असार २, २०८३ मंगलबार June 16, 2026

नेपाललाई सघाउन चीन तयार

बहुआयामिक सहकार्य अघि बढाउँदै चीनले नेपालको भावी विकास र समृद्धिमा सघाउने प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असार २ गते । नेपाल र चीनले छिमेकी सम्बन्धलाई बहुआयामिक सहकार्यमार्फत आपसी जनताको हितमा केन्द्रित गर्नेबारे छलफल गरेका छन् । चीन भ्रमणमा रहनुभएको नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र चीनका समकक्षी वाङ यीबिच सोमबार चीनको बेइजिङमा यसबारे उच्चस्तरीय छलफल भएको हो ।

द्विपक्षीय भेटवार्तामा बहुआयामिक सहकार्य अघि बढाउँदै चीनले नेपालको भावी विकास र समृद्धिमा सघाउने प्रतिबद्धता जनाएको छ । परराष्ट्रमन्त्री खनाल चीनका विदेशमन्त्री वाङको मैत्रीपूर्ण निमन्त्रणामा चार दिवसीय औपचारिक भ्रमणका लागि आइतबार चीन पुग्नुभएको हो । उच्चस्तरीय भेटबारे अवगत गराउँदै मन्त्री खनालले भन्नुभएको छ, “आज बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीलाई भेट्न पाउँदा खुसी लाग्यो ।

हामीले कनेक्टिभिटी, सीमा व्यवस्थापन, व्यापार, प्रविधि हस्तान्तरण र बहुपक्षीय सहयोगका क्षेत्रसहित द्विपक्षीय सम्बन्धको सम्पूर्ण पक्षमा व्यापक छलफल ग¥यौँ ।” उहाँले जनसम्बन्ध विस्तार गर्नुका साथै दुई देशको पारस्परिक हितका लागि नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ पार्ने साझा प्रतिबद्धता व्यक्त गरेको प्रस्ट पार्नुभयो । परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री यीले नेतृत्व गर्नुभएको दुई देशका प्रतिनिधिमण्डलसहितको द्विपक्षीय वार्तामा आपसी मित्रता, सद्भाव र सहयोगले चिनिएको नेपाल–चीन सम्बन्धको सम्पूर्ण पक्षमा गहन छलफल भएको बेइजिङस्थित नेपालको राजदूतावासले जनाएको छ । छलफलमा मन्त्री खनालले नेपालको भूमि चीनविरुद्ध प्रयोग गर्न नदिने प्रस्ट पार्दै एक चीन नीतिप्रति नेपाल सरकारको दृढ प्रतिबद्धता दोहो¥याउनुभयो । मन्त्री खनालले नेपाल र चीनबिचको मित्रता सहस्राब्दीदेखि फैलिएको र अटल रहेको औँल्याउँदै नेपालको राष्ट्रिय विकास र जनताको जीविकोपार्जनमा सुधार, नेपाललाई समान मित्रका रूपमा निरन्तर व्यवहार तथा नेपालको सार्वभौमसत्ता र स्वतन्त्रताको सम्मानप्रति चीनले देखाएको सद्भावको प्रशंसा गर्नुभयो ।

छलफलमा दुई छिमेकी सम्बन्धलाई राष्ट्रहितमा केन्द्रित गर्दै अघि बढ्नेबारे प्रतिबद्धता जनाइएको छ । दुवै देशले पारस्परिक सम्मान, एक अर्काको प्राथमिकता र संवेदनशीलताप्रति साझा प्रतिबद्धता स्वीकार गरेर अघि बढ्ने प्रतिबद्धता जनाएको नेपाली दूतावासले जनाएको छ । दुवै देशबिच पूर्वाधार विकास, सम्पर्क सञ्जाल निर्माण, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि र डिजिटलाइजेसन, पर्यटन, रासायनिक मल आयात निर्यात, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषणसहित जनसम्बन्धलगायत विविध क्षेत्रमा सहकार्यलाई बढाउन सकिने विषयमा पनि दुई मन्त्री सहमत हुनुभएको दूतावासले जानकारी दिएको छ ।

छलफलमा चीनका विदेशमन्त्री यीले नेपाल चीनबिचको परम्परागत मित्रतालाई निरन्तरता दिँदै नेपालको नयाँ उपलब्धि संस्थागत गर्न चीन सरकारको तत्परता व्यक्त गर्नुभयो । परराष्ट्रमन्त्री खनालसँगको वार्ताक्रममा वाङले राख्नुभएको धारणा उद्धृत गर्दै चीनको विदेश मन्त्रालयले भनेको छ, “राजनीतिक पारस्परिक विश्वास बढाउन र समयसँगै चीन–नेपाल रणनीतिक सहयोगमा नयाँ उपलब्धि प्रवर्धन गर्न चीन नेपालसँग काम गर्न इच्छुक छ ।”

वाङले चीन र नेपाल हिमालय र नदीसँगै साझा भाग्य बाँडेर बसेको देश भएको उल्लेख गर्दै कूटनीतिक सम्बन्ध स्थापना भएदेखि, अन्तर्राष्ट्रिय परिस्थिति र नेपालको घरेलु परिस्थितिमा आएको परिवर्तनलाई ध्यान नदिई, दुवै देशले शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्तलाई निरन्तर समर्थन गर्दै आएको प्रस्ट पार्नुभयो । उहाँले द्विपक्षीय सम्बन्धको दिगो विकास यात्रामा सन् २०१९ मा चीनका राष्ट्रपति सी चिनफिङले नेपालको ऐतिहासिक भ्रमण गर्नुभएको स्मरण गर्नुभयो । जस अनुसार दुई देशले विकास र समृद्धितर्फ उन्मुख दिगो मित्रताको रणनीतिक सहकारी साझेदारी स्थापना भएको औँल्याउनुभयो ।

यीले थप्नुभयो, “चीन सधैँ नेपालको विकास, पुनरुत्थान र आधुनिकीकरण प्रक्रियामा एक विश्वसनीय र भरपर्दो असल छिमेकी र साझेदार हुने छ, चीन नेपालसँग मिलेर उच्च गुणस्तरको बेल्ट एन्ड रोड इनिसिएटिभ कार्यान्वयन गर्न इच्छुक छ, जसले पावर ग्रिड, राजमार्ग, बन्दरगाह र उड्डयन जस्ता क्षेत्रमा सहयोगमा ध्यान केन्द्रित गर्दै नेपाललाई भूपरिवेष्ठित देशबाट भूजडित देशमा रूपान्तरण गर्न मद्दत गर्ने छ ।”

नेपालको तर्फबाट परराष्ट्रमन्त्री खनालले चीनको विकास नेपालका लागि अवसर भएको उल्लेख गर्दै नेपाल चिनियाँ लगानीलाई स्वागत गर्ने बताउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँले चिनियाँ उद्यमीका लागि निष्पक्ष, कानुनको शासन र मैत्रीपूर्ण व्यावसायिक वातावरण प्रदान गर्न नेपाल इच्छुक रहेको बताउनुभएको चीनको विदेश मन्त्रालयले जनाएको छ । उहाँको भनाइ उद्धृत गर्दै मन्त्रालयले भनेको छ, “नेपाल चीनको शासन अनुभवबाट सिक्न इच्छुक छ, गरिबी निवारण र वातावरण संरक्षणमा चीनको उपलब्धिको प्रशंसा गर्दछ र उच्च गुणस्तरको बेल्ट एन्ड रोड इनिसिएटिभमा सक्रिय रूपमा कार्यान्वयनमा जाने छ, नेपाल–चीन कनेक्टिभिटी सुधार गर्ने छ, विभिन्न क्षेत्रमा पारस्परिक रूपमा लाभदायक सहयोग प्रवर्धन गर्ने छ ।”

दुवै पक्षले साझा चासोका अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दामा पनि धारणा आदानप्रदान गर्नुभएको थियो । बैठकपछि मन्त्री खनालले उहाँको सम्मानमा विदेशमन्त्री यीले आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुभएको थियो ।गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ट्राफिक प्रहरी कारबाहीः २१ लाख ८६ हजार राजस्व दाखिला
२०८३ असार २, मंगलबार
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न परिषद् र निकायका पदाधिकारीका लागि आवेदन आह्वान
२०८३ असार २, मंगलबार
तीनसय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सम्पन्न
२०८३ असार २, मंगलबार
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
२०८३ असार २, मंगलबार
क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश
२०८३ असार २, मंगलबार
विश्वकपमा अर्को सनसनी नजिक पुगेको साउदी, उरुग्वेले अन्तिममा गर्यो बराबरी
२०८३ असार २, मंगलबार
विश्वकपमा बेल्जियमको निराशाजनक सुरुआत, इजिप्टसँग खेल्यो बराबरी
२०८३ असार २, मंगलबार