असार २२, २०८३ सोमबार July 6, 2026

नयाँ पार्टी खोल्न अघि बढ्यो देउवा पक्ष

संस्थापनइतर पक्षको भेलामा नेता शेखर कोइरालाको सहभागिता भने निश्चित भइसकेको छैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : नेपाली कांग्रेसको नेतृत्वसँग कुरा नमिलेपछि विशेष महाधिवेशनबाट विस्थापित पक्ष नयाँ दल गठन गर्ने निष्कर्षमा पुगेको छ । त्यसबारे निर्णय लिन सोमबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा बैठक बोलाइएको छ ।

विशेष महाधिवेशनबाट कांग्रेसको नेतृत्वमा गगन थापा आएपछि निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूले समानान्तर गतिविधि गर्दै आएका छन् । आन्तरिक किचलोमा अल्झेको कांग्रेस गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा ३८ सिटमा खुम्चिन पुग्यो । चुनावी नतिजाले सानो बनाएको कांग्रेस समानान्तर गतिविधिका कारण औपचारिक विभाजनको मोडमा पुगेको हो ।

१४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक सोमबार र मंगलबार बस्ने र त्यसैले अबको बाटोबारे निर्णय लिने इतर समूहका नेताहरूले बताएका छन् । बैठकले नयाँ पार्टी निर्माणको बाटो तय गर्ने देउवानिकट नेता मीन विश्वकर्माले बताए । ‘असार २२ र २३ गतेको बैठक राष्ट्रिय भेला बोलाउने तयारी बैठक नै हो,’ विश्वकर्माले मध्यान्हसँग भने, ‘यो बैठकले राष्ट्रिय भेलाको आयोजना गर्ने र नयाँ पार्टी निर्माणको बाटो तय गर्नेछ ।’

नयाँ दल बनाएर जाने तयारी भए पनि कसको नेतृत्वमा जाने भन्ने अझै निक्र्याेल नभइसकेको उनले बताए । नेतृत्वका लागि पूर्वसभापति देउवाले विश्वास गरेका पात्रको खोजी भइरहेको छ । तर, अहिलेसम्म देउवाले नयाँ पार्टी बनाएर गइहाल्न वा कसैलाई नेतृत्व गरिहाल्नू भन्ने सन्देश दिएका छैनन् । यद्यपि, देउवाले विश्वास गर्ने, कुनै गुटगत गतिविधिमा धेरै नफसेका, इमानदार र लाभको पद लिएर कुनै काण्डमा नमुछिएका नेताको खोजी भइरहेको छ ।

देउवा पक्षमा सर्वस्वीकार्य नेतृत्वको खोजी भइरहँदा देउवा स्वयं उपचारका लागि भन्दै साढे तीन महिनादेखि विदेशमा छन् । उनले १५औं महाधिवेशनको तयारीस्वरूप आफ्नो समूहका नेताहरूलाई समानान्तर गतिविधिलाई सक्रिय राख्न भने पनि नयाँ दल बनाएर जानेगरी सन्देश भने दिएका छैनन् । ‘देउवा उपचारका लागि विदेश हुनुहुन्छ, उहाँले अहिलेलाई १५औं महाधिवेशनको तयारी गर्दै गर्न भन्नुभएको छ,’ देउवा सभापति हुँदाका सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वकर्माले भने, ‘संस्थापन पक्षसँग कुरा नमिलेपछि पार्टी नै फरक दल बनाएर जाने विषयमा उहाँको सहमति रहन्छ । हामी सोहीअनुसार अघि बढिसक्यौं ।’

यसअघि पनि पटकपटक पार्टी विभाजन गरेर जान इतर समूहका युवा नेताहरूले शीर्ष नेतृत्वमाथि दबाब बढाउँदै आएका थिए । तर, पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले नै पार्टी विभाजन गरेर जान अस्वीकार गरेपछि विभाजन रोकिँदै आएको छ । राष्ट्रिय भेलाले विभाजनको रेखा कोर्ने नेताहरूको दाबी छ । नेता श्याम घिमिरेले भने, ‘संस्थापन पक्षले कि राष्ट्रिय भेला रोक्न सक्नुप¥यो, राष्ट्रिय भेला रोक्न नसक्दा पार्टी फुटउन्मुख भएको छ ।’

विशेष महाधिवेशनबाट नेता र नीति बदलेको कांग्रेसले पुराना नेताहरूलाई समेट्न नसकेको आरोप खेप्दै आएको छ । तर, सभापति गगन थापाले सार्वजनिक रूपमै सबै नेताहरूलाई एकताको आह्वान गरेका छन् । उनले गत निर्वाचनमा समेत देउवा र शेखर कोइराला पक्षका नेताहरूलाई सम्मानजनक रूपमा टिकट दिएर पठाएका थिए । अहिले थापाकै हस्ताक्षरमा टिकट लगेका नेताहरूले समेत थापालाई सभापति स्वीकार्न सकेका छैनन् । टिकट स्विकार्ने सभापति अस्वीकार गर्ने दोहोरो नीतिका कारण त्यस्ता नेताहरूलाई निकट कार्यकर्ताले समेत छाड्न थालेका छन् ।

