असोज ६, २०८३ मंगलबार September 22, 2026

सर्त पूरा नभएसम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी

अराघचीले प्रारम्भिक सम्झौतापछि संयुक्त राज्य अमेरिकालाई आफ्नो प्रतिबद्धता पूरा गर्न ६० दिनको समय दिइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तेहरान (इरान), जेठ ३० गते । अन्तरिम सम्झौता कार्यान्वयन नभएसम्म संयुक्त राज्य अमेरिकासँग आणविक वार्ता अगाडि नबढ्ने चेतावनी दिदै इरानी विदेश मन्त्री अब्बास अराघचीले पुर्व निर्धारित प्रावधान पूरा नभएसम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने बताउनुभएको छ ।

इरानको इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आइआरआइबी) सँग कुरा गर्दै अराघचीले प्रारम्भिक सम्झौतापछि संयुक्त राज्य अमेरिकालाई आफ्नो प्रतिबद्धता पूरा गर्न ६० दिनको समय दिइने, र दायित्व पूरा भएपछि मात्र स्थिति सहज हुने बताउनुभएको छ । समझदारी तथा ज्ञापन-पत्रका प्रावधान पूरा नभएसम्म अन्तिम सम्झौतामा हस्ताक्षर नहुने इरानी विदेश मन्त्रीलाई उद्धृत गर्दै आइआरआइबीले जनाएको छ ।

अराघचीले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्भित्र सामूहिकरूपमा निणय गरिने र सम्झौता स्वीकृत भएमा हस्ताक्षर गरिने बताउनुभएको छ । उहाँले अमेरिकी अधिकारीले सम्झौताको पूर्ण पालना गर्न नसक्ने आरोप लगाउँदै इरानले कार्यान्वयन चुनौतिको अपेक्षा गरेको पनि चेतावनी दिनुभएको छ ।

यस्ता प्रतिवद्धता तोड्नु अमेरिकी राजनीतिज्ञको स्वभाव भएको बताउँदै उहाँले सम्झौता कार्यान्वयन नगरी अवरोध सिर्जना गरेमा अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने बताउनुभएको छ । आफ्नो सुरक्षाको ग्यारेन्टीका लागि सुरक्षा परिषद्, संयुक्त राष्ट्र सङ्घ वा अन्तरक्षेत्रीय गठबन्धनमा भर नपरी भगवान, जनता र आफ्नै सशस्त्र सेनाको समन्वयमा अगाडी बढ्ने उहाँले बताउनुभएको छ । रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया