मंग्सिर २, २०८३ बुधबार November 18, 2026

सी–सरिफ भेटमा मध्यपूर्व केन्द्रमा

प्रधानमन्त्री सरिफले शनिबार पूर्वी चीनको झेजियाङ प्रान्तस्थित हाङ्झोउबाट आफ्नो चारदिने आधिकारिक चीन भ्रमण सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बेइजिङ, ११ जेठ (रासस\एएफपी) : मध्यपूर्व युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास जारी रहेका बेला चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार बेइजिङमा पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफसँग भेटवार्ता गर्नुभएको छ । अमेरिका–इरान तनाव, क्षेत्रीय स्थिरता र मध्यस्थता प्रयासका विषयमा अन्तर्राष्ट्रिय सक्रियता बढिरहेका समयमा भएको यो उच्चस्तरीय भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार राष्ट्रपति सी जिनपिङसँगको भेटअघि प्रधानमन्त्री शाहबाज सरिफले चीनका प्रधानमन्त्री ली किआङसँग पनि वार्ता गर्नुभएको थियो । बेइजिङमा भएको पछिल्लो छलफलका विषयवस्तुबारे चिनियाँ सरकारी सञ्चारमाध्यमले तत्काल विस्तृत विवरण सार्वजनिक गरेका छैनन् ।

पाकिस्तानी टेलिभिजनका अनुसार पाकिस्तानका सेना प्रमुख असीम मुनीरले पनि चीन भ्रमणमा प्रधानमन्त्री सरिफलाई साथ दिनुभएको छ । अमेरिका र इरानबीचको संवाद प्रक्रियामा इस्लामाबादको भूमिका बढिरहेका बेला मुनीरको सहभागितालाई विशेष महत्त्वका साथ हेरिएको छ ।

गत महिना पाकिस्तानले अमेरिका र इरानबीच ऐतिहासिक आमनेसामने वार्ताको आयोजना गर्दै आफूलाई प्रमुख मध्यस्थकर्ताका रूपमा प्रस्तुत गरेको थियो । यद्यपि, उक्त प्रयास दीर्घकालीन सम्झौतामा रूपान्तरण हुन सकेन ।

यसबीच चीनले तुलनात्मक रूपमा संयमित तर सक्रिय कूटनीतिक भूमिका निर्वाह गर्दै आएको छ । बेइजिङले टेलिफोन संवाद तथा खाडी क्षेत्रका प्रभावित मुलुकका अधिकारीहरूसँग बैठकमार्फत क्षेत्रीय तनाव कम गर्ने प्रयास जारी राखेको छ ।

बेइजिङमा चिनियाँ नेतृत्वसँगको भेटका क्रममा सरिफले विश्व अहिले महत्त्वपूर्ण मोडबाट गुज्रिरहेको बताउनुभएको पाकिस्तानी सरकारी टेलिभिजन पिटिभीले जनाएको छ । उहाँले अमेरिका–इरान सम्बन्ध सुधारका लागि पाकिस्तानले गम्भीर मध्यस्थकारी भूमिका निर्वाह गरेको दाबी गर्नुभएको छ ।

सरिफका अनुसार सेना प्रमुख मुनीर तेहरान भ्रमणमा सहभागी भइसकेपछि पनि चीनको यो महत्त्वपूर्ण भ्रमण छुटाउन इच्छुक हुनुहुन्नथ्यो । “कुराहरू सही दिशातर्फ अघि बढिरहेका छन् र शान्ति प्रवद्र्धनमा चीनले दिएको समर्थनप्रति म आभार व्यक्त गर्न चाहन्छु”, उहाँले भन्नुभएको थियो ।

प्रधानमन्त्री सरिफले शनिबार पूर्वी चीनको झेजियाङ प्रान्तस्थित हाङ्झोउबाट आफ्नो चारदिने आधिकारिक चीन भ्रमण सुरु गर्नुभएको हो ।

यसअघि युद्ध अन्त्यतर्फको मध्यस्थता प्रयासकै क्रममा पाकिस्तानका गृहमन्त्री मोहसिन नकवीसँगै सेना प्रमुख मुनीरले शुक्रबार र शनिबार तेहरानको भ्रमण गर्नुभएको थियो । त्यसपछि भएको चीन भ्रमणले इस्लामाबादको बहुपक्षीय कूटनीतिक सक्रियता थप स्पष्ट पारेको छ ।

चीनले पनि मध्यपूर्वमा शान्ति र स्थिरता पुनःस्थापनाका लागि पाकिस्तानसँग सहकार्य गर्न तयार रहेको जनाएको छ ।

अप्रिलमा युद्ध सुरु भएयता अमेरिका र इरानी अधिकारीहरूबीच भएको एकमात्र प्रत्यक्ष वार्ताको आयोजना पाकिस्तानले गरेको थियो । त्यस वार्तामा असीम मुनीर निकै सक्रिय भूमिकामा देखिनुभएको थियो । दुवै प्रतिनिधिमण्डललाई स्वागत गर्नुका साथै अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँगको सार्वजनिक मैत्रीपूर्ण व्यवहारले पनि उहाँ वार्ताको केन्द्रमा रहनुभएको थियो ।

तर अन्ततः ती वार्ताहरू सफल हुन सकेनन् । इरानले अमेरिकामाथि ‘अत्यधिक माग’ राखेको आरोप लगाउँदै सहमति प्रक्रियाबाट दूरी बनाएको थियो । त्यसपछि चीन र पाकिस्तानले क्षेत्रीय शान्ति प्रयासमा समन्वय बढाउने सङ्केत दिएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एनपियल : काठमान्डुलाई ६१ रनले हराउँदै चितवन दोस्रो क्वालिफायरमा
२०८३ मंग्सिर २, बुधबार
डा. मुकुल ढकाल र निशा डाँगीको लगनगाँठो कसिने पक्का
२०८३ मंग्सिर २, बुधबार
विशेषज्ञ चिकित्सक अभावमा चौतारा अस्पतालको सेवा प्रभावित
२०८३ मंग्सिर २, बुधबार
गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा कुनै बहाना नगर्न मुख्यमन्त्री भट्टको आग्रह
२०८३ मंग्सिर २, बुधबार
राप्रपाको महाधिवेशन नेतृत्व चयनमा मात्र सीमित हुनुहुँदैन : ज्ञानेन्द्र शाही
२०८३ मंग्सिर २, बुधबार
टेलिफोन पहुँचबाट वञ्चित हुनुपर्ने अवस्थाको चाँडै अन्त्य हुन्छ : सञ्चारमन्त्री डा. तिमिल्सिना
२०८३ मंग्सिर २, बुधबार
उपाध्यक्ष पौडेलद्वारा एमाले नेतृत्वको सरकारका उपलब्धि प्रस्तुत
२०८३ मंग्सिर २, बुधबार