असार ४, २०८३ बिहिबार June 18, 2026

रास्वपामा महाधिवेशनको सरगर्मी, पदाधिकारीमा आकांक्षीको ओइरो

१२९ सदस्यीय केन्द्रीय समितिका प्रत्येक पदमा औसत पाँच जनासम्म आकांक्षी देखिएका छन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो पहिलो ऐतिहासिक केन्द्रीय महाधिवेशनको तीव्र तयारीमा जुटेको छ । निर्वाचन कार्यतालिका अनुसार यही असार ७, ८ र ९ गते चितवनको भरतपुरमा यो महाधिवेशन हुँदै छ । चार वर्षअघि स्थापना भएको रास्वपाले छोटो समयमै नेपाली राजनीतिमा बलियो उपस्थिति जनाएको छ । त्यसैले यस पटकको महाधिवेशनलाई पार्टीलाई संस्थागत गर्ने र आगामी राजनीतिक दिशा तय गर्ने एउटा महत्त्वपूर्ण मोडका रूपमा हेरिएको छ । महाधिवेशन नजिकिँदै जाँदा देशभरका नेता र कार्यकर्ताहरूमा उत्साह थपिएको छ भने चितवनमा राजनीतिक सरगर्मी निकै बढेको छ । पार्टीले आफ्ना अधिकांश वडा, पालिका, जिल्ला र प्रदेश तहका अधिवेशनहरू सम्पन्न गरेर आफ्नो पूरै संयन्त्र अहिले केन्द्रीय महाधिवेशनमा परिचालन गरेको छ ।

पार्टीको केन्द्रीय नेतृत्व सर्वसम्मत रूपमा चयन गर्न शीर्ष नेताहरूले ठूलो कसरत गरिरहेका छन् । तर, पदाधिकारी र केन्द्रीय सदस्य बन्न इच्छुक नेताहरूको संख्या धेरै भएपछि यो प्रयास निकै चुनौतीपूर्ण बन्ने देखिएको छ । बहालवाला मन्त्री, सांसद र पुराना केन्द्रीय सदस्यहरू नै पदका लागि प्रतिस्पर्धामा उत्रने तयारीमा छन् । रास्वपाको हालको व्यवस्थाअनुसार केन्द्रीय पदाधिकारी सभापतिसहित १३ सदस्यीय हुने प्रावधान छ । पार्टी स्रोतका अनुसार, सभापति पदमा वर्तमान सभापति रवि लामिछाने र वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाहबाहेक अन्य पदहरूमा अत्यधिक आकांक्षीहरू देखिएका छन् । चुनावअघि बालेन समूहसँग भएको एकतापछि वरिष्ठ नेताको पद सिर्जना गरिएको थियो ।

अहिले सहमहामन्त्री विपिनकुमार आचार्य नेतृत्वको टोलीले विधान संशोधनको मस्यौदा तयार पारिरहेको छ । विधान संशोधन गरेर वरिष्ठ नेताको पदलाई औपचारिकता दिने र पदाधिकारीको संख्यासमेत थपघट गर्नसक्ने गृहकार्य भइरहेको छ । सभापतिमा लामिछाने र वरिष्ठ नेतामा शाह सर्वसम्मत हुने निश्चित जस्तै देखिए पनि बालेन समर्थक भूपदेव शाहको नाम पनि कतै कतै चर्चामा आएको छ ।

विशेषगरी उपसभापति र महामन्त्री जस्ता महत्त्वपूर्ण पदहरूमा तीव्र प्रतिस्पर्धा हुने संकेत देखिएको छ । रास्वपाको विधानअनुसार अनिवार्य एक महिलासहित तीनजना उपसभापति रहने व्यवस्था छ । हाल उपसभापतिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले मात्र हुनुहुन्छ । अर्का उपसभापति डोलप्रसाद अर्याल (डिपी) सभामुख बन्नुभएकाले उहाँ यसपटक प्रतिस्पर्धामा उत्रनुहुने छैन । उपसभापति पदका लागि उहाँबाहेक ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, संसदीय दलका उपनेता गणेश पराजुली र भूमिनन्द बराल आकांक्षी देखिनुभएको छ । त्यसैगरी कानुनमन्त्री सोविता गौतम, लिमा अधिकारी र विवेकशील साझाबाट समाहित हुनुभएकी समीक्षा बाँस्कोटा पनि उपसभापतिको दाबेदारका रूपमा प्रस्तुत हुनुभएको छ ।
महामन्त्री पदमा पनि यस्तै अवस्था छ ।