संस्थापनइतर समूहले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति र विशेष महाधिवेशनको केन्द्रीय कार्यसमिति ‘गाभ्न’ माग गरेका छन् । संस्थापन पक्षले त्यसलाई अस्वीकार गरिरहेको छ । पार्टीको क्रियाशील सदस्यता अध्यावधिक गर्दै १५औं महाधिवेशनको पूर्वतयारीमा जुटेको संस्थापन पक्षले असोजको १६–१९मा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका ल्याएको छ । समयमै विवाद समाधान नभए र इतर समूहले नयाँ पार्टी बनाए उक्त कार्यतालिकाअनुसार महाधिवेशन हुनेमा संशय कायमै छ ।  कांग्रेसका लागि अहिले १४औं महाधिवेशनको केन्द्रीय समिति र विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिबीच ‘मर्ज’ हुने विषय नै मुख्य पेचिलो बनेको छ । तत्कालीन केन्द्रीय कार्यसमितिमा रहेकामध्ये ११४ जना हाल केन्द्रीय कार्यसमितिमा नभएकाले ती सबैको समायोजन हुनुपर्ने अडान पूर्वकार्यवाहक सभापति खड्काले लिएका छन् । त्यसपछि निर्वाचन, सदस्यता छानबिन, अनुशासन र विधान संशोधन समिति दुवै पक्षको सहभागितामा बनाउने विषय छ ।

दुवै पक्षको साझा प्रतिनिधित्वको विषयमा खास समस्या नदेखिएको कांग्रेस नेता विमलेन्द्र निधिले बताए । ‘१५औं महाधिवेशनलाई एकता महाधिवेशन बनाउन सकियोस् भन्ने हाम्रो र संस्थापन पक्षको पनि चाहना हो,’ निधिले मध्यान्हसँग भने, ‘महत्वपूर्ण कुरा गगन थापाजी महामन्त्री भएकै बेला नवीकरण गरिसकेका सदस्यहरूले नै महाधिवेशनमा भाग लिन पाउनुपर्छ भन्ने छ । अर्को मुख्य विषय १४औं महाधिवेशनबाट निर्वाचित र विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिलाई एकै ठाउँ ‘मर्ज’ गरेर कोही नेताको संयोजकत्वमा आयोजक समिति बनाउनुपर्छ भन्ने हो ।’

निधिले भनेका विषयमा भने संस्थापन पक्ष सकारात्मक छैन । संस्थापन पक्षका महामन्त्री गुरुराज घिमिरे तत्कालीन देउवा नेतृत्वको कार्यसमितिलाई वर्तमान संरचनामा समायोजन गर्न नसकिने बताउँछन् । विशेष महाधिवेशनबाट पारित विधानअनुसार सभापतिलाई ६१ जना केन्द्रीय सदस्य मनोनयन गर्ने अधिकार छ । त्यसमध्ये सभापति थापाले १९ जना नेता मनोनययन गरिसकेका छन् । बाँकी ४२ जनामा इतरपक्षलाई समेट्न सकिने घिमिरेले बताए । साथै शेखर कोइराला र पूर्णबहादुर खड्कालाई वरिष्ठ नेताको जिम्मेवारी दिन संस्थापन पक्ष तयार रहेको उनी बताउँछन् । ‘केन्द्रीय समितिमा मनोनयन गर्न बाँकी ४२ जनामध्ये कतिजनालाई अटाउन सकिन्छ, त्यसमा हामी सकारात्मक छौं,’ घिमिरेले भने, ‘सबैलाई समायोजन गर्न विधानले कठिन बनाउँछ । तर, राजनीतिक संयन्त्र बनाउने विषयमा छलफल गर्न सकिन्छ ।’

सहमतिको खोजी गर्न घिमिरेले गत सोमबार एकै दिन पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौलासँग छलफल गरेका थिए । त्यसअघि विराटनगरमा शेखर कोइरालासँग पनि उनको लामो संवाद भएको थियो । घिमिरेका अनुसार, शेखर कोइरालाले सबैलाई केन्द्रीय कार्यसमितिमा समेट्न सम्भव नभए महाधिवेशन तयारीका लागि छुट्टै राजनीतिक संयन्त्र बनाउन सकिने विकल्प प्रस्ताव अघि सारेका छन् । ‘एक सय ११ जनालाई केन्द्रीय कार्यसमितिमा ल्याउन बाधा हुने हो भने महाधिवेशनको तयारी गर्ने एउटा संयन्त्र र निर्वाचन, सदस्यता छानबिन तथा अनुशासन समिति दुवै पक्षको प्रतिनिधित्व हुने गरी बनाउन सकिन्छ भन्ने शेखर दाइको कुरा छ,’ घिमिरेले भने, ‘पूर्णबहादुर दाइ भने सबैलाई समायोजन गरेपछि मात्रै सहमति हुन्छ भन्नुहुन्छ । सबैलाई समायोजन गर्न विधानले कठिन बनाउँछ । तर राजनीतिक संयन्त्र बनाउने विषयमा छलफल गर्न सकिन्छ ।’

