जेठ ११, २०८३ सोमबार May 25, 2026

मन्त्रालय समायोजनसँगै आन्तरिक व्यवस्थापन तीव्र

नाम र काम फेरबदल 

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, जेठ ११ गते । सरकारले नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३ पारित गरी साबिकका २२ वटा सङ्घीय मन्त्रालयलाई घटाएर १८ मा कायम (मर्ज) गरेसँगै अहिले समायोजित मन्त्रालयको प्रशासनिक र भौतिक व्यवस्थापन मिलाउने काम धमाधम भइरहेको छ ।

मर्ज भएका मन्त्रालयको कागजात से्रस्ता मिलाउने, कार्यालयका कम्युटर, फर्निचरलगायतका जिन्सी सामानको लगत सङ्कलन गरी मर्ज भएका मन्त्रालयबिचमा मिलान भइरहेको छ । मर्ज भएका मन्त्रालयको दर्ता चलानी, लेटरप्याडलाई एउटै बनाउने र मन्त्रालयको भवनलाई ब्लक ‘ए’ र ‘बी’ गरी नामकरण गरिएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।

साबिकका युवा तथा खेलकुद मन्त्रालय, खानेपानी मन्त्रालय, सहरी विकास मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका भवन खाली गरी उक्त भवनमध्येको एउटा भवनमा नयाँ बनेको विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय व्यवस्थापन गरिने तयारी गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले जिन्सी सामान आन्तरिक मिलान गर्ने काम भइरहेको र कर्मचारी व्यवस्थापन गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) को राष्ट्रिय मापदण्ड अन्तिम चरणमा पु¥याएको बताउनुुभयो । उहाँले भन्नुुभयो, “असारको पहिलो हप्ताभित्र सबै मन्त्रालयलाई ओएनएमको खाका तयार गर्न आग्रह गरिएको छ । नयाँ आर्थिक वर्षदेखि मर्ज भएका मन्त्रालयको नयाँ नाम र काम पूर्ण रूपमै कार्यान्वयनमा आउने छन् ।”

अर्यालका अनुसार मर्ज भएका मन्त्रालयमा आवश्यकता र औचित्यका आधारमा मात्र महाशाखा र शाखा रहने छन् । भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय हेर्ने मन्त्रालयका प्रवक्ता एकदेव अधिकारीले भन्नुभयो, “तत्काल परिवर्तन गर्न सकिने काम अहिले व्यावहारिक रूपमै परिवर्तनमा आइसकेका छन् भने नीतिगत निर्णय गर्नुपर्ने विषय भने क्रमिक रूपमा कार्यान्वयनमा आउँदै छन् ।”

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा साबिकको सञ्चार मन्त्रालय अन्तर्गत रहेको सूचना प्रविधिसम्बन्धी कार्य नयाँ बनेको विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा लगिएको छ । सहरी, भौतिक पूर्वाधार र खानेपानीलाई मिसाएर पूर्वाधार विकास मन्त्रालय बनाइएको छ । भूमि, सहकारी र मानव संसाधनलाई मिसाएर भूमि, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बनाइएको छ । सञ्चार मन्त्रालयबाट सूचना प्रविधि झिकेर सूचना र सञ्चार मन्त्रालय बनाइएको छ । स्वास्थ्यबाट जनसङ्ख्या झिकेर खाद्य स्वच्छता थपिएको छ ।

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षालाई महिला बालबालिका मन्त्रालयमा गाभेर महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय बनाइएको छ । साबिकको श्रम तथा रोजगार मन्त्रालयबाट सामाजिक सुरक्षा झिकेर यता गाभिएको हो । श्रम तथा रोजगारमा युवा थपेर युवा, श्रम तथा रोजगार मन्त्रालय बनाइएको छ । शिक्षाबाट विज्ञान प्रविधि झिकेर खेलकुद थपिएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।  गोरखापत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया