काठमाडौं : गत वर्ष सरकारसँग भएको नौबुँदे सहमति कार्यान्वयन नभएपछि नेपाल शिक्षक महासंघले पुनः आन्दोलनको तयारी गरेको छ । विद्यालय शिक्षक र कर्मचारीहरूले बजेटमा माग सम्बोधन नभएको भन्दै आन्दोलनको तयारी थालेका हुन् ।
गत वर्ष शिक्षक महासंघले शिक्षा ऐन जारी गर्न माग राख्दै महिना दिनसम्म सडक आन्दोलन गरेको थियो । शिक्षा ऐन विधेयक पास गर्ने दबाब दिँदै आएको महासंघले अहिलेको सरकारले पनि कार्यान्वयन नगरेको भन्दै असन्तुष्टि जनाएका छन् । गत वर्ष शिक्षक महासंघको नेतृत्वमा काठमाडौंमा २९ दिन लामो आन्दोलन भयो । महासंघको नेतृत्वमा देशभरका शिक्षकले काठमाडौं आएर २०८१ चैत २० देखि २०८२ वैशाख १७ गतेसम्म आन्दोलन गरेका थिए । शिक्षकको माग सम्बोधन गर्न सरकारले मन्त्रिपरिषद्बाट नौबुँदे पारित गरेको थियो ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी भन्छन्, ‘वैशाख १७ गते भएको नौबुँदे सम्झौता यो सरकारबाट कार्यान्वयन भएको छैन । कर्मचारीलाई तलबमा पनि विभेद गरेको छ । त्यसैकै लागि आन्दोलनको तयारी थालेका हौं ।’ २०८० भदौ २७ गते तत्कालीन संसद्मा विद्यालय शिक्षा विधेयक दर्ता भएको थियो । र, शिक्षा समितिबाट विधेयक पास भएर संसद्मा पेस गरिएको थियो ।
राष्ट्रिय परिषद् बैठकमार्फत आन्दोलनको रणनीति तय गर्ने उनले बताए । ‘हामी सरकारसँग पनि छलफल गरिरहेका छौं, परिस्थितिले आन्दोलनतर्फ लैजाँदै छ,’ उनले भने, ‘आन्दोलनका कार्यक्रमबारे चाँडै नै जानकारी गराउँछौं ।’
महासंघले आफ्ना मागबारे सरकारलाई पटक–पटक ध्यानाकर्षण गराए पनि बेवास्ता गरेको उनको भनाइ छ । तत्कालीन प्रतिनिधिसभाबाट विधेयक पास गर्ने तयारी थियो । तर जेनजी आन्दोलनका कारण संसद् नै विघटन भएपछि विधेयक पास हुन पाएन ।
यता, शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा ऐनलाई प्राथमिकतामा राखेको जनाएको छ । विधेयकको मस्यौदा निर्माणको क्रममा सरोकारवाला सबै पक्षसँग छलफल गरेर अन्तिम रूप दिने योजना मन्त्रालयको छ ।
बजेटमा बेवास्ता
आर्थिक वर्ष २०८३/०८४को बजेटप्रति शिक्षक÷कर्मचारी सन्तुष्ट छैनन् । शिक्षक–कर्मचारीले बजेटमा समेत विभेद गरेको आरोप लगाएका छन् । अध्यक्ष सुवेदी भन्छन्, ‘शिक्षामा कुल बजेटको २० प्रतिशत लगानी हुनुपर्छ, बजेटले लामो समयदेखि न्यून पारिश्रमिकमा काम गरिरहेका प्रारम्भिक बालशिक्षाका शिक्षक तथा विद्यालय कर्मचारीको पीडालाई बेवास्ता गरेको छ ।’
शिक्षण सिकाइ अनुदान शिक्षकका लागि महँगी भत्ताको उपलब्धतासमेत सुनिश्चित गर्नुपर्ने महासंघको माग छ । प्रारम्भिक बालशिक्षाका शिक्षक र विद्यालय कर्मचारीको पद र तह तोकी सोअनुसार तलब–भत्तालगायत सुविधा प्रदान गर्न तथा सबै सिकाइ अनुदान शिक्षकलाई महँगी भत्ता उपलब्ध गराउन महासंघले माग गरेको छ ।
कर्मचारीका ५ बुँदे माग
कर्मचारीहरू पाँचबुँदे माग राखेर आन्दोलन गरिरहेका छन् । उनीहरूले दरबन्दी सिर्जनादेखि सर्वोच्च अदालतका फैसला कार्यान्वयन गर्नुपर्नेसम्म माग राखेका छन् । विद्यालय कर्मचारी दरबन्दी सिर्जना गरी कार्यरत कर्मचारीको समायोजन गर्नुपर्ने, विगतका सहमति अक्षरशः पालना गर्नुपर्ने, तत्काल शिक्षा ऐन जारी गर्नुपर्ने, ६० वर्ष पुगेका कर्मचारीलाई सम्मानजनक बिदाइ दिनुपर्ने र सर्वोच्च अदालतका फैसला कार्यान्वयन गर्नुपर्ने उनीहरूको माग छ ।
नौ बुँदे सहमतिमा के थियो ?
सहमतिको पहिलो बुँदामा शिक्षकहरूको स्वास्थ्य उपचारको सम्बन्धमा काठमाडौंमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई उपचार सहुलियत र सुविधाको व्यवस्था गर्ने उल्लेख थियो । अस्थायी प्रकृतिका शिक्षक राहत, अस्थायी–करार, साबिक उमावि, सिकाइ अनुदान, प्राविधिक धार र विशेष शिक्षा, बाल विकास सहजकर्ता बिरामी बिदा सञ्चित हुने र त्योबापतको रकम अवकाशको बखत एकमुष्ट प्रदान गर्ने र प्रारम्भिक बाल विकास सहजकर्ता (बाल विकास शिक्षक) र विद्यालय कर्मचारीका लागि नेपाल सकारबाट तोकिएअनुसार व्यवस्था गर्ने सहमती भएको थियो ।
त्यस्तै, आर्थिक वर्ष २०८२–८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय तहका, प्राथमिक द्वितीय र निम्न माध्यमिक तृतीयको र माध्यमिक प्रथम श्रेणीका लागि निजामतीसरह ग्रेड संख्या र रकम कायम गर्ने, स्थायी तथा अस्थायी प्रकृतिका कोटाका सबै शिक्षकले प्रचलित कानुनबमोजिम दुर्गम भत्ता उपलब्ध पाउने व्यवस्था गर्ने, सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने र नेपाल सरकारको मर्यादाक्रममा शिक्षकलाई पनि समावेश गर्ने सहमति शिक्षक र सरकारबीच भएको थियो ।
शिक्षक र सरकारबीच निम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षकहरूको तलब तथा ग्रेड माध्यमिक द्वितीयसरह हुने गरी कायम गर्ने र नेपाल शिक्षक महासंघको आन्दोलनको क्रममा घाइते भएका सम्पूर्ण शिक्षक सुरक्षाकर्मी पत्रकार तथा कर्मचारीको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने सहमति भएको थियो ।मध्यान्ह दैनिकबाट
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया