श्रावण २३, २०८३ शनिबार August 8, 2026

अपडेट छैनन् सरकारी अफिसका वेबसाइट

अपडेट भएका वेबसाइटमा पनि सर्भर स्लो हुँदा सेवाग्राही हैरानी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : सरकारी मन्त्रालय तथा कार्यालयका वेबसाइटहरू नियमित रूपमा अपडेट नहुँदा सेवाग्राहीले आवश्यक सूचना सहज रूपमा पाउन सकेका छैनन् । कतिपय वेबसाइट खुल्दैनन् भने खुलेका वेबसाइटमा पनि अद्यावधिक सूचना नहुँदा नागरिक अझै पनि कार्यालय धाउन बाध्य छन् ।

सरकारले अनलाइनमार्फत सूचना उपलब्ध गराउने, अनलाइन फाराम भर्ने तथा सेवा प्रवाहलाई डिजिटल बनाउने योजना अघि सारेको भए पनि व्यवहारमा समस्या यथावत् रहेको सेवाग्राहीको गुनासो छ । अस्पतालहरूमा अनलाइनबाटै नाम दर्ता गर्ने व्यवस्था गरिए पनि बिरामीले लामो लाइन बस्नुपर्ने अवस्था हट्न सकेको छैन ।

नक्सालकी मीना शाहीले यातायात व्यवस्था कार्यालयको लाइसेन्सका लागि अनलाइन फाराम भर्ने प्रयास गरिन् । तर आधा घण्टासम्म पनि सर्भरले काम नगरेपछि उनी कार्यालयमै पुगेर फाराम भर्न बाध्य भइन् । उनले भनिन्, ‘सर्भर निकै स्लो भयो । धेरै समय कुर्न सकिनँ, त्यसैले कार्यालयमै गएर फाराम भरेँ । घरबाटै अनलाइन फाराम भरेर ढुक्क हुने दिन कहिले आउला ?’

वैदेशिक रोजगार बोर्डको सचिवालयको गत आर्थिक वर्षको सूचना खोज्दा पनि वेबसाइट खुलेन । सचिवालयका निर्देशक एवं प्रवक्ता भूपेन्द्र सापकोटाले कहिलेकाहीँ सर्भरले काम नगर्ने समस्या हुने बताए । उनका अनुसार प्राविधिक टोलीलाई बोलाएर वेबसाइट अपडेट गर्ने काम भइरहेको छ ।

केही दिनअघि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पनि यस्तै समस्या देखिएको थियो । सेवाग्राहीले आवश्यक सूचना वेबसाइटमा सहज रूपमा पाउन सकेका छैनन् ।

सूचना प्रविधि विभागकै वेबसाइटमा महानिर्देशकसम्बन्धी सूचना अपडेट छैन । सूचना प्रविधि अधिकृत प्रकाश दवाडीका अनुसार मन्त्रालयहरू मर्ज हुँदा सर्भर व्यवस्थापनमा समस्या आएको हुन सक्ने बताए । तर मन्त्रालय मर्ज हुनुअघि नै धेरै सरकारी वेबसाइट प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको गुनासो रहँदै आएको छ ।

दवाडीले भने, ‘आइडिएमसीमा केही प्राविधिक समस्या हुन सक्छ । सम्बन्धित मन्त्रालयका केही निजी वेबसाइट पनि छन्, ती सबै हामीले हेर्दैनौं ।’

हाल नेपाल सरकारअन्तर्गतका अधिकांश वेबसाइट ‘डाउन’ भएका छन् । डट जिओभी डट एनपी डोमेन भएका मन्त्रालय, विभाग तथा प्राधिकरणका वेबसाइट खोल्दा ‘दिस साइट कान्ट बी रिच्ड…, इरर…, प्राइभेट… जस्ता सूचना देखिने गरेको सेवाग्राही बताउँछन् ।

एकीकृत डेटा व्यवस्थापन केन्द्र (आइडिएमसी)ले सरकारी वेबसाइट डाउन हुनुको कारण अझै स्पष्ट नभएको जनाएको छ । केन्द्रका सूचना प्रविधि निर्देशक शिवजीकुमार गुप्ता रौनियारका अनुसार समस्याको अध्ययन भइरहेको छ । उनले भने, ‘सरकारी वेबसाइट नचल्ने समस्याबारे अध्ययन भइरहेको छ ।’

तर आइडिएमसीले समस्याको यकिन कारण भने सार्वजनिक गरेको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि संघीय मन्त्रालय, प्रदेश सरकार र स्थानीय तहका कार्यालयसम्मका धेरै वेबसाइट अद्यावधिक छैनन् । अपडेट भएका वेबसाइटमा पनि सर्भर स्लो हुँदा सेवाग्राहीले हैरानी व्यहोर्नुपरेको छ ।

सरकारले प्रभावकारी, पारदर्शी र नागरिक–केन्द्रित सेवा प्रवाहका लागि डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखेको बताउँदै आएको छ । तर व्यवहारमा भने नागरिक अझै पनि लाइनमा बस्न र कार्यालय धाउन बाध्य छन् । मध्यान्ह दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त
२०८३ श्रावण २३, शनिबार
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
२०८३ श्रावण २३, शनिबार
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
२०८३ श्रावण २३, शनिबार
माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य
२०८३ श्रावण २३, शनिबार
राष्ट्र बैङ्कद्वारा आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ श्रावण २३, शनिबार
सरकारी सेवा प्रवाहमा प्रगति
२०८३ श्रावण २३, शनिबार
लायन्स डिस्ट्रिक्ट ३२५ के नेपालको प्रथम क्याबिनेट बैठक आजदेखि काठमाडौंमा
२०८३ श्रावण २३, शनिबार