हाल महामन्त्रीमा कविन्द्र बुर्लाकोटी र भूपदेव शाह हुनुहुन्छ । विधानमा एकजना मात्र महामन्त्री रहने व्यवस्था भए पनि यसलाई संशोधन गरेर दुई बनाउने तयारी भइरहेको छ । यस पदका लागि भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र परराष्ट्रमन्त्री शिशिर खनालको नाम चर्चामा छ । लम्साल प्रधानमन्त्री बालेनका विश्वासपात्र हुनुहुन्छ भने रावल रवि लामिछाने निकट मानिनुहुन्छ । यसबाहेक वर्तमान महामन्त्रीद्वय कविन्द्र र भूपदेव स्वाभाविक दाबेदार हुन् भने विपिन आचार्य, मनिष झा, दीपक बोहोरा, प्रमोद न्यौपाने र यज्ञमणी पनि आकांक्षीका रूपमा देखिनुभएको छ ।

नीति र विचारमा बहस

पार्टीभित्र अहिले दुई किसिमका मतभेदहरू देखापरेका छन् । सरकारको नेतृत्व गरिरहेका मन्त्रीहरू र सांसदहरूलाई पार्टीको पदाधिकारीमा दाबी नगर्न अनुरोध गर्नुपर्छ भन्ने एउटा पक्ष छ । उहाँहरूको भनाइमा सरकारमा रहेकाहरूले ऐन, कानुन निर्माण र देशको विकासमा परिणाममुखी काम गर्नुपर्ने भएकाले पार्टीको पदमा नयाँ अनुहार आउनुपर्छ । तर, अर्को पक्ष भने मन्त्री र सांसदहरू नै संगठन हाँक्न सक्षम हुने भन्दै आकांक्षी बनिरहेका छन् । बहालवाला मन्त्री र सांसदहरू सबै पदाधिकारीको दौडमा सामेल भएपछि नेतृत्व व्यवस्थापन कसरी गर्ने भन्ने कुरा पार्टीका लागि निकै चुनौतीपूर्ण बन्ने देखिएको छ ।

१२९ सदस्यीय केन्द्रीय समितिका प्रत्येक पदमा औसत पाँच जनासम्म आकांक्षी देखिएका छन् भने समग्रमा ६०० भन्दा बढी नेताहरू विभिन्न पदको दौडमा छन् । केन्द्रीय समितिमा कम्तीमा एकतिहाइ महिला सहभागिता अनिवार्य हुनुपर्ने व्यवस्था छ । महिला र खसआर्य क्लस्टरमा पनि आकांक्षीहरूको भिड निकै बाक्लो छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, हरि ढकाल, प्रकाशचन्द्र परियार, डा. अमरेशकुमार सिंह, निशा डाँगी, गणेश कार्की, रञ्जु दर्शना, अरनिको पाण्डे, बसुमाया तामाङ, डा. चन्दा कार्की र सरिता ज्ञवाली लगायतका नेताहरू २५ सदस्यीय सचिवालय सदस्यको दौडमा हुनुहुन्छ ।

विगतको संसदीय चुनाव अगाडि रास्वपामा विवेकशील साझा पार्टी, बालेन शाह समूह, खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल, थरुहट आन्दोलनका अगुवा र ‘जेन-जी’ अभियन्ताहरू समाहित भएका थिए । यी सबै फरक विचार र पृष्ठभूमिबाट आएका समूहहरूलाई मिलाएर सन्तुलित नेतृत्व चयन गर्नु यो महाधिवेशनको मुख्य चुनौती हो । विपक्षमा रहँदा लोकप्रिय नारा दिन सजिलो भए पनि सत्तामा पुगेपछि जनताको अपेक्षा पूरा गर्नुपर्ने दबाब रास्वपालाई छ । त्यसैले सुशासन, भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहको समीक्षा पनि महाधिवेशनमा हुने देखिन्छ ।हिमालय टाइम्स

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
२०८३ असार ४, बिहिबार
गर्मी छल्न भेडेटार आउने पर्यटकको कोसेली ‘अर्गानिक तरकारी’
२०८३ असार ४, बिहिबार
बाजुराको लाम्पाटा सुरक्षा वेशमा हेलिकप्टरमार्फत बन्दोबस्तीका सामग्री पुर्‍याइयो
२०८३ असार ४, बिहिबार
विश्वकपमा घानाको सुखद सुरुआत, इन्जुरी टाइममा पानामामाथि १–० को जीत
२०८३ असार ४, बिहिबार
धौलागिरिका घुम्ती गोठ सङ्कटमा
२०८३ असार ४, बिहिबार
चीनको भ्रमण पुरा गरी परराष्ट्रमन्त्री स्वदेश फिर्ता
२०८३ असार ४, बिहिबार
राष्ट्र बैंकद्धारा आज बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ असार ४, बिहिबार