श्रावण २३, २०८३ शनिबार August 8, 2026

क्यान्सरको औषधी पाउनै कठिन

भारतीय उत्पादकले औषधीको मूल्य बढाएर पठाएका कारण नेपालमा पुरानै दरमा आपूर्ति असम्भव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार २ गते । भारत सरकारले क्यान्सर रोगको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधी कार्बोप्लाटिन र सिसप्लाटिनको मूल्यवृद्धि गरेसँगै नेपालमा ती औषधीको आपूर्ति व्यवस्थापनमा चुनौती थपिएको छ । भारतको केन्द्रीय सरकारले गत बुधबार ती औषधीको मूल्यवृद्धि गर्ने निर्णय गरेको थियो । सोही अनुसार शुक्रबार भारतको राजपत्रमा मूल्य संशोधनसम्बन्धी सूचना प्रकाशित भएको थियो । नेपाल औषधी आयातकर्ता सङ्घका अनुसार हाल भारतमा यी औषधीको मूल्य नेपालभन्दा करिब ७१ प्रतिशतसम्म बढी छ ।

औषधी व्यवस्था विभागकी निमित्त महानिर्देशक शिवानी खड्गीले देशमा क्यान्सर औषधी आपूर्तिमा कठिनाइ देखिएको जानकारी दिँदै मूल्य प्रणालीमा पुनरवलोकन आवश्यक रहेको बताउनुभयो । महानिर्देशक खड्गीका अनुसार नेपालमा स्वचालित मूल्य समायोजन प्रणाली नहुँदा समस्या देखापरेको हो । खड्गीले भन्नुभयो, “कतिपय औषधी नेपालमा महँगो र कतिपय भारतभन्दा सस्तो अवस्थामा छन् । स्वचालित मूल्य प्रणाली नहुँदा यस्तो असन्तुलनका कारण आपूर्तिमा समस्या देखिन थालेको छ ।”

उहाँले भारतमा औषधीमा मूल्यवृद्धि भएको जानकारी दिँदै त्यसको प्रभाव नेपालमा पनि देखिएको बताउनुभयो । उहाँले आउँदो साता औषधी परामर्श परिषद्को बैठक बसेर स्वचालित मूल्य प्रणाली लागु गर्ने प्रस्ताव पेस गर्ने जानकारी दिनुभयो । परिषद्ले स्वचालित मूल्य प्रणाली पास गरेपछि मन्त्रीपरिषद्मा पेस गर्ने छ । मन्त्रीपरिषद्ले पास गरेपछि मात्र औषधीको मूल्यमा स्वचालित प्रणाली लागु हुने छ ।

नेपाल औषधी आयातकर्ता सङ्घका अध्यक्ष पवन आचार्यका अनुसार हाल कार्बोप्लाटिन १५० एमजी इन्जेक्सनको मूल्य नेपालमा एक हजार ३९३.८७ तोकिएको छ भने भारतमा यसको मूल्य दुई हजार २८६.८५ पुगेको छ । त्यसै गरी कार्बोप्लाटिन ४५० एमजीको नेपालमा मूल्य चार हजार १३०.७७ रहेकोमा भारतमा सोही औषधीको मूल्य छ हजार ८५९.९४ पुगेको छ ।

विभागका निमित्त महानिर्देशक खड्गीले नेपालमा क्यान्सरको औषधीमा मूल्य बढ्ने सम्भावना रहेको जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समय पश्चिम एसियाली क्षेत्रमा युद्धका कारण क्यान्सर औषधीको कच्चा पदार्थ अभाव तथा ढुवानी खर्च वृद्धि भएको छ । सोही कारणले औषधी उत्पादन लागत बढेको छ । यसै कारण भारत र नेपालबिच क्यान्सर औषधीको मूल्यमा ७१ प्रतिशतसम्मको अन्तर देखिएको हो ।

आयातकर्ता सङ्घका अध्यक्ष आचार्यले भारतीय उत्पादकले औषधीको मूल्य बढाएर पठाएका कारण नेपालमा पुरानै दरमा आपूर्ति सम्भव नहुने जानकारी गराउनुभयो । उहाँले स्वचालित मूल्य समायोजन प्रणाली तत्काल लागु गर्नुपर्नेमा जोड दिँदै जुन देशबाट औषधी आयात हुन्छ, त्यही देशको मूल्यमा नेपालका बिरामीले औषधी पाउनुपर्ने बताउनुभयो । स्वचालित प्रणाली लागु भएमा बजारमा वैज्ञानिक, पारदर्शी र सन्तुलित मूल्य व्यवस्था कायम गर्न सकिने उहाँ बताउनुहुन्छ ।

हाल नेपालमा प्रयोग हुने अधिकांश औषधी भारत र बङ्गलादेशबाट आयातीत भएकाले अन्तर्राष्ट्रिय मूल्य परिवर्तनको प्रत्यक्ष प्रभाव देशभित्र पर्ने गरेको छ । अध्यक्ष आचार्यले हालसम्म जेनतेन औषधी आयात गर्दै आएको जानकारी दिँदै भारतमा मूल्यवृद्धि भएपछि पुरानै दरमा आपूर्ति सम्भव नहुने अवस्था देखिएको बताउनुभयो । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले पनि औषधी व्यवस्था विभागका पदाधिकारी तथा औषधी आयातर्कतासँग नेपालमा क्यान्सरको औषधी अभाव हटाउन छलफल गर्नुभएको छ । यसैबिच नेपाल औषधी आयातकर्ता सङ्घले क्यान्सरको औषधी आपूर्तिमा कठिनाइ भएकाले सरकारलाई सहज वातावरण बनाउन अनुरोध गरेको छ । सङ्घले समस्या समाधानका लागि सरकारसँग सहकार्य गर्दै अघि बढ्ने स्पष्ट गरेको छ ।

सङ्घको विस्तारित बैठकले औषधी आयात व्यवस्थापन, आपूर्ति प्रणाली सुदृढीकरण तथा बिरामीलाई गुणस्तरीय औषधीको पहुँच सुनिश्चित गर्ने विषयमा विभिन्न निर्णय गरेको छ । सङ्घका अध्यक्ष पवन आचार्यले बैठकमा क्यान्सर उपचारमा प्रयोग हुने कार्बोप्लाटिन, सिसप्लाटिनलगायत औषधी आयात तथा आपूर्तिमा पछिल्लो समय देखिएका चुनौतीबारे विस्तृत समीक्षा गरिएको जानकारी दिनुभयो ।

समस्या समाधानका लागि सरकारसँग समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो । आचार्यले नेपाली नागरिकले गुणस्तरीय औषधी प्राप्त गर्ने अधिकार सुनिश्चित गर्न सङ्घले आफ्नो भूमिका अझ प्रभावकारी ढङ्गले निर्वाह गर्ने बताउनुभयो ।  गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य
२०८३ श्रावण २३, शनिबार
राष्ट्र बैङ्कद्वारा आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ श्रावण २३, शनिबार
सरकारी सेवा प्रवाहमा प्रगति
२०८३ श्रावण २३, शनिबार
लायन्स डिस्ट्रिक्ट ३२५ के नेपालको प्रथम क्याबिनेट बैठक आजदेखि काठमाडौंमा
२०८३ श्रावण २३, शनिबार
रास्वपा सांसदकै घेराबन्दीमा सरकार
२०८३ श्रावण २३, शनिबार
आफ्नै सांसदको आलोचनाप्रति बालेन असन्तुष्ट, ‘एक्लै लड्नुपर्ने अवस्था आयो’
२०८३ श्रावण २३, शनिबार
काँग्रेस इतरको राष्ट्रिय भेलाको तयारी गर्न ३२ समिति गठन
२०८३ श्रावण २३, शनिबार