जेठ ८, २०८३ शुक्रबार May 22, 2026

एकै दिन सर्वाधिक आरोही

यस वर्ष ल्होत्से आरोहण गर्न १४३ जना र नुप्से आरोहण गर्न ५६ जनाले अनुमति लिएका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, जेठ ८ गते । हिमाल आरोहणका लागि सबैभन्दा उपयुक्त मानिने वसन्तकालीन आरोहण अन्तर्गत बुधबार एकै दिन २७४ जना आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । पर्वतारोहण सञ्चालक सङ्घका अनुसार वैशाख ३० गते सगरमाथा आरोहणको बाटो खुलेयता बुधबार स्वदेशी र विदेशी आरोही गरेर सर्वाधिक २७४ जना आरोही चुचुरोमा पुगेका हुन् ।

सङ्घका महासचिव ऋषिराम भण्डारीले भन्नुभयो, “आरोहण सुरु भएको पछिल्लो एक सातामा १४० जना आरोही चुचुरोमा पुगेर आधार शिविर फर्किएकामा बुधबार एकै दिन २७४ जनाले आरोहण पूरा गरे, जुन नेपाली पर्वतीय पर्यटनको इतिहासमा एकै दिन भएको अहिलेसम्मकै सर्वाधिक हो ।”

पछिल्लो दुई दिनयता हिमआँधीको वेग बढ्दै गए पनि मौसमको अवस्था अनुसार अबको एक सातामा आरोहणको पर्खाइमा रहेका थप आरोही शिखरमा पुगेपछि यस वर्ष सर्वाधिक आरोहीले आरोहण गरेको कीर्तिमान बन्न सक्ने उहाँले बताउनुभयो ।

त्यसै गरी ल्होत्सेमा ५० भन्दा बढी र नुप्सेमा १६ जनाभन्दा बढी आरोहीले आरोहण पूरा गरेको उहाँले जानकारी दिनुभयो । यस वर्ष ल्होत्से आरोहण गर्न १४३ जना र नुप्से आरोहण गर्न ५६ जनाले अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार वसन्तकालीन आरोहणका लागि यस वर्ष सगरमाथामा ४९४ आरोहीले अनुमति लिएका छन् । हरेक अनुमति लिने आरोहीका साथमा सहयोगी शेर्पासमेत रहने भएकाले यस पटक एक हजार हाराहारी आरोही सगरमाथाको शिखरमा पुग्ने अपेक्षा गरिएको छ । विभागबाट जारी भएको आरोहण अनुमति अनुसार यस वर्ष सगरमाथामा आरोहणका लागि लिएको अनुमति सङ्ख्या हालसम्मै सर्वाधिक हो । यसअघि सन् २०२१ को वसन्तकालीन याममा ४०८, सन् २०२२ मा ३२५, सन् २०२३ मा ४७८, सन् २०२४ मा ४२१ र सन् २०२५ को यही याममा ४५६ जना आरोहीले आरोहण अनुमति लिएका थिए ।

विभागका अनुसार यस वर्ष सगरमाथा आरोहण गर्न नेपालसहित ५५ देशका आरोहीले अनुमति लिएका छन् । जस अनुसार सबैभन्दा बढी चीनबाट १०९, अमेरिकाबाट ७७, भारतबाट ६१, बेलायतबाट ३२, रसियाबाट १८ र जापानबाट १२ जना आरोहीले अनुमति लिएका छन् । यस याममा आरोहणका लागि विभागले छ हजार मिटरभन्दा माथिका उचाइका ३० वटा हिमालमा आरोहण अनुमति जारी गरेको छ । जस अनुसार सबैभन्दा बढी सगरमाथामा ४९४, ल्होत्सेमा १४३, अमादब्लम १११, मकालु (पहिलो) मा ७२, नुप्सेमा ५६ जना आरोहीले अनुमति लिएका छन् ।गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया