काठमाडौं । आन्तरिक विवाद र नेतृत्व परिवर्तनको बहसबीच नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशको निर्वाचनलाई लक्षित गर्दै पार्टी जागरण अभियान घोषणा गरेको छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा लगभग थला परेको नेकपा एमाले जागरण अभियानमार्फत जुर्मुराउन खाजेको हो । गत जेठ ४ गतेबाट सुरु भएर ८, ९ र १० गते भएको केन्द्रीय सचिवालयको बैठकका निर्णयलाई मातहतका कमिटीमा प्रेषित गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन (अपानि)-२ जारी गर्दै जागरण अभियान घोषणा गर्नुभएको छ ।
आसन्न स्थानीय तह र प्रदेशसभा चुनाव लक्षित जागरण अभियान सफल पार्न एमालेले केन्द्रीय पदाधिकारी बाहेकका सबै केन्द्रीय सदस्यहरूलाई पालिका केन्द्रित जिम्मेवारी तोकेको छ । पार्टीका केन्द्रीय सदस्यहरूलाई जनसंगठन इञ्चार्ज तथा विभागका प्रमुख तोकिए पनि उनीहरूलाई आफ्नो पालिकाको समेत जिम्मेवारी दिइएको छ । केन्द्रीय सदस्यहरू मात्र पालिकाकेन्द्रित अभियानमा अपर्याप्त रहेकोले केन्द्रीय निकायका सदस्य तथा अगुवा कार्यकर्तालाई समेत यो जिम्मेवारी तोकिएको बताइएको छ । अध्यक्ष ओलीले प्रदेश र स्थानीय चुनाव एकैपटक गराउने गरी सरकार जुटेको सूचना पनि कार्यकर्ताहरूलाई पठाउनुभएको छ । अपानि-२ मा लेखिएको छ, ‘वर्तमान सरकार र निर्वाचन आयोग प्रदेशसभा र स्थानीय तहका निर्वाचन एकैसाथ गर्ने गरी तयारीमा जुटिरहेको अवस्था छ ।’
एमालेले गरेको कार्य-विभाजनअनुसार अध्यक्षले समग्र कामको नेतृत्व र महासचिवले पार्टीको संगठनात्मक कामको संयोजन तथा केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी निर्वाह गर्नेछन् । उपाध्यक्ष र उपमहासचिवहरूलाई पार्टीका विभाग तथा फाँटहरूको संयोजनको जिम्मेवारी दिइएको छ । नौमध्ये ६ जना सचिवलाई प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएको छ । कोसीका मुख्यमन्त्री एवं सचिव हिक्मत कार्कीलाई विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागको प्रमुख, पद्मा अर्याललाई संसदीय मामिला प्रमुख र भानुभक्त ढकाललाई संगठन विभाग प्रमुख तोकिएको छ । अन्य सचिवहरू छविलाल विश्वकर्मालाई लुम्बिनी, खगराज अधिकारीलाई गण्डकी, यामलाल कँडेललाई कर्णाली, शेरधन राईलाई कोसी, राजन भट्टराईलाई राजधानी विशेष प्रदेश र महेश बस्नेतलाई बागमती प्रदेश इञ्चार्ज तोकिएको छ ।
प्रदीप ज्ञवालीलाई विदेश मामिला विभाग प्रमुखको जिम्मेवारी दिइएको छ । खासगरी आफूले प्रतिनिधित्व गर्ने जिल्लाका पालिकामा पार्टी जागरण अभियान सञ्चालन गर्ने जिम्मेवारी दिएर केन्द्रीय सदस्यहरूलाई भूगोलमा केन्द्रित गर्न खोजेको एमालेले जनाएको छ । निर्वाचनपछि सुस्ताएका कमिटी र पार्टी गतिविधिलाई जागरण अभियानले गति दिने एमालेको विश्वास छ । कार्य–विभाजनअनुसार एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्य र प्रेस चौतारी नेपालको इञ्चार्जमा रामकुमारी झाँक्रीलाई तोकिएको छ । यसअघि केन्द्रीय सदस्य मीनबहादुर शाही प्रचार विभाग प्रमुख हुनुहुन्थ्यो ।
अन्य दलले साथ नदिँदा निर्वाचनमा जानुपर्यो : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुराना दलहरूलाई सिध्याउने षड्यन्त्र जारी रहेको टिप्पणी गर्नुभएको छ । अध्यक्ष ओलीले अपानि–२ जारी गर्दै लोकतन्त्रका लागि लामो संघर्ष गरेका दलहरूलाई सिध्याउने षड्यन्त्र भइरहेको सन्देश पठाउनुभएको हो । ओलीद्वारा हस्ताक्षरित अपानीमा भनिएको छ, ‘नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ ।’ २३ र २४ भदौको घटनापछि प्रतिगमनतर्फ बढेको मुलुकलाई लयमा फर्काउन एमालेले प्रतिनिधिसभा पुनःस्थापना एजेण्डा अगाडि बढाएको उल्लेख गर्नुभएका ओलीले अरू दलहरूले साथ नदिएकाले चुनावमा भाग दिन बाध्य भएको स्पष्ट पार्दै अपानीमा लेख्नुभएको छ, ‘प्रतिगमनतर्फ अग्रसर भएको मुलुकलाई संविधान र लोकतन्त्रको बाटोमा फर्काउनका लागि प्रतिनिधिसभाको पुनःस्थापना अपरिहार्य छ भन्ने हाम्रो विश्लेषणलाई नेपालका अन्य लोकतान्त्रिक दलहरूले साथ नदिएका कारणले हाम्रो पार्टीसमेत निर्वाचनमा जानुपरेको थियो । यो निर्वाचन अघिपछिको निर्वाचन जस्तो रहेन । यसको परिणाम पनि स्वाभाविक रहेन ।’
निराशा र पलायनको बाटो नरोज्न आग्रह
अध्यक्ष ओलीले पार्टीमा पुनर्गठन र पुनर्जागरण ल्याइने भन्दै निराशा र पलायनको बाटो नरोज्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ । पार्टी छाडिरहेकाहरूलाई सम्बोधन गर्दै ओलीले अपानीमार्फत इतिहासका विभिन्न कालखण्डमा गम्भीरभन्दा गम्भीर चुनौतीलाई सामना गर्दै पार्टी राष्ट्रिय राजनीतिको केन्द्रीय भूमिकामा स्थापित भएको विगत सम्झाउनुभएको छ । निर्वाचनमा व्यहोर्नुपरेको गम्भीर पराजयका कारणले पार्टीको एउटा हिस्सा निराश र पलायन हुन खोजेको अवस्था रहेको उल्लेख गर्दै ओलीले भन्नुभएको छ, ‘पार्टी समीक्षाको चरणमा रहेको हुँदा केन्द्रीय कमिटीको बैठकबाट पार्टी पुनर्गठन र पुनर्जागरणको कार्ययोजना अघि बढाइने छ । इतिहासका विभिन्न कालखण्डमा गम्भीरभन्दा गम्भीर चुनौतीलाई सामना गर्दै पार्टी राष्ट्रिय राजनीतिको केन्द्रीय भूमिकामा स्थापित गरिएको हो भन्ने सत्यलाई मनन गरेर पार्टी काममा सक्रियताका साथ जुट्न म सम्पूर्ण कमरेडहरूलाई हार्दिक अनुरोध गर्दछु ।’
सरकार अधिनायकवादी बाटोमा हिँडेको आरोप
नेकपा एमालेले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार स्वेच्छाचारी र अधिनायकवादी बाटोमा अघि बढेको निष्कर्ष निकालेको छ । सरकारका गतिविधिले लोकतान्त्रिक मूल्य, संसदीय प्रणाली तथा स्वतन्त्र सञ्चार माध्यममाथि दबाब सिर्जना गरेको एमालेको आरोप छ । एमालेले सरकार गठन भएदेखि संसद् कमजोर पार्ने, अध्यादेशमार्फत शासन सञ्चालन गर्ने, सञ्चार माध्यमलाई नियन्त्रण गर्ने तथा सुकुम्बासीमाथि अमानवीय व्यवहार गरेको आरोप लगाएको छ । पार्टीले सरकारका यस्ता गतिविधिविरुद्ध सदन र सडक दुवै ठाउँबाट विरोध अभियान सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ ।
अपानी-२ अनिवार्य अध्ययन गर्न उपमहासचिव भट्टराईको अनुरोध
उपमहासचिव योगेश भट्टराईले सम्पूर्ण पार्टी सदस्यहरूलाई अपानी-२ अनिवार्य अध्ययन गर्न अनुरोध गर्नुभएको छ । अपानीमा एकता, एकता र अझ उन्नतस्तरको एकता प्रदर्शनमा जोड दिइएको उहाँको भनाइ छ । अझ उन्नतस्तरको एकता प्रदर्शन गर्न केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको कार्यविभाजन गरिएको जानकारी दिँदै भट्टराईले भन्नुभयो, ‘उक्त कार्यविभाजनबाट पार्टीमा व्यापक एकता निर्माण हुने अपेक्षा अपानीमा गरिएको छ ।’
पार्टी छोडिसकेकालाई पनि जिम्मेवारी
नेकपा एमालेको अपानीमा पार्टी छोडिसकेका उमाशंकर अरगरियालाई पनि कार्यविभाजन गरिएको छ । केन्द्रीय सदस्य अरगरियालाई धनुषामा मिसन पार्टी जागरण अभियान चलाउने जिम्मेवारी दिइएको छ । नेपाली वर्णानुक्रमअनुसार अपानीको ४२ नम्बरमा नाम रहेका अरगरियाले केही दिन अगाडि नै एमाले परित्याग गरिसकेका छन् । ०७९ सालको चुनावमा धनुषा-२ को टिकट दिएर एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउनुभएको थियो । गत २१ फागुनको चुनावमा पनि अरगरिया उम्मेदवार हुनुभएको थियो । यो चुनाव पनि जित्न नसकेपछि अरगरियाले साधारण सदस्यसमेत नरहेन गरी पार्टी परित्याग गरेको जानकारी फेसबुकबाटै दिनुभएको थियो ।
हिमालय टाइम्सबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया