लन्डन, जेठ ३१ गते । बेलायतले इङ्ग्लीस च्यानलमा रुसको ‘सेडो फ्लीट’ सँग सम्बन्धित एक प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा लिएपछि युरोपेली जलमार्गमा सुरक्षा र प्रतिबन्ध कार्यान्वयनबारे बहस पुनः चर्किएको छ । बेलायती रक्षा मन्त्रालयका अनुसार यो अपरेसन युक्रेन युद्धपछि रुसमाथि लगाइएका प्रतिबन्ध कार्यान्वयनका लागि गरिएको पछिल्ला कडा कदममध्ये एक हो ।
मन्त्रालयका अनुसार आइतबार करिब छ घण्टा लामो संयुक्त अपरेसन सञ्चालन गरिएको थियो । अपरेसनमा चिनुक हेलिकाेप्टर, फ्रिगेट एचएमएस साउथह्याम्पटन लगायतका नौसैनिक जहाज र हवाई साधन सहभागी थिए । सो क्रममा रोयल मरीन कमान्डो र राष्ट्रिय अपराध एजेन्सीका विशेष तालिम प्राप्त कानुन प्रवर्तन अधिकारीले एसएमवाइआरटिओएस नामक जहाजमा चढेर नियन्त्रण लिएका हुन् ।
बेलायती अधिकारीले यो अपरेसनलाई युक्रेनसँग जारी युद्धका सन्दर्भमा ‘रूसको सेडो फ्लीट विरुद्धको पहिलो यस प्रकारको समन्वित कदम’ भएको बताएका छन् । नियन्त्रणमा लिइएको जहाजलाई अहिले इङ्गल्यान्डको दक्षिणी तट नजिक लङ्गरमा राखेर निगरानीमा राखिने बताइएको छ ।
रक्षामन्त्री डान जार्विसले यस कदमले रुसको आर्थिक स्रोतमा प्रत्यक्ष असर पार्ने र युक्रेनविरुद्धको युद्धलाई आर्थिक रूपमा कमजोर बनाउने दाबी गर्नुभएको छ । उहाँका अनुसार यो अपरेसन फ्रान्ससँग नजिकको समन्वयमा सम्पन्न गरिएको हो र यसले युरोपेली सुरक्षालाई बलियो बनाउने उद्देश्य राखेको छ । प्रधानमन्त्री किर स्टार्मरले पनि यस अपरेसनलाई समर्थन गर्दै यसले रुसलाई थप सन्देश दिएको र प्रतिबन्ध उल्लङ्घन गर्ने गतिविधिमा संलग्न पक्षलाई स्पष्ट चेतावनी दिएको बताउनुभएको छ ।
रुसले पश्चिमी प्रतिबन्धबाट जोगिन प्रयोग गर्दै आएको ‘सेडो फ्लीट’अन्तर्गत सयौँ पुराना तथा अस्पष्ट स्वामित्व भएका तेल ट्याङ्कर समावेश छन्, जसलाई बेलायतसहितका देशले प्रतिबन्धित सूचीमा राखिसकेका छन् । यस्ता जहाजलाई बेलायती बन्दरगाह र सेवामा पहुँच निषेध गरिएको छ ।
बेलायतले सन् २०२२ मा युक्रेनमा रुसले आक्रमण गरेयता यस्ता जहाजमाथि नियन्त्रण र प्रतिबन्ध कडा बनाउँदै आएको छ । मार्च महिनामा सरकारले बेलायती जलक्षेत्रमा यस्ता जहाज चढेर नियन्त्रणमा लिन सक्ने अधिकार सेनालाई दिएको घोषणा गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा तेल आपूर्ति र मूल्य स्थिरताबारे चिन्ता बढिरहेका बेला यो कदम चालिएको हो ।
यसअघि फ्रान्स, बेल्जियम, फिनल्यान्डलगायतका युरोपेली देशले पनि यस्तै प्रकृतिका प्रतिबन्ध उल्लङ्घन गर्ने जहाज नियन्त्रणमा लिइसकेका छन् । बेलायती रक्षा मन्त्रालयले सेडो फ्लीटमाथिको यो कारबाहीले रुसको युद्ध वित्तीय संरचनामा प्रत्यक्ष प्रभाव पार्ने दाबी गर्दै भविष्यमा पनि यस्ता अपरेसन जारी रहने सङ्केत दिएको छ । रासस/एएफपी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया