जेठ १६, २०८३ शनिबार May 30, 2026

भीमनारायण गोल्डकप : आज आयोजक र बेलबारी फाइनलमा भिड्दै

प्रतियोगिताको विजेता टोलीले ६ लाख रुपियाँ र उपविजेता टोलीले ३ लाख रुपियाँसहित ट्रफी र पदक प्राप्त गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पाख्रीबास (धनकुटा), जेठ १६ गते । धनकुटामा जारी १८औँ संस्करण सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेलमा आयोजक टोली र बेलबारी फुटबल क्लब, मोरङबिच प्रतिस्पर्धा हुने भएको छ। सहिद भीमनारायण स्मृति प्रतिष्ठानले धनकुटाको तल्लो टुँडिखेलमा आयोजना गरेको प्रतियोगिताको फाइनल खेल शनिबार दिउँसो २ः४५ बजे सुरु हुनेछ।

शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा बेलबारी फुटबल क्लबले बिर्तामोड युनाइटेड क्लब, झापालाई ३–० गोलअन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। यसअघि बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा आयोजक टोलीले सलहेश फुटबल क्लब, सिराहालाई १–० गोलअन्तरले हराउँदै फाइनल यात्रा तय गरेको थियो।

प्रतियोगिताको विजेता टोलीले ६ लाख रुपियाँ र उपविजेता टोलीले ३ लाख रुपियाँसहित ट्रफी र पदक प्राप्त गर्नेछन्। प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई ६ हजार रुपियाँ प्रदान गरिनेछ। साथै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

विसं २०५५ सालदेखि सुरु भएको यो प्रतियोगिता केही वर्ष स्थगित भएपछि २०६३ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ। पहिलो संस्करणमा तत्कालीन कोशी अञ्चलका टोली र दोस्रो संस्करणमा तत्कालीन पूर्वाञ्चल विकास क्षेत्रका टोलीहरूको सहभागिता रहेको थियो।

तत्कालीन राजा वीरेन्द्र शाहमाथि बम प्रहार गरेको अभियोगमा विसं २०३५ मा मृत्युदण्ड दिइएका भीमनारायण श्रेष्ठको स्मृतिमा यो प्रतियोगिता आयोजना हुँदै आएको छ। श्रेष्ठलाई नेपाल सरकारले विसं २०७४ सालमा सहिद घोषणा गरेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया