असोज ६, २०८३ मंगलबार September 22, 2026

दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित

सन् २०२५ को डिसेम्बरयता जोङ्लेई तथा छिमेकी राज्यहरूबाट तीन लाखभन्दा बढी मानिस आफ्नो घर छाड्न बाध्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जुबा, २३ जेठ (रासस/सिन्ह्वा) :संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्तको कार्यालयले दक्षिण सुडानको पूर्वी जोङ्लेई राज्यमा गम्भीर मानवीय तथा सुरक्षा संकट उत्पन्न भएको चेतावनी दिएको छ । महिनौंदेखि जारी द्वन्द्व र असुरक्षाका कारण सयौं हजार नागरिक घरबार छाड्न बाध्य भएका छन् ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायका अनुसार जोङ्लेई राज्यको अकोबो काउन्टीबाट मात्रै करिब एक लाख ४० हजार मानिस विस्थापित भएका छन् । सन् २०२५ को डिसेम्बरयता जोङ्लेई तथा छिमेकी राज्यहरूबाट तीन लाखभन्दा बढी मानिस आफ्नो घर छाड्न बाध्य भएका छन् ।

सुरक्षाको खोजीमा करिब एक लाख मानिस छिमेकी इथियोपिया पुगेका छन् । प्रभावित क्षेत्रमा जनसंख्याको आवागमन निरन्तर भइरहेकाले अवस्थालाई अस्थिर र चुनौतीपूर्ण मानिएको छ ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालयले अकोबो तथा आसपासका क्षेत्रमा आश्रय लिएका परिवारहरू आगामी दिनमा अझ बढी जोखिममा पर्ने जनाएको छ । भारी वर्षा बढ्दै जाँदा उनीहरू बाहिरी सहयोगबाट थप टाढिने, विभिन्न रोगको जोखिम बढ्ने तथा राहत वितरण कार्य झन् कठिन हुने चेतावनी दिइएको छ ।

सन् २०११ मा स्वतन्त्रता प्राप्त गरेयता दक्षिण सुडानले पटक–पटक सशस्त्र द्वन्द्व, व्यापक विस्थापन तथा जलवायुजन्य विपद्को सामना गर्दै आएको छ ।

तथ्याङ्कअनुसार हाल करिब २४ लाख दक्षिण सुडानी शरणार्थी छिमेकी मुलुकहरूमा बसिरहेका छन् भने झन्डै २० लाख मानिस आफ्नै देशभित्र विस्थापित अवस्थामा रहेका छन् ।

यसैबीच सन् २०२३ को अप्रिलदेखि सुडानमा जारी युद्धका कारण दक्षिण सुडानले १३ लाखभन्दा बढी मानिसलाई आश्रय दिएको छ । तीमध्ये स्वदेश फर्किएका नागरिक, शरणार्थी तथा आश्रय खोज्ने व्यक्तिहरू रहेका छन् ।

मानवीय निकायहरूले द्वन्द्व प्रभावित क्षेत्रमा तत्काल सहायता, सुरक्षा तथा राहत कार्यक्रम विस्तार गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया