जेठ ११, २०८३ सोमबार May 25, 2026

इरानसँग हतारमा सम्झौता नगर्ने राष्ट्रपति ट्रम्पको भनाइ

अप्रिल १३ देखि इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वासिङ्टन, ११ जेठ (रासस/एएफपी): अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा युद्ध अन्त्य गर्ने सहमति नजिक पुगेको अनुमानका बीच आइतबार आफूले अमेरिकी वार्ताकारहरुलाई इरानसँग ‘हतारमा सम्झौता नगर्न’ भनेको बताउनुभएको छ।

“वार्ता व्यवस्थित र रचनात्मक ढङ्गले अघि बढिरहेको छ र मैले मेरा प्रतिनिधिहरूलाई कुनै पनि सम्झौता गर्न हतार नगर्न सूचित गरेको छु,” राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्नुभएको छ।

उहाँले सम्झौता गर्न हतार नगर्न भनेपछि अगाडि लेख्नुहुन्छ, “सम्झौता नभएसम्म, प्रमाणित नभएसम्म र हस्ताक्षर नभएसम्म नाकाबन्दी पूर्ण शक्तिमा र प्रभावमा रहनेछ।”

गत फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायलले इरानमाथि गरेको आक्रमणको जवाफमा तेहरानले आर्थिक रूपमा महत्त्वपूर्ण स्ट्रेट अफ हर्मुज हुँदै आवतजावत गर्ने यातायात लगभग रोकेको भन्दै अमेरिकाले अप्रिल १३ देखि इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको घोषणा गरेको छ ।

राष्ट्रपति ट्रम्पको टिप्पणी यस्तो समयमा आएको छ जतिवेला अमेरिका र इरानबीच नयाँ युद्धविराम सम्झौताका लागि खाका तयार भइरहेको समाचार बाहिरिएको छ ।

इरानसँग सम्झौताको तयारी भइरहँदा वाशिङ्गटनमा रातारात द्विदलीय विरोध बढेको बताइएको छ र धेरै वर्तमान तथा पूर्व सांसद र अधिकारीहरूले सम्झौताको कथित पक्षहरूको आलोचना गरिरहेका सूचना बाहिरिएको छ ।

पूर्व राष्ट्रपति बाराक ओबामाले इरानसँग सहमति गरेको सन् २०१५ को आणविक सम्झौताको आलोचना गर्दै ट्रम्पले ट्रुथ सोसलमा लेख्नुभएको छ, “दुवै पक्षले आफ्नो समय लिनुपर्छ र यसलाई सही बनाउनुपर्छ ।”

ह्वाइट हाउसले सम्झौताका पक्षहरू सार्वजनिक नगरेको भए पनि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले शनिबार सरकारी टेलिभिजनमा भन्नुभयो, “दुई पक्ष १४ धाराहरू मिलेर बनेको एक प्रकारको सम्झौताको ढाँचा ‘समझदारी पत्र’ को अन्तिम तयारी नजिक पुगेका छन्।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया