जेठ २०, २०८३ बुधबार June 3, 2026

प्रधानमन्त्रीको अभिव्यक्तिले सर्वत्र तरंग

प्रधानमन्त्रीले नेपाल–भारत सीमा र चीनको विकासको अवस्थाबारे दिएको अभिव्यक्ति विवादमा तानिदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले द्विपक्षीय सीमा विवादका विषयमा दिएको अभिव्यक्तिको चौतर्फी विरोध भएको छ । गत जेठ १७ गते प्रतिनिधिसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपालले पनि भारतीय भूमि मिचेको जस्तो गैरजिम्मेवार अभिव्यक्ति दिनुभएको थियो । मुलुकको कार्यकारी प्रमुखको ओहोदामा बसेका व्यक्तिले बिनाकुनै ऐतिहासिक तथ्य र प्रमाण संसद्को रोष्ट्रमबाट देशकै विरुद्धमा यस्तो बयान दिएपछि राष्ट्रिय राजनीति गर्माएको हो ।

प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय अन्तर्राष्ट्रिय जगत्मा समेत त्यसले तरंग ल्याएको छ । नेपालले पनि भारतको भूमि मिचेको विवादास्पद अभिव्यक्तिले सडक सदनदेखि सामाजिक सञ्जालमा प्रधानमन्त्री शाहको व्यापक आलोचना भएको छ । सरकारले ल्याएको बजेटमाथि संघीय संसद्मा गम्भीर छलफल हुनुपर्ने बेला छ । तर, यतिबेला संसद् मुख्य राष्ट्रिय एजेण्डाबाट पूर्णरूपमा विषयान्तर भएको छ । प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको कूटनीतिक अपरिपक्वतालाई लिएर माफी माग्नुपर्ने वा राजीनामा दिनुपर्ने भन्दै निरन्तर सदन अवरुद्ध पारेपछि बजेटमाथिको महत्त्वपूर्ण बहस ओझेलमा परेको छ ।

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति भारतले मंगलबार प्रतिक्रिया जनाएको छ । दुई छिमेकी देशबीचको आपसी मामिलामा ‘कुनै पनि तेस्रो पक्षको भूमिका नरहने’ जिकिर भारतले गरेको हो । सञ्चारकर्मीका जिज्ञासाहरूको जवाफ दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालका प्रधानमन्त्रीको भनाइलाई भारतले ‘नोटिस’मा लिएको बताउँदै सीमासम्बन्धी विषयहरूलाई विद्यमान द्विपक्षीय संयन्त्रमार्फत सम्बोधन भइरहेको कुरामा जोड दिनुभयो ।

‘हामीले प्रधानमन्त्रीको टिप्पणी हेरेका छौँ । भारत-नेपाल सीमाको करिब ९८ प्रतिशत क्षेत्रको सीमांकन भइसकेको छ । दशगजा (नो म्यान्स ल्याण्ड) अतिक्रमणसँग सम्बन्धित विषयहरू सहित केही मुद्दाहरू अझै बाँकी छन् । त्यस्ता मामिलाहरूलाई सम्बोधन गर्न हामीले द्विपक्षीय संयन्त्रहरू स्थापना गरेका छौँ’, जैसवालले भन्नुभयो । गण्डक नदीले आफ्नो बहाव परिवर्तन गर्दा निश्चित क्षेत्रहरूमा अहिलेको जस्तो परिस्थिति सिर्जना भएको उल्लेख गर्दै उहाँले हाल दशगजा क्षेत्रमा सुरक्षाकर्मीहरू तैनाथ रहेको समेत बताउनुभयो ।

गत फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनपछि प्रधानमन्त्रीको हैसियतमा पहिलो पटक सांसदहरूसँगको प्रश्नोत्तरमा सहभागी बालेन्द्र शाहको अभिव्यक्ति विवादमा तानिएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले नेपाल–भारत सीमा र चीनको विकासको अवस्थाबारे दिएको अभिव्यक्ति विवादमा तानिएको हो ।

लिपुलेक, लिम्पियाधुरा र कालापानीको विवादबारे सांसदले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री बालेनले नेपालले पनि भारतको सीमा मिचेको बताउनुभएको थियो । उहाँले भन्नुभएको थियो, ‘तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्ला, भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ ।’ उहाँले थप भन्नुभएको थियो, ‘लिपुलेक र लिम्पियाधुराको विषयमा नेपाल सरकारले आधिकारिक रूपमा ‘डिप्लोम्याटिक नोट’ भारत सरकारलाई पठाइसकेको छ र त्यसको जवाफ पनि आएको छ । दुवै सरकारले आफ्ना इतिहासविद् र सर्भेयरहरू राखेर ‘टेबल टक’ मार्फत यसलाई समाधान गर्ने कुरा भएको छ । ब्रिटिस इण्डियाले छाड्दाखेरिको समस्या अहिलेसम्म रहेकाले यसमा इंग्ल्याण्ड सरकारसँग पनि हामीले कुरा गरेका छौँ । यो कूटनीतिक तवरबाटै समाधान हुन्छ ।’ हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया