जेठ १९, २०८३ मंगलबार June 2, 2026

बालेनप्रति नयाँदिल्लीमा संशय, रविलाई उच्च सम्मान

एसडी मुनिलगायत केही भारतीय बुद्धिजीवीले प्रधानमन्त्री बालेनलाई सत्य बोलेको भन्दै बधाई दिएका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले संसद्बाटै सीमा विवाद बल्झाएको भोलिपल्ट सोमबार सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमणमा निस्केका छन् । उनी नयाँदिल्लीमा ओर्लिंदा भारतीय सत्तारुढ दल भाजपाका नेताहरूले भव्य स्वागत गरेको छ । लामिछानेको स्वागतमा ठुलाठुला ब्यानर टाँगिएका छन् ।

तीन महिनाअघि चुनावबाट नेपालमा वैकल्पिक शक्तिका रूपमा झन्डै दुईतिहाइ बहुमतसहित उदाएको रास्वपासँग भारतीय संस्थापनले सम्बन्ध विस्तार गर्न चाहेको छ । तर, प्रधानमन्त्री बालेनको शैली र कूटनीतिक मापदण्डले छिमेकी भारतलाई संशय पैदा गरिदियो । भारत लामिछानेभन्दा पहिले नै प्रधानमन्त्री बालेनलाई नयाँदिल्लीमा स्वागत गर्न चाहन्थ्यो । त्यसका लागि कूटनीतिक संवादसमेत अघि बढाएको थियो । भारतीय विदेश सचिव विक्रम मिस्री प्रधानमन्त्री बालेनलाई औपचारिक रूपमा निमन्त्रणा गर्न नेपाल आउने तयसमेत भइसकेको थियो । तर, प्रधानमन्त्री कार्यालयले प्रोटोकललाई देखाएर बालेनसँग भेटाउन नसक्ने सन्देश पठायो । त्यसपछि न मिस्री नेपाल आए, न प्रधानमन्त्री बालेन भारत जाने कुरा अघि बढ्यो । यो पृष्ठभूमिमा सत्तारुढ दलका सभापतिको भारत भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

भाजपाको निमन्त्रणामा पाँचदिने भ्रमणमा दिल्ली पुगेका लामिछानेलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भाजपाका राष्ट्रिय महासचिव अरुण सिंह तथा विदेश विभाग प्रमुख विजय चौथाइवाले स्वागत गरेका हुन् । भाजपाका नेताहरू विमानस्थलमा लहरै उभिएर फूलमालाले उनको स्वागत गरेका थिए । नयाँदिल्लीमा रहँदा लामिछानेले उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने तय भएको छ ।

पार्टी सभापति लामिछानेको भारत भ्रमणको अघिल्लो दिन संसद्मा अनपेक्षित रूपमा उपस्थित भएका प्रधानमन्त्री बालेनले नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिको चर्को आलोचना भइरहेको छ । भारतले नेपालको भूमि मात्र होइन, नेपालले पनि भारतको धेरै जग्गा मिचेको उनको अभिव्यक्तिले संसद्देखि सडकसम्म विरोध भइरहेको छ । नेपाली सीमाविद्, कूटनीतिज्ञ र पूर्वराजदूतहरूले प्रधानमन्त्रीको मन्तव्य अपरिपक्व, गैरजिम्मेवार र असत्य भएको दाबी गरिरहँदा यसको तरंग भारतसम्म पुगेको छ । परराष्ट्र मन्त्रालयले भने प्रधानमन्त्रीको भनाइ क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित रहेको भन्दै बचाउ गरिरहे पनि बालेन आफैं र उनको सचिवालयले भने यसबारे कुनै टिप्पणी गरेको छैन ।

एसडी मुनिलगायत केही भारतीय बुद्धिजीवीले प्रधानमन्त्री बालेनलाई सत्य बोलेको भन्दै बधाई दिएका छन् । तर, भारतीय पक्षले अहिलेसम्म कुनै वार्ता वा सीमा बैठकमा यसबारे कुनै औपचारिक दाबी गरेको छैन । त्यसैले पनि उनको अभिव्यक्तिबारे प्रश्न उठेको छ । विपक्षी दलहरूले प्रधानमन्त्री बालेनको प्रस्टीकरण नआएसम्म सदन अवरोध गर्ने निर्णय गरेका छन् । यसले बजेट छलफलका बेला संसद्मा तनाव उत्पन्न भएको छ ।

प्रधानमन्त्रीलाई भारतीय संस्थापनले संशयका साथ हेरिरहेको छ । भारतीय राजदूतसँग एक्लै भेट्न अस्वीकार गरेर बालेनले छिमेकीसँगको दूरी बढाएको साउथ ब्लकको विश्लेषण छ । यहीबेला पार्टी सभापति लामिछानेलाई भारतीय सत्तारुढ दलले उच्च सम्मानका साथ स्वागत गर्नुको राजनीतिक अर्थ रहेको कूटनीतिज्ञहरू टिप्पणी गर्छन् । रविको भारत भ्रमणलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्ध बिग्रेका बेला नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नयाँ दिल्लीमा बिच्छाइएको रातो कार्पेटसँग पनि तुलना गरिएको छ । प्रचण्ड भारत भ्रमणबाट फर्किएपछि नै ओली–प्रचण्डबीच अविश्वास बढेको थियो । प्रचण्डले भारतमै पुगेर ओलीसँग आधा–आधा कार्यकाल सरकार चलाउने सहमति भएको खुलासा गरेका थिए ।

पार्टी सभापतिप्रति भारतले देखाएको सकारात्मक चासो र आफूप्रति बढ्न लागेको अविश्वासलाई चिर्र्ने क्रममै प्रधानमन्त्री बालेनको विवादित अभिव्यक्ति आएको टिप्पणी समेत भइरहेको छ । भारतीय मिडिया र विज्ञका विश्लेषणले पनि त्यस्तै संकेत गर्छ । प्रधानमन्त्री सचिवालय स्रोतले भने बालेनको अभिव्यक्ति कुनै राजनीतिक रणनीतिभन्दा असावधानीवश आएको बताएको छ । उनले भारतीय जग्गा मिचेको भनेर दशजगा र ‘क्रस होल्डिङ अकोपेसन’लाई नै इंगित गरेको एक सदस्यको दाबी छ ।

पूर्वराजदूत नीलाम्बर आचार्यले सभापति रविको भारत भ्रमणले द्विपक्षीय हितको सम्बन्धमा सकारात्मक काम गर्ने अपेक्षा गरेका छन् । ‘नेपालको अत्यन्त ठुलो बहुमत पाएको पार्टीको प्रमुख नेताको भारत भ्रमणले द्विपक्षीय सम्बन्ध सुधारमा अझ मद्दत गर्छ भन्ने ठान्दछु,’ उनले भने, ‘भारतसँग धेरै राम्रा सम्बन्ध छन् र कतिपय सुधार गर्नुपर्ने सम्बन्ध पनि छन् । सभापति लामिछानेको यो भ्रमणले सम्बन्ध सुधारमा सकारात्मक योगदान पुग्न सक्छ ।’ अन्य भ्रमणलाई पनि यसले ढोका खोल्नसक्ने उनको भनाइ छ । दुईजनाको कुरालाई जोडेर कुनै समस्या हुन्छ कि भन्ने विषयलाई अहिले त्यति ठुलो रूपमा हेर्नुपर्ने अवस्था नरहेको आचार्यले बताए ।मध्यान्ह दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया