जेठ १८, २०८३ सोमबार June 1, 2026

महाधिवेशनसँगै चुनावको तयारीमा रास्वपा

पहिलो महाधिवेशनलाई पार्टीको भावी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको नेताहरूले बताएका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : पार्टी संगठनलाई व्यवस्थित नगर्दै छोटो समयमा देशको ठुलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो महाधिवेशनमा जुटेको छ । महाधिवेशनमार्फत पार्टी संगठनलाई व्यवस्थित बनाउन थालेको सो दलले आगामी स्थानीय तह र प्रदेशको निर्वाचनलाई समेत केन्द्रमा राखेको हो ।

केन्द्रीय महाधिवेशनपूर्व संघीय संरचना अनुसारका सबै भूगोलमा अधिवेशनमार्फत नेतृत्व चयन गरिसक्नुपर्ने दबाब पार्टी रहेको नेताहरूले बताएका छन् । असार ७–९मा चितवनमा पहिलो महाधिवेशन गर्न लागेको हो । महाधिवेशनपूर्व देशभर संगठन विस्तारलाई बलियो बनाउँदै लगेको पार्टीले जनाएको छ ।

रास्वपाका प्रवक्ता मनीष झाले प्रथम महाधिवेशनलाई केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई आगामी राष्ट्रिय राजनीतिमा पार्टीको दीर्घकालीन रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइएको बताए । उनले भने, ‘रास्वपाको प्रथम महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्रै होइन, यो महाधिवेशनले पार्टीसंगठनलाई सुव्यवस्थित, सुुसंगठित गर्दै राष्ट्रिय राजनीतिमा पार्टीको दीर्घकालीन रणनीति तय गर्ने महत्वपूर्ण कार्यभार हो ।’

पार्टी केन्द्रीय समितिको बैठकले नै संगठन निर्माण र आन्तरिक संरचना सुदृढीकरणतर्फ केन्द्रित गर्ने निर्णय गरेर देशभर अधिवेशन मार्फत पार्टी संरचना खडा गर्ने अभियान चलिरहेको उनले बताए । रास्वपाले महाधिवेशनसँगै आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई केन्द्रमा राखेर सांगठनिक गतिविधि प्रारम्भ गरेको छ । आगामी निर्वाचनका लागि अहिलेदेखि नै सम्भावित उम्मेदवारहरूको तथ्यांक संकलन, उनीहरूको अवस्था विश्लेषण र आवश्यक प्रशिक्षणका कार्यक्रम तय गर्ने नेताहरूले बताएका छन् । पार्टीको महाधिवेशनपूर्व सबै तहका संगठन महाधिवेशनमै केन्द्रित हुनेछन् ।

रास्वपाले पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरेको छ भने सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा विधान संशोधन समिति बनाएको छ । विधान संशोधन समितिले आवश्यक कामहरू गरिरहेको संयोजक विपिनकुमार आचार्यले बताए । ‘पार्टीको विधान संगठित सदस्यहरूका लागि मूल कानुुन हो,’ उनले भने, ‘संगठनलाई चुस्त बनाउन, संविधान तथा कानुनमा उल्लेखित सबै वर्ग क्षेत्रको प्रतिनिधित्व गराउँदै व्यवस्थित र संस्थागत गर्न विधान संशोधनमा महत्वपूर्ण काम भइरहेको छ ।’ विज्ञ समूहले विधान बनाउने भएपछि पार्टीका सबै तहमा व्यापक छलफल र सुुझाव प्राप्त भइरहेको उनको भनाइ छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२मा ५१ लाखभन्दा बढी जनमत लिएर सरकारको नेतृत्व लिएको दलप्रति आकर्षण तीव्र छ । पुराना दलबाट रास्वपामा प्रवेश गर्नेको लहर चलेको छ । कतिपय स्थानीय तहमा नेतृत्व छनोटको विषयलाई फरक–फरक समूह बनाउने र एकले अर्कोलाई निषेध गर्ने अभ्याससमेत देखिन्छन् । केन्द्रीय महाधिवेशनमा पनि ‘दुईलाइन संघर्ष’ हुनसक्ने नेताहरूले आकलन गरेका छन् ।

रास्वपाका महामन्त्री भूपदेव शाहले पार्टीको जीवनमा जहिले पनि दुईलाइन प्रवृत्ति हुने स्मरण गराउँदै एउटा प्रचार गरिरहने, काम नगर्ने नेताको आसेपासे भएर बस्ने र अर्कोतिर जनता र पार्टीका काम गरिरहने, योगदान गरिरहने, प्रचार नगर्ने ग्रुपको अन्तर्संघर्ष चलिरहने बताए । अहिले काम गर्ने समूहमा आफू निरन्तर लागिरहेको शाहको दाबी छ । संघीय सरकार बनेर मात्रै रास्वपाको उद्देश्य पूरा नहुुने भन्दै उनले आफ्नो दलको उद्देश्य स्थानीय र प्रदेशको निर्वाचनसमेत जित्ने रहेको उनले बताए । ‘हामी संघीय सरकारको नेतृत्वमा छौं,’ महामन्त्री शाहले भने, ‘तर यतिले मात्रै हाम्रो उद्देश्य पूरा हुँदैन । प्रदेशसभा र स्थानीय तहको निर्वाचनमा हामीले स्पष्ट रूपमा जित्नुपर्नेछ । त्यसका लागि पार्टीको महाधिवेशनले भूगोलदेखि केन्द्रसम्म छानिएका नेतृत्वले महत्वपूर्ण अर्थ राख्छ ।’ आगामी निर्वाचन जित्नका लागि पार्टीको नेतृत्व कस्तो चाहिन्छ ? संगठन कस्तो चाहिन्छ ? भन्ने विषयमा सबै तहका अधिवेशनले टुंगो लगाउने उनको भनाइ छ । ‘महाधिवेशनबाट भूगोलदेखि केन्द्रसम्म सक्षम र आगामी चुनावकेन्द्रित अभियान चलाउन सक्ने नयाँ नेतृत्व छान्दै छौं,’ उनले भने ।

पार्टी संगठन विभागका अनुसार करिब तीन हजार वडामा तदर्थ समिति पुरानै छन् । तीमध्ये ५० प्रतिशतको अधिवेशन चुनावअघि र पछि गरेर सकिएको छ । दुई चरणमा वडा अधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ । गत निर्वाचनअघि गठित वडा तदर्थ समितिको अधिवेशन जेठ ३ अघि अधिवेशन सक्ने र बाँकी नयाँ समिति बनाउने वडाहरूको अधिवेशन जेठ १६ गतेसम्ममा सक्ने कार्यतालिका थियो । सो तालिकाअनुसार कतिपय वडामा अझै अधिवेशन सकिएको छैन । त्यस्तै, पालिका अधिवेशन पनि दुई चरणमा गर्ने मिति तोकिएको थियो । जेठ ९ र १७ गते पालिका अधिवेशन तोकेको रास्वपाले हालसम्म पालिकास्तरीय अधिवेशन एकदमै न्यून रहेको रास्वपा संगठन विभागले जनाएको छ । जेठ २३ र २४ गते जिल्ला अधिवेशन गर्ने भनिए पनि कतिपय वडा अधिवेशन नै नसकिएकाले पालिका, प्रदेश क्षत्र र जिल्ला अधिवेशनमा केही ढिला हुने संगठन विभागका सचिव शंकर श्रेष्ठले बताए । प्रदेश अधिवेशन जेठ २६ बाट सुरु गरेर असार १ गते सक्ने कार्यतालिका रास्वपाको छ । गत २० वैशाखअघि तदर्थ समिति गठन भएका करिब १५ सय वडाको अधिवेशन सकिएको श्रेष्ठले जानकारी दिए । ‘असार ७–९ सम्म राष्ट्रिय महाधिवेशनमा जुटेको रास्वपाको वडा अधिवेशन धमाधम भइरहेकाले केही दिनमै सकेर स्थानीय तह, क्षेत्र र जिल्लाको अधिवेशन सक्छौं,’ उनले भने ।

पहिलो महाधिवेशनलाई पार्टीको भावी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको नेताहरूले बताएका छन् । ‘अन्य दल तथा स्वतन्त्र नेताहरूलाई समेटेर निर्वाचनमा होमिएको रास्वपा देशैकै ठुलो दल बनेको छ,’ रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले भने, ‘चुनावमा मात्रै ठुलो दल बनेर भएन, पार्टी संगठनका हिसाबले पनि त्यत्तिकै सशक्त र स्थानीय नागरिकका मुद्दालाई भूगोलकै पार्टी संगठनले उठाउन सक्ने पार्टी बनाउनुु छ । पहिलो महाधिवेशन मार्फत एकताको सन्देश सहित पाँच वर्षकालागी वडा देखि केन्द्रसम्म नयाँ नेतृत्व चयन गर्दैछौं ।’

रास्वपाले केवल औपचारिक महाधिवेशनभन्दा पनि पार्टी संरचना, कार्यविधि र नेतृत्व प्रणालीलाई थप व्यवस्थित र संस्थागत गर्ने रणनीति लिएको उनको दाबी छ ।  महाधिवेशनलगत्तै निर्वाचनकेन्द्रित कार्यक्रम बनाउनुपर्ने भएकाले त्यसलाई समेत मध्यनजर गरेर स्थानीय तहमा संगठन निर्माण भइरहेको पराजुलीले बताए ।  मध्यान्ह दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया