काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह (बालेन)ले गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने हुनुभएको छ । प्रधानमन्त्री बनेदेखि सार्वजनिक समारोहमा नदेखिनुभएका साहले गणतन्त्र दिवसको मूल समारोहमा पनि सम्बोधन नगर्ने हुनुभएको हो । आफ्नो सट्टा समारोहमा सम्बोधन गर्न उहाँले राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्नुभएको छ । दिवसको दिन जेठ १५ गते सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुने गरेको छ । समारोहमा यसअघि प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा थियो । तर, यसपालि भने साहले समारोहमा सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गरेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।
स्रोतका अनुसार प्रधानमन्त्री बालेनले समारोहलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रहसहित पत्र पठाउनुभएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार गणतन्त्रको प्रतीक राष्ट्रपति नै हुने भएकाले समारोहमा सम्बोधन गरिदिनु हुन अनुरोध गरिन्छ भन्ने व्यहोराको पत्र राष्ट्रपति कार्यालयमा पठाइएको हो । ‘गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले टुँडिखेलमा सम्बोधन नगरेर राष्ट्रपतिलाई सम्बोधन गर्न आग्रह गर्दै पत्राचार भएको छ’, स्रोतले भन्यो ।
संविधानको धारा ६६ मा राष्ट्रपतिको काम, कर्तव्य र अधिकारबारे उल्लेख छ । सो धाराको उपधारा २ मा मन्त्रिपरिषद्को सिफारिश र सम्मतिमा राष्ट्रपतिले काम गर्ने व्यवस्थासमेत छ । सोही व्यवस्थाअनुसार यस वर्ष राष्ट्रपतिले गणतन्त्र दिवसलाई सम्बोधन गर्ने हुनुभएको छ । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्षसहित विशिष्ट व्यक्तिहरूको सहभागिता रहन्छ ।
नेपाल २०६५ जेठ १५ गते गणतन्त्र घोषणा भएको थियो । त्यसयता बर्सेनि जेठ १५ मा गणतन्त्र दिवसमा टुँडिखेलमा समारोह गर्ने र प्रधानमन्त्रीले सम्बोधन गर्ने गरेका थिए । २०८२ को गणतन्त्र दिवसमा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्नुभएको थियो ।
प्रधानमन्त्री भएदेखि नै मौन !
प्रधानमन्त्री भएदेखि नै बालेनले सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्नुभएको छैन । यसअघि, सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिएको संसद् बैठकमा पनि प्रधानमन्त्री बालेनले राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावमा नबोली सिधै सभामुखसमक्ष पेस गर्नुभएको थियो । यस्तै, नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा गरिएको प्रश्नको जवाफ दिन प्रधानमन्त्री नजाँदा विपक्षीले संसद् बैठक अवरुद्ध गरेका थिए । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिनुभएको थियो । प्रमुख प्रतिपक्षीको अवरोध र विपक्षी दलहरूको बहिष्कारबीच नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित गरिएको थियो ।
विपक्षीले संसद् बैठक सञ्चालनमा अवरोध गरेपछि सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रधानमन्त्रीलाई भेटेर प्रश्नोत्तरमा सहभागी हुने मिति माग्नुभएको थियो । तर, सभामुखलाई प्रधानमन्त्रीले ‘उपयुक्त समयमा संसद्मा उपस्थित भएर जवाफ दिने’ बताएर फर्काइदिनु भएको थियो । त्यसपछि विपक्षीको अवरोधबीच ‘वैकल्पिक विकास वित्तसम्बन्धी विधेयक, २०८३’ प्रतिनिधिसभाबाट पारित गरिएको थियो । निर्वाचित भएपछि प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुभएको छैन । प्रमुख प्रतिपक्षसहित विभिन्न दलका शीर्ष नेताले सम्बोधन गरिसक्दा प्रधानमन्त्री बालेन कतै पनि औपचारिक रूपमा बोल्नुभएको छैन । हिमालय टाइम्स
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया