श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

केराको बोट सुक्न थालेपछि किसान चिन्तित

बोट सुक्न थालेपछि विकल्पमा केराका बोट मासेर बेसारखेती गर्दै किशान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

म्याग्दी, २४ जेठः जिल्लाको बेनी नगरपालिका-२ खबराको बगैँचामा केराको बोट सुक्न थालेपछि किसानहरु चिन्तित भएका छन् । एक सय २० परिवार रहेको खबराका एक सयभन्दा बढी कृषकले व्यावसायिक केराखेती गर्दै आएका छन् ।

केराखेती खबराका नागरिकको मुख्य आयस्रोत हो । अगुवा किसान सोवित शर्माले पसाउने समयमा टुप्पोमा पात पहेँलो हुने र गाना कालो भएर बोट सुक्ने समस्या बढेपछि किसान चिन्तित बनेका बताउनुभयो ।

“पछिल्लो एक/दुई वर्षयता केराको बोट सुक्ने समस्या बढ्दै जाँदा खबराको केराखेतीमा चुनौती सिर्जना भएको छ”, उहाँले भन्नुभयो, “कृषि प्राविधिकले समस्याको पहिचान र उपचार सफल नहुँदा केराखेती मासिने र किसान मारमा पर्ने जोखिम बढेको छ ।”

सबैजसो बगैँचामा केराको गुभो (बोटको भित्री भाग) कुहिने र बोटसुक्ने समस्या देखिन थालेको किसान बताउँछन् । तीव्र रूपमा फैलिएको बोट सुक्ने समस्या समाधान हुन सकेको छैन । यो समस्या पहिलादेखि नै रहेको भन्दै केराका बोट सुक्न थालेपछि विकल्पमा केराका बोट मासेर बेसारखेती गर्न थालेको किसान घनश्याम सापकोटाले बताउनुभयो ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख सञ्जिव बास्तोलाले खबराको केराखेतीमा देखिएको समस्या पहिचानका लागि बाली प्रयोगशालासँग प्राविधिक सहयोग मागिएको बताउनुभयो । “के कारणले बोट सुकेको हो र कसरी समाधान गर्ने भन्ने विषयमा अनुसन्धानका लागि प्राविधिक टोलीको सहयोग मागेका छौँ”, उहाँले भन्नुभयो, “बाली संरक्षण कार्यक्रममार्फत खबराको केराखेतीमा देखिएको समस्या समाधानका लागि पहल गर्छौं ।”

खबरामा पाखोबारी, खोल्सा, कान्ला, डिल केराको घारीले भरिएका छन् । यहाँका किसानले धान, गहुँ, मकै, कोदोलगायत खाद्यबालीको विकल्पमा केराखेती गरेका हुने । एक जनाले दुई देखि २० रोपनी जग्गामा हजारी जातको केरा लगाएका उहाँले जानकारी दिनुभयो ।

केराखेतीबाट मासिक न्यूनतम रु १०-१२ हजारदेखि ५० हजारभन्दा बढी आम्दानी हुने किसान बताउँछन् । घरव्यवहार चलाउन र छोराछोरी पढाउन केराखेतीको आम्दानीले सहयोग पुगको छ । घरव्यवहार चलाएर बचेको पैसाले कच्ची घरलाई पक्की बनाएको स्थानीय किसान हिरा कुँवरले बताउनुभयो ।

उपयुक्त हावापानी, भूगोल र बजार नजिक भएका कारण खबराका किसानले केराखेती विस्तार गरेका हुन् । बिरुवा रोपेको दुई वर्षदेखि उत्पादन लिन सकिन्छ । एकघरी केरामा एक हजार वटासम्म कोसा लाग्ने गर्छ । धेरैपटक मलजल, खनजोत र गोडमेल गर्नु नपर्ने हुँदा केराखेती अन्य फलफूलको तुलनामा सजिलो भएको किसानको अनुभव छ । केराको घारीलाई मलका रूपमा प्रयोग गर्न सकिन्छ ।

विसं २०५८ मा मानबहादुर थापाले काठमाडौँबाट भित्र्याएको केरा खबरामा मात्रै नभएर म्याग्दी, पर्वत र बाग्लुङमा पनि फैलिएको छ । बेनी नगरपालिकाले खबरालाई केराको पकेट क्षेत्र बनाउने उद्देश्यले तीन वर्षअघि बिरुवा वितरण गरेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
२०८३ श्रावण २९, शुक्रबार
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ पदमा जागिर खुल्यो, भदौ १२ सम्म आवेदन
२०८३ श्रावण २९, शुक्रबार
सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य
२०८३ श्रावण २९, शुक्रबार
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
२०८३ श्रावण २९, शुक्रबार
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
२०८३ श्रावण २९, शुक्रबार
‘विगत बिर्सेर कांग्रेस एकताका लागि पहल गरौँ’ : डा. प्रकाशशरण महत
२०८३ श्रावण २९, शुक्रबार
मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम
२०८३ श्रावण २९, शुक्रबार