जेठ २८, २०८३ बिहिबार June 11, 2026

पचास लाख लागतमा सोलेडाँडामा पर्यटन पूर्वाधार निर्माण

पर्यटन पूर्वाधार निर्माण गरेसँगै घुम्न आउने पर्यटकको सङ्ख्यासमेत बढेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ढोरपाटन (बागलुङ), २७ जेठः बागलुङ र म्याग्दी जिल्लाको सिमानामा पर्ने पर्यटकीय क्षेत्र सोलेडाँडामा रु ५० लाख लगानीमा पर्यटन पूर्वाधार निर्माण गरिएको छ ।

बागलुङको तमानखोला गाउँपालिकाले पर्यटकलाई आकर्षण गर्नका लागि पछिल्लो पाँच वर्षमा सो रकम लगानी गरेर पूर्वाधार निर्माण गरेको हो । समुद्री सतहदखि दुई हजार ६०० मिटरको उचाइमा रहेको सोलेडाँडा वर्षौं अगाडिदेखि चर्चामा थियो । तर घुम्न आउने पर्यटकका लागि घामापानी र हावाहुरी चल्दा ओत लाग्ने कुनै पनि संरचना हुँदा समस्या थियो । गाउँपालिकाले विसं २०७४ सालदेखि नै यहाँ पूर्वाधार निर्माण गर्दै आएको छ ।

सोलेडाँडामा अहिले पाहुन घर, खानेपानीको धारा, शौचालय, पाटीपौवा, सहिद पार्क, लभ पोखरी, पदमार्ग, जडीबुटी पार्क र घेराबारसहितको व्यवस्थित मनोरञ्जन पार्क निर्माण गरेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिनुभयो । गाउँपालिकाले पर्यटन पूर्वाधार निर्माण गरेसँगै घुम्न आउने पर्यटकको सङ्ख्यासमेत बढेको अध्यक्ष बुढा मगर बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “सोलेडाँडा वर्षौं अगाडिदेखि हाम्रो पाकापुर्खाले बस्ने बागलुङ र म्याग्दी दुई जिल्लाका नागरिकहरू भेट भएर गीत गाउने, दुःख सुख साट्ने ठाउँ हो, हामी निर्वाचित भएर आउँदासम्म यहाँ कुनै पनि संरचना बनेको थिएन, अहिले ठूलो लगानी गरेर धेरै पूर्वाधार तयार भइसकेका छन्, हामीहरूले अझै संरचना थप्ने र थप व्यवस्थित बनाउने योजनामा छौँ ।”

अध्यक्ष बुढा मगरले नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटन घुम्ने पर्यटकलाई तमानेखाला हुँदै लैजानका लागि सडक सञ्जालले जोड्ने योजना बनाएको उहाँको भनाइ छ । गाउँपालिकाले पालिका केन्द्र बोङ्गादोभानदेखि खुङ्खानी हुँदै गुर्जाघाटदेखि ढोरपाटन जोड्ने सडक निर्माण गर्न थालेको अध्यक्ष बुढा मगरले जानकारी दिनुभयो ।

सोलेडाँडाको प्रचारप्रसार र यहाँ पूर्वाधार निर्माण गरेपछि घुम्न आउने पर्यटकको चहलपहल बढेको तमानखोला गाउँपालिका–४ का अध्यक्ष छप्रसाद सिर्पालीले जानकारी दिनुभयो । उहाँका अनुसार बिदाको दिन बढी पर्यटक यहाँ आउने गरेका छन् । अन्य अन्य दिन पनि पर्यटकले सोलेडाँडा भरिने उहाँको भनाइ छ ।

“पर्यटक भित्र्याउनका लागि पूर्वाधार निर्माण र प्रचारप्रसार महत्त्वपूर्ण हुने रहेछ, स्थानीय तह स्थापना हुनुपूर्व पर्यटकको आगमन निकै कम थियो, तर अहिले धेरै ठूलो सङ्ख्यामा पर्यटक आउने गरेका छन्”, वडाध्यक्ष सिर्पालीले भन्नुभयो, “यहाँको सडक थप व्यवस्थित गर्नुपर्नेछ, त्यसपछि अझै बढ्ने अपेक्षा लिएका छौँ ।”

सोलेडाँडामा हिउँदमा हिउँ खेल्न र बर्खाको समयमा गर्मी छल्नका लागि आउने पर्यटकको सङ्ख्या ठूलो छ । पर्यटक आउन थालेपछि तमान गाउँ, लाम्मेला, हिलेलगायतका क्षेत्रमा उत्पादन भएका वस्तुले बजार पाउन थालेको स्थानीय बताउँछन् । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया