काठमाडौँ, असार ८ गते । अमेरिका र इरानबिच आइतबार स्विट्जरल्यान्डको लुसेर्न तालमाथिको पहाडी रिसोर्ट क्षेत्र बुर्गेनस्टक रिसोर्टमा प्राविधिक स्तरको वार्ता सुरु भएको छ । वार्ता मुख्य रूपमा इरानको आणविक कार्यक्रम र लेबनानमा जारी युद्धविरामको विषयमा केन्द्रित रहेको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ ।
दुई देशबिच हालै सम्पन्न प्रारम्भिक शान्ति सम्झौतापछि बाँकी रहेका प्राविधिक तथा राजनीतिक एजेन्डालाई निष्कर्षमा पु¥याउन यो ६० दिने वार्ता प्रक्रिया सुरु गरिएको हो । इरानको आणविक महत्वाकाङ्क्षालाई सीमित गर्ने र युरेनियम संवर्धनको सीमा तय गर्ने विषय, इजरायल र हेज्बुल्लाहबिच लेबनानमा भइरहेको युद्धविराम उल्लङ्घनको घटना र पश्चिम एसियामा सैन्य तनाव कम गर्ने प्रयास, हर्मुज जलमार्ग निर्बाध सञ्चालन गर्नेलगायतका विषय वार्तामा समावेश गरिएका छन् ।
वार्तामा अमेरिकी टोलीको नेतृत्व उपराष्ट्रपति जेडी भान्स र इरानी टोलीको नेतृत्व संसद्का सभामुख मोहम्मद बागेर गलिबाफले गर्नुभएको छ । पाकिस्तान र कतारले मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका छन् । पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफ पनि वार्तामा सहभागी हुनुभएको छ । गएको शुक्रबार हुने तय भएको वार्ता इजरायलले लेबनानमा घातक आक्रमण गरेपछि अन्तिम समयमा स्थगित गरिएको थियो । इजरायली सैनिकका पाँच सदस्यको मृत्यु भएपछि ती आक्रमण गरिएको इजरायले दाबी गरेको छ ।
इरानको सरकारी समाचार संस्था ‘इर्ना’ ले सार्वजनिक गरेको भिडियो सन्देशमा विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले इजरायलले लेबनानसम्बन्धी आफ्ना प्रतिबद्धता उल्लङ्घन गरिरहेकाले उक्त विषय वार्ताको प्रमुख एजेन्डा हुने बताउनुभयो ।
उहाँका अनुसार वार्तामा इरानका रोक्का तथा प्रतिबन्धित सम्पत्ति फुकुवा गर्ने विषय साथै इरानी तेल बिक्रीका लागि आवश्यक अनुमति तथा इजाजतपत्र जारी गर्ने सम्बन्धमा पनि छलफल हुने छ । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया