सेना तैनाथ

पाँच हजार अमेरिकी सेना तैनाथ गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणालाई नाटो प्रमुखले गरे स्वागत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

हेलसिङ्गबर्ग (स्विडेन), जेठ ८ गते । उत्तरी एटलान्टिक सन्धि सङ्गठन (नाटो) भित्र युरोपको सुरक्षा रणनीति र अमेरिकी सैन्य उपस्थितिबारे बहस तीव्र भइरहेका बेला नाटो प्रमुखले पोल्यान्डमा पाँच हजार अमेरिकी सेना तैनाथ गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणालाई स्वागत गर्नुभएको छ ।

नाटोका महासचिव मार्क रुटले स्विडेनमा गठबन्धनका विदेशमन्त्रीको बैठक सुरु हुनुअघि पत्रकारसँग कुरा गर्दै उक्त निर्णयलाई सकारात्मकरूपमा लिएको बताउनुभयो । उहाँले सैन्य कमान्डरले तैनाथीसम्बन्धी सबै प्राविधिक विवरणमा काम गरिरहेको जानकारी पनि दिनुभयो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत दिएको घोषणामा पोल्यान्डका राष्ट्रपति कारोल नावरोकीसँगको सम्बन्धलाई आधार बनाएर पाँच हजार अमेरिकी सेना पोल्यान्ड पठाइने निर्णय गरिएको बताउनुभएको छ । उक्त निर्णयलाई यसअघि योजना गरिएको चार हजार सैनिक फिर्ता गर्ने वा पुनः समायोजन गर्ने सम्भावनासँग जोडेर पनि हेरिएको छ ।

विश्लेषकहरूका अनुसार यो कदम युरोपमा जारी सुरक्षा तनाव, विशेष गरी इरानसँग सम्बन्धित युद्धपछिको भू-राजनीतिक दबाब र नाटो सहयोगीबिचको रक्षा जिम्मेवारी बाँडफाँटबारे उठिरहेका प्रश्नसँगसमेत सम्बन्धित देखिन्छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले यसअघि पोल्यान्डमा तैनाथी पूर्णरूपमा रद्द नभई केही समयका लागि ढिलाइ मात्र भएको सङ्केत गर्नुभएको थियो ।

उहाँले युरोपेली देशले आफ्नै सुरक्षा खर्च र सैन्य क्षमता बढाउनुपर्नेमा जोड दिनुभएको थियो । यसैबिच, स्विडेनकी विदेशमन्त्री मारिया माल्मर स्टेनरगार्डले वासिङ्टनबाट आउने सन्देश कहिलेकाहीँ अस्पष्ट हुने र तिनलाई बुझ्न कठिन हुने बताउनुभएको छ । उहाँका अनुसार युरोपको प्राथमिकता आफ्नै रक्षा प्रणाली र सैन्य क्षमतामा निरन्तर लगानी गर्नु हो, यद्यपि अमेरिकाको संलग्नता पनि आवश्यक रहेको छ ।

उहाँले थप स्पष्ट पार्दै युरोप विस्तार हुँदै जाँदा अमेरिकाको उपस्थितिमा केही कमी आउनु स्वाभाविक हुन सक्ने धारणा व्यक्त गर्नुभयो । एस्टोनियाका शीर्ष कूटनीतिज्ञ मार्गस साहकनाले पनि युरोपले आफ्नो रक्षा क्षमतामा अझ धेरै जिम्मेवारी लिनुपर्ने बताउनुभयो । उहाँले अमेरिकी सेनाको कुनै पनि सम्भावित पुनःतैनाथी वा घटाउने प्रक्रिया राम्रो समन्वयका साथ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँका अनुसार नाटोको सम्पूर्ण प्रतिरोध क्षमतादेखि युरोपमा अमेरिकी सेनाको उपस्थितिसम्म सबै पक्षलाई एकीकृतरूपमा हेर्न आवश्यक छ । यसै कारण अहिले स्विडेनमा आयोजित बैठकले युरोपेली तथा अमेरिकी पक्षबिच प्रत्यक्ष संवाद र समन्वयलाई प्राथमिकतामा राखेको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपियल : काठमान्डुलाई ६१ रनले हराउँदै चितवन दोस्रो क्वालिफायरमा
२०८३ मंग्सिर २, बुधबार
डा. मुकुल ढकाल र निशा डाँगीको लगनगाँठो कसिने पक्का
२०८३ मंग्सिर २, बुधबार
विशेषज्ञ चिकित्सक अभावमा चौतारा अस्पतालको सेवा प्रभावित
२०८३ मंग्सिर २, बुधबार
गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न मुख्यमन्त्री भट्टको आग्रह
२०८३ मंग्सिर २, बुधबार
राप्रपाको महाधिवेशन नेतृत्व चयनमा मात्र सीमित हुनुहुँदैन : ज्ञानेन्द्र शाही
२०८३ मंग्सिर २, बुधबार
टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छ : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ मंग्सिर २, बुधबार
उपाध्यक्ष पौडेलद्वारा एमाले नेतृत्वको सरकारका उपलब्धि प्रस्तुत
२०८३ मंग्सिर २, बुधबार