यद्यपि, संस्थापनइतर पक्षले सदस्यता अध्यावधिक तथा १४औं महाधिवेशन र विशेष महाधिवेशनबाट आएको केन्द्रीय समिति समाजोजनकै विषयलाई मुख्य एजेन्डा बनाएका छन् । संस्थापन पक्षले त्यसलाई अस्वीकार गरेपछि उनीहरू थप आक्रोशित छन् । ‘बदलिएको कांग्रेसले नबदलिएका कांग्रेसहरूलाई सँगै लिएर जान नचाहेकाले पार्टी विभाजनको अवस्थामा पुगेको नेता विश्वकर्माले टिप्पणी गरे । उनले भने, ‘गगन–विश्वजीको बदलिएको कांग्रेसले नबदलिएर कांग्रेस नै भइराखेका नेताहरूलाई सँगै नलाने भएपछि डिपार्चरको स्थिति बन्यो । हामीले २२ र २३ गतेको बैठकबाट राष्ट्रिय भेला बोलाउने निर्णय गर्छौं । भेलाको मोडेल के हुने भन्ने पनि बैठकले तय गर्छ ।’

समानान्तर राजनीतिक गतिविधि चलिरहेकै बेला इतर पक्षभित्रै कसरी अघि बढ्ने भन्नेमा मतैक्य देखिएको छैन । गगन थापाकै हस्ताक्षरमा गत फागुनमा भएको निर्वाचन लडेका, तर अहिले देउवा समूहमा रहेका नेता किशोरसिंह राठौरले आफू कुनै पनि हालतमा पार्टी विभाजनको पक्षमा नभएको बताए । चारतारे झन्डा र रुख चिह्न छाड्ने पक्षमा नभएको र सदस्यता अद्यावधिक गर्ने उनले बताए ।

‘जसलाई नयाँ पार्टी खोल्ने जाँगर छ, खोले हुन्छ तर म कांग्रेस छाड्दिनँ । कांग्रेसको चारतारे झन्डा र रुख चिह्न छाड्दिनँ । हिजो पनि पार्टीभित्रै संघर्ष गरेका हौं, आज पनि त्यही गर्छौं,’ उनले भनेका छन् । लामो समयको अनिर्णयले कार्यकर्ता तहमा अन्योल बढाएको नेताहरूको बुझाइ छ ।  पार्टी नै बनाउने हो भने ढिला भइसकेको संस्थापनइतर समूहका नेताहरूले बताएका छन् ।

संस्थापनइतर पक्षको भेलामा नेता शेखर कोइरालाको सहभागिता भने निश्चित भइसकेको छैन । ‘वर्तमान पार्टी सभापति गगन थापालगायत सानेपा कब्जा गर्ने पक्षले एकता नचाहेकाले सबैले स्वीकार्य हुनेगरी अर्को शक्ति बनाउनुपर्ने कोइराला पक्षका नेता भूपेन्द्रजंग शाहीले बताए । ‘सानेपा कब्जा गरेका गगन थापाले नेताहरूलाई पार्टीमा फर्काउन खोजेकै छैनन्, शाहीले भने, ‘यो अवस्थामा नेता शेखर कोइरालाले पनि कि राजनीतिबाट सन्यास लिनुपर्‍यो, नत्र इतर समूहको साझा सहमतिमा नेतृत्व लिनेगरी अघि बढ्नुपर्छ ।’ मध्यान्ह दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अर्थमन्त्री डा वाग्ले र एडिबीका अध्यक्षबीच भेटवार्ता
२०८३ असार २२, सोमबार
बङ्गलादेशका पूर्व अन्तरिम सरकार प्रमुख युनुसविरुद्ध अदालतमा उजुरी दर्ता
२०८३ असार २२, सोमबार
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
२०८३ असार २२, सोमबार
धुलिखेल–खावा सडकखण्ड : रातका समयमा बन्द नगरिने
२०८३ असार २२, सोमबार
सानो राष्ट्रको ठूलो सपना: केप भर्डेको विश्वकप यात्रा सम्झनलायक
२०८३ असार २२, सोमबार
सरकारका १०० दिन : आन्तरिक रोजगारको सिर्जना र वैदेशिक रोजगार व्यवस्थितमा केन्द्रित श्रम मन्त्रालय
२०८३ असार २२, सोमबार
अमेरिकी प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्र युक्रेन पठाएको भन्दै पोल्याण्डमा विवाद
२०८३ असार २२, सोमबार